ओलीको पिछा गर्दै संघीय गठबन्धन : मंगलबार बालुवाटार घेर्ने
प्रकाशित २०७३ जेठ ३ सोमबार
1.5k
Shares
काठमाडौं । आन्दोलनरत संघीय गठबन्धनले मंगलबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार घेराउ गर्ने भएको छ । आइतबार र सोमबार सिंहदरबार घेराऊ गरेको गठबन्धनले आन्दोलनको स्थान परिवर्तन गर्दै बालुवाटार घेराउ गर्न लागेको हो ।
सिंहदरबार घेर्ने कार्यक्रमबाटै बालुवाटार घेराउको उद्घोष भएको सद्भावना महामन्त्री मनीष सुमनले जानकारी दिए ।
सुमनले भने, ‘मंगलबार बिहान १० देखि दिउँसो ३ बजे सम्मको कार्यक्रम हो, पाँच पनि बज्न सक्छ ।’ उनले आन्दोलनको स्वरुप भने परिवर्तन नभएको बताए । साँझ बस्ने बैठकले थप केही निर्णय गर्न सक्ने बताउँदै उनले घेराउ घेराउनै हो, स्थान मात्रै परिवर्तन भएको हो –भने ।
आइतबार र सोमबार गठबन्धनले माइतीघर मण्डला र हनुमान स्थानमा धर्ना दिएको छ । गठबन्धनमा आवद्ध २९ दलका सवै नेता कार्यकर्ताहरुले मंगलवार बालुवाटार घेर्ने छन् । यसअघि, गठबन्धनमा २७ दल रहेकामा अहिले केही दल थपिएका छन् । आन्दोलनमा एमाओवादीकै नेता गोपाल किराती छन् । मातृका यादव नेतृत्वको माओवादीले समेत सहभागिता जनाएको छ । यस्तै नयाँ शक्तिले समेत समर्थन गरेको छ ।
गठबन्धन नेताहरुले सिंहदरबारको गेटबाट समेत आफुहरुको आवाज नसुनेको भन्दै प्रधानमन्त्री केपी ओलीको प्रत्यक्ष ध्यान केन्द्रीत गर्न सरकारी निवास घेर्न लागेको बताएका छन् । आइतबार मात्रै प्रधानमन्त्री ओलीले औपचारिक कार्यक्रमबाटै सडकका गल्ली गल्लीमा आन्दोलन गरेर उफ्रिनु भन्दा पुनः निर्माणमा सघाउन भनेका थिए । ओलीलाई जवाफ फर्काउँदै गठबन्धन नेताले पुनःनिर्माणमा छाति खोलेर सघाउँछौं र आन्दोलन पनि छोड्दैनौं भने ।