arrow

नाग्म–गमगढी सडक यात्रामा सधै सास्ती, यात्रु र सवारी चालकको कन्तविजोग

२ दिन लाग्ने यात्रा २० दिन

logo
युद्ध बहादुर मल्ल,
प्रकाशित २०७७ साउन १६ शुक्रबार
lunch-at-road-mugu-karnali.jpg

मुगु। कर्णाली राजमार्ग अन्तर्गत नाग्म गमगढी सडक खण्डमा यात्रु र सवारी चालकहरुले सधै सास्ती भोग्दै आएका छन् । यो सडक संचालनमा आएको १० बर्ष वितिसक्दा पनि सडकको स्त्तरोन्नती नगरिदा पानी पर्दा हिलाम्य, घाम लाग्दा धुलाम्य हुने गर्छ। पटक पटक सडकमा पहिरो आउदा बाटो अवरुद्ध हुने गरेकाले यो सडकमा यात्रा गर्ने यात्रु र सवारी तथा मालबाहक साधनहरुले सधै सास्ती भाग्दै आएका हुन ।

कालीकोट जिल्लाको नाग्म बजारदेखि मुगु जिल्ला सदरमुकाम गमगढीसम्म सधै हिलो हुने भएकाले सारै मुस्किल हुने गरेको छ । गाडीहरु हिलोमा फस्दा निकाल्न सास्ती हुने गाडी चालक खेमराज हमालले बताए । हिलाम्य सडकले गर्दा सुर्खेतदेखि गमगढी पुग्न २० दिनसम्म लाग्ने गरेको हमालले बताए।

नाग्मा गमगढी सडक सञ्चालनमा आएको १० बर्ष वित्दापनि सडक कालोपत्र नहुँदा वर्षाको समयमा हिलाम्य हुने तथा हिउँको समयमा हिउ जम्ने गरेकोले १२ महिनामा ८ महिना सडक बन्द हुने र ४ महिना मात्र सन्चालनमा आउने गरेको छ ।

सडक डिभिजन कार्यालय जुम्लाले सडक चौडा बनाउने काम असारको अन्तिममा गराउने र कामको जिम्मा लिने ठेक्कादारहरुले पनि अन्तिमतिर मात्र काम गर्ने भएको हुँदा काम ढीलो भएको जनाएको छ। बर्खाको समयमा पानीले गर्दा सडक झन हिलाम्मे हुने हुँदा मालबाहक गाडीहरु र अन्य यातायातका साधनहरु हिलोमा फस्दा गाडीका पाटपुर्जा छिटो बिग्रेर समस्या आउने गरेको माल बाहक गाडी मालिक रबि रावतले बताए।

बुटवल, नेपालगञ्ज, सुर्खेतबाट खाद्यान्न तथा निर्माणका सामाग्री ल्याएर आएका मालवाहक, सवारी साधनहरु हिलोमा फसेर निकाल्नै समस्या हुने गरेको सवारी चालकहरु बताउँछन् । चालकहरुलाई हिलोमा फसेका गाडी निकाल्दै धेरै दिन वित्ने भएपछि सडकमै खाना पकाएर खानुपर्ने अवस्था रहेको छ।

सरकारले गमगढी नाग्म सडक खण्डको ९४ किलोमिटर कालोपत्र नगर्दा बर्षामा हिलाम्य र घाममा धुलाम्य हुने गरेको जिल्ला नागरिक समाजका अध्यक्ष रुपबहादुर मल्ले बताउछन्। सडक सञ्चालनमा आएको १० बर्षसम्म कालोपत्र नहुदा जुम्ला, मुगु र हुम्लाका स्थानियहरुले सास्ती खेप्नु परेको उनको भनाइ छ।
सडक डिभिजन कार्यालय जुम्लाबाट यो खण्डमा दुई लेनको सडक विस्तार गर्न जिम्मा लिएका ठेक्कादारहरुले सहज हुर्ने ठाउमा काम गरेको, सडक फराकिलो बनाउन असहज ठाँउमा काम नगरी छोडेकाले यो सडकमा गाडीहरु गुडाउन झनै समस्या हुने गरेको गाडी चालकहरु बताउँछन् ।

हिउँदमा हिउले र बर्खाको समयमा पानिले  सडकमा समस्या आउदा मुगुका ब्यापारिहरुले सहजै रुपमा ब्यापारीक सामान र बिकास निमार्णका सामानहरु सहज रुपमा ढुवानी गर्न नपाउँदा मुगुका ब्यावसायीहरुलाई निकै दुख पाउने गरेको मुगु उद्योग बाणिज्य संघका अध्यक्ष कमल बहादुर बढाले सुनाए ।

हिलाम्य सडकका कारण मुगुका लागी हिडेका दर्जनौ गाडीहरु महिना दिनदेखि अहिलेपनि विच बाटोमै फसेका छन् ।

गाडी तान्न प्रति गाडी १० हजार तिर्दै व्यवसायी
सडक डिभिजन कार्यालयले सडक विस्तारको नाममा माटो मात्र भएको खण्डमा चौडा गरि माटो पुर्दै सडकमा राखेपछि हिलाम्य भएको सडकमा हप्तौ दिनसम्म सवारी तथा मालबाहक गाडीहरु फस्न थालेपछि व्यवसायीहरुले चर्को मुल्य तिरेर गाडी निकाल्ने गरेका छन् ।

मुगु तथा हुम्ला जिल्लाका लागी सामान ढुवानी गदै आएको न्यु मनकामना ढुवानी सेवाले जुम्लाको रोकाया बाडामा हप्ता दिनदेखि हिलोमा फसेका आफना ७ गाडी प्रति गाडी १० हजार तिरेर निकालेको ढुवानी सेवाका सम्पर्क कर्मचारी महादेवजंग शाहीले बताए । 

नाग्मबाट मुगुतर्फ लागेपछि दर्जनौ स्थानमा गाडी हिलोमा फस्ने गरेका छन् ,यसरी गाडी बीच बाटोमै फसेपछि गाडीको लाम लाग्ने गरेको छ । कोरोनाका डरले बाटोमा खान बस्न कसैले दिदैन भोक भोकै हप्तौ दिन बाटोमै बस्नु पर्ने अवस्था रहेको भे १ ख २१२२ मालबाहक गाडीका चालक रमेश सिंह ठकुरीले बताए।उनले भने बाटोमा भोगिने दुख भनेर साध्य छैन देशमा सरकार भए नभएको यही नाग्म गमगढी सडकमा आए थाहा हुन्छ ।

दर्जनौ ठाँउमा गाडीहरु फस्न थालेपछि बाध्य भएर व्यवसायीहरुले स्काभेटरलाई चर्को पैसा तिरेर फसेको सडकबाट निकाल्दा यसको असर उपभोक्ताहरुमा परेको छ । सामान्य अवस्थामा नेपालजंग–मुगु प्रति केजी ८ देखि १० रुपयाँ लिदै आएका ढुवानीकर्ताहरुले बाटोकै कारण यो बेला प्रति केजी ३० देखि ४० रुपयाँ लिदै आएका छन्।

सडक विस्तार र सास्तीकाबारे सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लिला बहादुर भण्डारीले सडक चौडा र विस्तार गर्दा हिलाम्य भएको स्विकादै काम गर्दा केहि असहज भएपनि सडक विस्तार र सुधार भए भोलिका दिनमा आरामदायी र सहज हुने बताए । 

यो आर्थिक बर्षमा नाग्म–गमगढी सडक चौडा सहित ग्राभेल समेत गर्ने कार्यालयको योजना रहेकाले अर्को बर्ष हिलोका कारण यो खण्डमा कतै गाडीहरु रोकीए त्यसको जवाफ आफुले दिने बताए। ९ किलोमिटर दुरी रहेको गमगढी–रारा विमानस्थलमा असहज सडकको फाईदा उठाउदै व्यवसायीहरुले चर्को भाडा असुली रहेकाले यो खण्ड पनि ग्रावेल गरिने उनले बताए।

सडक चौडा पार्दा ठेकेदारहरुले चट्टान र हाड भाग छोडेकोले यी खण्डमा काम हुदैन की भनेर शंका नगर्न डिभिजन प्रमुख भण्डारीले आग्रह गरे । उनले भने यो सडकको तलपट्टी वाल लगाएर भएपनि चट्टान भएका भागमा कम्तिमा १० मिटर चौडा र नाग्म–गमगढी सडकमा सरर गाडी चल्ने सडक बनाउँछौ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ