arrow

अत्यधिक गर्मीका कारण पश्चिम तराईको जनजीवन अस्तव्यस्त

logo
यादव आचार्य,
प्रकाशित २०७३ जेठ ३ सोमबार
hot-west-terai.JPG.jpeg
बर्दिया। लामो खडेरी सँगै अत्याधिक गर्मी वढेपछि पश्चिम तराईको जनजीवन अस्तव्यस्त बनेको छ। प्रिमनसुन शुरु भैसक्दा पनि पानी नपरेपछि किसानहरु धानको विउ छर्न पाएका छैनन् भने विषालु सर्प, लामखुट्टे लगायत रेविजको प्रकोप वढ्दै गएको छ।
 
हिउँदमा समेत वर्षातको अनुभुती नपाएको पश्चिम तराईमा प्रिमनसुन भित्रदा समेत पानी पर्न नसक्दा यस क्षेत्रको कृषि, स्वास्थ्य लगायतका क्षेत्रहरुमा नकारात्मक प्रभाव वढ्दै गैरहेको छ । लामो समयदेखि यथोचित पानी पर्न नसक्दा यस क्षेत्रका जलाशयहरु समेत सुक्न थालेका छन् । जमिन मुनीबाट आउने धाराहरुमा पानी कम आउन थालेको छ । पानीका कुण्ड तथा मुलहरु समेत सुक्न थालेका छन् । गर्मीको पारो ४० डिग्री नाघेपछि स्थानियहरु आत्तिन थालेका हुन् । 
 
उता हिउँदमा वर्षा नहुँदा खेतीपातीमा क्षती व्यहोरेका किसानहरु पानी नपरेपछि धानको विउ समेत छर्न पाएका छैनन् । सिँचाई सुविधा भएका केही किसानहरुले विउ छरेपनि आकासे पानीको भरमा कृषि व्यवसाय गरेका गरीव किसानहरु भने खेत जोत्न समेत नसकेको कोठिया स्थित स्थानिय किसान भोमे थारु वताउँछन् । मोटरको प्रयोग गरिने भएतापनि विद्युत लोडसेडिङ्ग र कम भोल्टेजका कारण सिँचाई सुविधाबाट वञ्चित भएको उनले वताए । प्रकृतिबाट ठगिएका कृषि प्रधान देशका किसानहरु यतिखेत सरकार भएनभएको महसुस गर्न थालेको दुःखेसो पोखे । 
 
तराईमा परेको खडेरीले यस क्षेत्रको जन स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्दै गैरहेको पाईन्छ । तातो हावा र अत्याधिक गर्मीका कारण किटजन्य रोगमा बृद्धि हुन थालेको जिल्ला जनस्वास्थ्य कार्यालय बर्दियाका किटजन्य अधिकृत वालकृष्ण शर्मा वताउँछन् । 
 
उनले थपे गर्मीकै कारण रेविजका जीवाणुहरु सक्रिय हुन थालेका छन् भने विषालु सर्पहरु निस्कन थालेको उनले प्रष्ट्याए । एकातिर सर्पदंसका विरामीहरु वढ्ने क्रम जारी छ भने अर्कोतिर लामखुट्टेको टोकाईका कारण विभिन्न रोगहरु देखा पर्न थालेका छन् । अत्याधिक गर्मी हुने तराईमा स्थानिय औलो रोग समेत देखा परेको अधिकृत शर्माले वताए । 
 
तराई अत्याधिक गर्मी हुने तर उर्वर भूमी हो । यस क्षेत्रको खाद्यान्नले देशकै खाद्य सुरक्षामा महत्वपूर्ण स्थान ओगटेको पाईन्छ । यस क्षेत्रका गरीव किसानहरुलाई सिँचाईको व्यवस्था गर्दै तराईवासीको जनस्वास्थ्य सुरक्षाका लागि समयमै कदम चाल्नु जरुरी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ