arrow

मदनआश्रित हत्याकाण्ड भन्छ : एमाले एजेण्डा विर्सन्छ

“हत्याराको खोजि गर्ने कि नगर्ने कामरेड ?

logo
विश्ववन्धु भण्डारी,
प्रकाशित २०७३ जेठ ३ सोमबार
bidya-bhandari.jpg.jpeg
काठमाडौं । २०५० सालको प्रारंभको बेला देशभरी नेकपा एमालेको जिल्ला अधिवेशनहरुको भईरहेको थियो, त्यही सिलसिलामा जेठ ३ गते एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित कास्की जिल्लाको अधिवेशन सकेर मुग्लीङ हुदै चितवन तर्फ जाँदै थिए । जेठको बेला सिमसिम पानी पर्नु स्वभाविक नै थियो । बा अ च ८७२३ नम्बरको जिप पृथ्वी राजमार्गमा आफ्नो सुरमा हुँइकिरहेको थियो । मदन र जिवराज जिपभित्र पार्टी संगठनका बारेमा समिक्षा गर्दै थिए । चितवनको दासढुंगा पुग्दा उनीहरु सवार जीप एक्कासी त्रिशुली नदीमा खस्यो । 
...............................................................
त्यतिवेला नेकपा एमालेका अर्का प्रभावशाली नेता माधव नेपाल कुपन्डोलको डेरामा थिए । उनलाई तत्काल फोन आयोग “मदन भण्डारी र जीवराज आश्रितको जिप दुर्घटना भयो” भनेर । माधवलाई फोन गर्ने लेखनाथ कोइरालाले फोनमा फेरी  भने “जीवित हुने सम्भावना छैन” । सुन्ने बित्तिकै उनी हस्याङफस्याङ गर्दै पार्टी मुख्यालय तर्फ लागे । त्यतिवेला एमालेको केन्द्रीय कार्यालय बागबजारमा थियो । केन्द्रीय कार्यालयमा तत्काल नेता कार्यकर्ताको ठुलो भिड लाग्यो । माधव नेपालले वामदेव गौतमसहितका पार्टीका नेताहरुलाई लिएर राती ११ बजे दासढुंगातिर गए। 
 
उनीहरु पुग्दा त्यहा सुरक्षाकर्मी सहित नेता कार्यकर्ताहरु उद्धारमा खटिईसकेका थिए । जीवराज आश्रितको लास गाडिमै भेटियो । तर मदन भण्डारीको लास भने ४० किमी तल गुञ्जनगरमा तीनदिन पछि मात्रै भेटियो । चालक अमर लामा जिउदै रहे । 
 
उक्त घटनाले देशभरी सनसनी मच्चायो । सवैलाई सोकाकुल बनायो । त्यतिवेला काँग्रेसको नेतृत्वमा सरकार थियो । त्यस घटनालाई हत्या भएको भन्दै एमालेले कांग्रेस नेतृत्वको सरकारका विरुद्धमा देशभरी आन्दोलन गर्यो । घटनाको छानविन गर्न माग गर्यो । उनीहरुलाई काँगे्रेसी सरकारले षड्यन्त्रपुर्वक हत्या गरेको आरोप समेत लगाउन भ्याए एमाले नेताहरुले । 
 
आन्दोलन चर्किंदै गएपछि सरकारले पूर्व न्यायाधीश प्रचण्डराज अनिलको नेतृत्वमा छानवीन आयोग गठन ग¥यो । अनिल आयोगको प्रतिवेदनमा एमालेले चित्त वुझाएन र आन्दोलन झन चर्कियो । त्यसपछि तत्कालीन वहालवाला न्यायाधीश त्रिलोकप्रताप राणा आयोग बनाइयो । तर यो आयोगले पनि मदन आश्रितको जीप दुर्घटना वा हत्याकाण्ड खुलाउन सकेन । त्यहीविचमा एमालेले दासढुंगा काण्डको छानवीन गर्न तत्कालिन स्थायी समिति सदस्य केपी ओली आयोग गठन गर्यो । जनस्तरबाट पनि पद्मरत्न तुलाधर आयोग गठन भयो । पद्मरत्न तुलाधर आयोगले घटनालाई षडयन्त्रमूलक हत्या भएको ठहर ग¥यो ।
 
आफ्नो पार्टी सरकारमा सामेल भए मदन आश्रित रहस्यमयी घटनाको सत्य तथ्य पत्ता लगाउने दावी गर्दै एमालेले गरेको आन्दोलनपछि काँग्रेस नेतृत्वको सरकार ढल्यो । दासढुंगाकाण्डको छानविन गर्ने मुल उद्धेश्य सहित एमालेको नेतृत्वमा २०५१ सालमा नयाँ सरकार बन्यो । एमालेका तत्कालिन अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा बनेको सरकारले एमालेको प्रमुख माग दासढुंगाकाण्ड छानविनको बुँदा आफ्नो मागपत्रबाट एकाएक गायव पारिदियो । न त त्ययो सरकारले आफैँले हत्या घोषित गरेको घटनाको छानविनलाई अघि बढायो न त जेलमा रहेका अमर लामासँग एक पटक पनि बयान लिने प्रयास गर्यो । 
 
एमालेले त्यतिवेला त गरेन गरेन । त्यसपछि पनि एमाले पटक पटक सरकारमा सामेल भयो । त्यतिवेला देखि सवै भन्दा धेरै समय सरकारमा रहने पार्टी एमाले नै हो । २०५१, २०५४, २०५७, २०६३, २०६६, २०६८, २०७० र २०७२ सालमा एमाले सरकारमा सहभागी भयो भने माधव नेपाल, झलनाथ खनाल र केपी ओली सहित अहिले सम्म एमालेका चार जना मुलुकको प्रधानमन्त्री भए । तर २३ वर्ष वितिसक्दा पनि जनताका प्रिय नेताको रहस्यमयी घटनाको बास्तविकता बाहिर आउन सकेको छैन् । 
 
‘दासढुंगा हत्याकाण्डको छानबिन गर’, ‘हत्यारालाई कारवाही गर’ भन्दै नारा लगाएका एमालेका नेता तथा कार्यकर्ता अहिले चुप लाग्नु अर्को चरम लाजमर्दो कुरा हो । नेताहरु सत्ता स्वादमा र कार्यकर्ताहरु एनजिओको खेतीमा रम्न थालेपछि उनीहरुले मदनआश्रितलाई भुलेका हुन् । बरु अन्य सुवेच्छुकहरुले मदनआश्रितको हत्याको चिन्ता गरेको पाईएको छ । 
 
पत्रकार प्रकाश डुम्रेले फेसवकुमा लेखेका छन् :
एमालेका साथिहरुलाई मेरो अनुरोध छ, हत्यारा पत्ता लगाउन नेतृत्वलाई दबाब देउ अनि मात्र सच्चा स्मृति हुनेछ ।
आफ्नै पतिको हत्यारा पत्ता लगाउन नसक्ने राष्ट्रपति बिद्यादेबी भण्डारी र आफ्नै पार्टीका महासचिबका हत्यारा पत्ता लगाउन नसक्ने प्रधानमन्त्री केपी वलीले मदन भण्डारीको स्मृतिमा ठाउ ठाउँमा भाषण गर्दै हिड्नुलाई तपाई के भन्नु हुन्छ ? 
हो अरु सरकारमा हुदा छानबिन गर्न जटिल भयो । तर खै त आफै र आफ्नै पार्टी सरकारको कार्यकारी प्रमुख हुदा हत्याकाण्ड बारे मौन बस्ने ? 
अनि नानाभाति स्मृतिको नाटक रच्ने ? 
एमालेजनहरु हो अलिकति नैतिकता छ भने के मदन भण्डारी हत्याको बिषय सामान्य हो ?
सामान्य जनताले प्रश्न गर्न सक्छ मदन भण्डारीको हत्यारा पत्ता नलगाउने पार्टीले देशमा शान्ति सुरक्षा कसरी कायम गर्छ ? अनि पार्टीकै नेता कति सुरक्षित छन् त ?
 
पत्रकार लक्ष्मण कार्की फेसवुक स्टाटसमा लेख्छन्  :
स्पष्ट छ — मदन भण्डारीको हत्या भएको थियो । 
अस्पष्ट छ — एमालेले ४ पल्ट सरकारमा पुगेरनि किन छानबिन गर्ने हुति देखाउन सकेन ? 
 
पत्रकार भवानीप्रसाद पाण्डेको फेसवुक स्टाटस यस्तो छ :
श्रीमती बिद्यादेवी भण्डारी राष्ट्रपति । दुर्घटना लगत्तै आफनै पार्टीले बनाएको ओली आयोगका प्रमुख खड्क प्रसाद ओली प्रधानमन्त्री भएको बेला मदन भण्डारी र जिबराज आश्रीतको हत्यारा पत्ता लागेनन् र लगाउने चेष्टा पनि गरिएन भने शंकाको सुई फर्किन सुरु गर्ने निश्चित छ । मदन आश्रीत प्रति श्रद्दासुमन ।।
 
एमालेमा जवजका व्याख्याताका रुपमा प्रचार गरिएका शंकर पोखरेलले मदनआश्रित प्रति गोहीका आँशु चुहाउदै लेखेको स्टाटसको कमेन्टमा प्रभात भण्डारीले उनलाई सोधेका छन् “हत्याराको खोजि गर्ने कि नगर्ने कामरेड ? यत्ति जान्न चाहान्छौँ हामि ।”
 
पत्नीले राज्यको नेतृत्व र सहयोद्धाले सरकारको नेतृत्व गरिरहेको यस्तो अपुर्व मौका दासढुंगा हत्याकाण्डको अनुसन्धानका लागि अव कहिल्यै आउदैन । त्यसकारणले यही बेलामा दासढुंगाको फाइल खोजेर छानवीन अगाडी बढ्ला त ? सवैको मनमा उव्जीएको स्वभाविक प्रश्न हो यो । भारत, सिआईए, र लगायततर्फ औंला ठड्याउँदै आरोप लगाउनेले मौका पाएको बेला पुष्टी गरेर किन देखाउदैनन् ? 
 
होईन भने एमालेले मदनआश्रितको निधनको घटनाबाट जनआबेग उठाई सत्ता स्वार्थका लागि उपयोग गरेको ठहर्छ । एमालेले नेताको मृत्यु र मानविय संवेदना माथी अमानविय राजनिति गरेको बुझिन्छ । 
 
अहिले धेरैको मनमा उठेको छ, यदी त्यो दुर्घटना थियो भने, एमालेले त्यसलाई किन हत्याकाण्ड भनाएर सत्ताका लागि राजनिति गर्यो ? उसको राजनितिक चरित्र माथी प्रश्न उठाउने की नउठाने ?  वा मदन आश्रितको निधनमा एमालेले राजनिति गरेको हो की होईन सत्ताका लागि ? 
 
मदनआश्रितको निधनको दुर्घटना रहस्यमय हत्या नै हो भने हत्यारा पत्ता लगाउनु पर्यो । होईन भने एमालेले त्यो दुर्घटना थियो भनेर स्विकार्नु पर्यो र हत्या भएको भन्दै गरिएको आन्दोलन सत्ता राजनितिका लागि मात्र थियो भनेर क्षमा माग्नु पर्यो । कुनै एक गर्नै पर्ने हो । तर दुई मध्ये कुनै एक रोज्ने नैतिकता राख्दैन एमाले । त्यसकारण पटक पटक भनिन्छ एमालेलाई एजेण्ड उठाउछ, तर कार्यान्वयन गर्ने बेलामा आफ्नै एजेण्डा लुकाउछ । अर्थात् मदनआश्रित हत्याकाण्ड भन्छ : एमाले एजेण्डा विर्सन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ