काठमाडौं। समग्र मुलुकको ट्राफिक व्यवस्थापनको जिम्मा लिएको ट्राफिक प्रहरी आफैं कत्तिको सुशासनमा रहेका छन् त? लेन अनुशासनदेखि सानातिना गल्तीमा समेत महंगो शुल्क असुल गर्ने ट्राफिकहरूको नियत खराव भयो भने कत्ति दुख पाउलान् सवारी चालकहरूले ? यही विषयलाई केन्द्रमा राख्दै महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखाना प्रमुख बनेर आएसँगै डिआईजी प्रकाश आर्यालले ट्राफिक प्रहरीहरूको चरित्र सुधारको लागि कडा ‘अप्रेसन’ सुरू गरेका छन्। उनी ट्राफिक प्रहरी प्रमुख बनेर आएपछि सवारी चालकको लागि कारबाही शुल्कमा बृद्धि भएको मात्रै होईन स्वयं ट्राफिक प्रहरी समेत कारबाहीको फन्दामा पर्न थालेका छन्। उनी प्रमुख बनेपछि विभिन्न मितिहरूमा गरिएको छड्के चेकजाँचको क्रममा गैरकानूनी रूपमा पैसा असुली गरेको आरोपमा विभिन्न ट्राफिक प्रहरीलाई निलम्बन गरी छानविन गरिरहेको छ। ट्राफिक प्रहरीका प्रवक्ता लोकेन्द्र बहादुर मल्लले हाम्राकुरा डटकमलाई दिएको जानकारी अनुसार अन्य विभागीय सानातिका कारबाही पहिल्यै पनि हुने गरेको भएपनि छानविन गर्नको लागि निलम्बन नै गर्ने कारबाही भने धेरै कम हुने गरेको छ।
प्रवक्ता मल्लका अनुसार निलम्बन सहित विभिन्न शीर्षकमा १८ जना भन्दा बढी ट्राफिक प्रहरीलाई कारबाही गरिसकिएको छ। उनका अनुसार उनीहरूलाई नसियत, ग्रेड रोक्का हुँदै निलम्बनसम्मको कारबाही गरिएको छ। ‘अनियमित तरिकाले पैसा आर्जन गरेको तथा गैरकानूनी रूपमा आफ्नो मर्यादा विपरित काम गरेको आरोपमा कारबाही गरिएको हो’ प्रवक्ता मल्लले भने ‘हामी छानविनको क्रममा छौं, दोषी भेटिएको खण्डमा कानूनले दिएको हदैसम्मको कारबाही गछौं ।’
उता, सवारीचालकहरूलाई नियम कानूनको अधिनमा बाँध्नको लागि महाशाखामा कार्यरत ट्राफिक प्रहरीलाई कारबाही गरेसँगै ट्राफिक प्रहरीमा भने अहिले खैलाबैला मच्चिएको छ। ट्राफिक प्रहरीले आफ्नो आन्तरिक समस्या र आफ्नो ट्राफिक प्रहरीले गर्ने गरेको बदमासीको सम्बन्धमा छानविन गर्नको लागि पाँच सदस्यीय छानविन समिति गठन पनि गरेको छ। एसपी मिलन बस्नेतको नेतृत्वमा एक साता भित्र छानविन सकेर प्रतिवेदन पेश गर्नेगरी गठन गरिएको समितिले नै निलम्बित तथा अन्य दोषी आरोप लागेकाहरू माथि समेत छानविन गर्ने पनि प्रवक्ताले जानकारी दिए।
तर, ट्राफिक प्रहरी स्रोतका अनुसार भने उक्त समितिले यसको अलावा समग्र ट्राफिक प्रहरीमा रहेको समस्या र समाधानको खोजी तथा कुन क्षेत्रमा विशेषगरी ट्राफिक प्रहरीहरू अनियमित काममा संलग्न रहेका छन् भन्ने बारेमा समेत छानविन गर्नेछ।
सवारी चालकहरूलाई जिम्मेवार बनाउनको लागि यातायात व्यवसायीहरूको दबाबमा गृहमन्त्री शक्तिबहादुर बस्नेतले समेत अवरोध सिर्जना गरिरहेको बेला ट्राफिक प्रहरीले भने नयाँ कारबाही दर लागू गरिसकेको छ। समयसपेक्ष नभएपछि ट्राफिक प्रहरीले पहिले २५ रूपैयाँदेखि सुरू भएको कारबाहीको दरलाई बढाएर ५०० रूपैयाँदेखि सुरू हुनेगरी कारबाही दर निर्धारण गरी लागू समेत गरिसकेको छ। नयाँ व्यवस्थामा कतिपय ट्राफिक प्रहरीनै समग्र संगठनकै बदनाम गराउने गरी अनैतिक काम गर्ने गरेको भेटिए कारबाही हुनुपर्ने माग बढीरहेकोबेला यस्तो आन्तरिक कलुसता मन्थन गर्ने ट्राफिकको कार्य प्रसंशनीय रहेको जानकारहरू बताउँछन्।