arrow

हिउँ चितुवामा स्याटेलाइट झुन्ड्याइयो

logo
प्रकाशित २०७३ जेठ ४ मंगलबार
snow-leopard-reuters.jpg.jpeg
ताप्लेजुङ। यसअघिका अनुभवलाई उपयोग गर्दै पासो थापेको दुई दिनमै दुर्लभ वन्यजन्तु हिउँ चितुवालाई स्याटेलाइट झुन्ड्याउन कञ्चनजङ्घा संरक्षण क्षेत्र सफल भएको छ।
 
पासो थापेको दुई दिनमै ताप्लेजुङको ओलाङ्चुङ्गोला गाविसको याङ्मा गाउँको गुन्दाओ भिरमा पोथी हिउँ चितुवा पासोमा परेपछि स्याटेलाइट झुन्ड्याउन कञ्चनजङ्घा संरक्षण क्षेत्र सफल भएको हो।
 
योसँगै कञ्चनजङ्घा क्षेत्रमा तीन वटा हिउँ चितुवामा स्याटेलाइट झुन्ड्याइसकिएको छ। पहिलो पटक २०७० मङ्सिर १० गते लेलेपको खम्बाछेनमा स्याटेलाइट झुन्ड्याइएको थियो जसले डेढ वर्षसम्म उसको गतिविधि देखाएको थियो। गत वर्ष दुई महिनाको पर्खाइपछि दोस्रो पटक स्याटेलाइट लगाइएको थियो। यसले एक महिना भन्दा बढी निरन्तरताको सङ्केत दिन सकेन।
 
स्थानीयवासीको अनुभव र सक्रियताले गर्दा पासो थापेको दुई दिनमै पासोमा परेको र वैशाख १५ गते स्याटेलाइट जडान गरिएको बताइएको छ। अब अन्तिम एउटामा समेत पासो लगाई स्याटेलाइट जडान गर्ने तयारीमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्रका संरक्षण अधिकृत हेमराज आचार्यको भनाइ छ।
 
नेपालकै जनशक्तिबाट गरिएकाले आफूहरु पनि उत्साही रहेको आचार्यले बताए। स्याटेलाइटका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रविधिज्ञ फिरुलाल थारु, भेटनरी सहायक पुरुषोत्तम पाण्डे र विश्व वन्यजन्तु कोष नेपालका समुन्द्र सुब्बा बाहेक अरु सबै स्थानीयवासी रहेका छन्।
 
वन मन्त्रालयले २०७० भदौ १९ गते चार वटालाई स्याटेलाइट लगाउन कञ्चनजङ्घा संरक्षण क्षेत्रलाई अनुमति दिएको थियो। पहिलो पटक परेको हिउँ चितुवा नेपाल र भारत दुवै देशमा विचरण गरेको अध्ययनले देखाएको छ। याङ्मा क्षेत्रमा स्याटेलाइट लगाएर चीनको तिब्बतमा गए÷नगएको बारे अध्ययन गर्ने प्रयास भइरहेको छ।
 
हिउँ चितुवा विचरण गर्ने स्थानमा खाल्टो खनेर पासो थाप्ने र त्यसमा परेको सङ्केत पाएपछि बेहोस बनाएर स्याटेलाइट जडान गर्ने गरिएको छ। यसको एक महिनादेखि क्यामेरा ट्र्याप राख्ने र जनावरको गतिविधि अध्ययन गर्ने काम हुने कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बु लिम्बूले बताए।
 
चार हजार मिटरमाथिको क्षेत्रमा बस्ने यसलाई हिमालको रानी पनि भनिन्छ। यसको अध्ययन वर्षको दुई पटक चैत–जेठ तथा असोज–कात्तिक महिनामा मात्रै गर्न सकिन्छ। हिमाली क्षेत्रमा हिउँ परिरहने भएकाले अध्ययन गर्न निकै कठिन हुने गरेको बताइन्छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ