पर्यटकको पर्खाइमा शितलगुफा, एक पटक पुग्नै पर्ने ठाउँ

विशन क्षेत्री, प्रकाशित मिति : २०७३ जेठ ३ सोमबार

पर्वत । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको हजारौँ वर्ष पुरानो शितलगुफा ओेझेलमा परेको छ । उचित व्यवस्थापन, संरक्षण र प्रचारप्रसारको अभावमा बर्राचौरमा अवस्थित शितलगुफा ओझेलमा परेको हो । पछिल्लो समय सो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने प्रयास सुरु भएको छ । जिल्लाको दक्षिणी गाविसमा पर्यटकीय आकर्षण बढाउने लक्ष्यसहित यसको विकास गर्न लागिएको हो ।

पर्यटन विकास मन्त्रालय अन्तर्गत पर्यटन बोर्ड पश्चिम डिभिजन कार्यालय पोखराले गुफाको भौतिक व्यवस्थापनको लागि १० लाख छुट्याएको थियो । स्थानीयको पाँच लाख श्रमदानसहित अहिले गुफा सम्म पुग्नका लागि सडक सञ्जालदेखि सात सय मिटरको रेलिङ्गसहितको पैदल सिँढी, ट्रष्ट, छानो, गुफा परिसरमा पर्खाल निर्माण भएको छ । गेट भने निर्माणाधिन अवस्थामा रहेको स्थानीय शिक्षक राजेन्द्र पौडेलले जानकारी दिए ।

हजारौँ वर्ष पुरानो यो गुफाको संरक्षणका लागि अन्य निकायले भने सहयोग गरेका छैनन् । गुफा संरक्षणको लागि गुफा संरक्षण समिति पनि गठन भएको छ । गुफामा शिवरात्रीमा विशेष मेला लाग्ने गर्दछ । गुफाभित्र प्राकृतिक रुपमै  कुँदिएका शिवाकृति, देवाकृति, विभिन्न जीवजन्तु तथा विभिन्न सांस्कृतिक बाजागाजाको संगीत सुन्न सकिन्छ ।

साँघुरो मुखाकृति भएको गुफा भित्र भने एक हजार मानिस अटाउन सक्ने ठाउँ छ । गुफाको भित्री भागमा पसेर झन्डै पाँच सय मिटर माथिबाट बाहिर निस्कन सक्ने भएतापनि हाल भने सो ठाउँ पुरिएको छ । गुफाको बाहिरी परिसरबाट कालीगण्डकी नदी, गोर्लाङ्ग डाँडा, देउराली, कोट, तथा देवीथान जस्ता धार्मिकस्थल देख्न सकिन्छ भने दक्षिणी क्षेत्रकै सबैभन्दा ठुलो बर्राचौरको समथर फाँटको अवलोकन पनि गर्न सकिन्छ ।

गुफालाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिएको गुफा संरक्षण समितिका अध्यक्ष मोहोलाल पराजुलीले जानकारी दिए ।‘ऐतिहासिक र धार्मिक तथा पर्यटकीय महत्वसमेत बोकेको क्षेत्र भएकाले यसको विकास र प्रवद्र्धनको काम थालिएको छ ।’, उनले भने – ‘यसलाई दक्षिण पर्वतको प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्य सफल बनाउन आवश्यक छ ।’

जिल्लाको नयाँपुल देखि मिर्मि सम्मको ¥याफ्टिङ्ग पश्चात सेतीवेणी, शितलगुफा, लुङ्खुको महाशिला हुँदै नयाँ पर्यटकीय पदमार्गको पनि सम्भावना रहेको छ । गुफालाई कालीगण्डकी लोकमार्ग तथा वालिङ्ग–बर्राचौर सडकखण्डले जोडेको छ ।

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ