arrow

क्वारेन्टाइनका भान्सेसहित सातमा कोरोना पुष्टि भएपछि अनिश्चितकालीन लकडाउन, गाउँ नै सिल गर्नसकिने

logo
प्रकाशित २०७७ साउन २१ बुधबार
covid-test-positive-corona.jpg

कैलाली । कैलालीको कैलारी गाउँपालिकामा बुधबारदेखि अनिश्चितकालिन लकडाउन शुरु गरिएको छ । गाउँपालिकास्थित क्वारेन्टाइनमा कार्यरत एक स्वास्थ्यकर्मी, सुरक्षा गार्ड र भान्सेसहित सात जनामा मङ्गलबार कोरोना पुष्टि भएपछि बुधबार यहाँ गाउँपालिकाको अध्यक्षतामा बसेको कोभिड–१९ सम्बन्धी समितिको बैठकले अनिश्चितकालका लागि लकडाउन गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ७ का अध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिए ।

उनले यदि कोराना संक्रमित बढ्दै गएको खण्डमा पूरै गाउँपालिका सिलबन्दी गर्नुपर्ने स्थिति पनि आउन सक्ने बताए । मङ्गलबार क्वारेन्टाइनमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षा गार्ड र भान्सेसहित भारतको पुना, मुम्बईबाट आएर बसेका अन्य चार व्यक्तिमा कोरोना पोजेटिभ भेटिएको हो ।

“हामीमा पनि कोरोना संक्रमण हुनसक्ने भन्ने लागिरहेको छ” प्रवक्ता चौधरीले भने, “जनप्रतिनिधिहरु क्वारेन्टाइनको व्यवस्थापनका लागि त्यहाँ गइराख्ने, स्वास्थ्यकर्मीसँग भेटघाट भइराख्ने भएकाले जनप्रतिनिधि स्वास्थ्यकर्मी, जनप्रतिनिधिहरुको पीसीआर टेस्ट भइरहेको छ ।”

पर्सा, वीरगञ्ज, राजविराजलगायत ठाउँमा कोरोना संक्रमण समुदायमै फैलिएर जुन भयावह स्थिति सिर्जना भएको छ सोही स्थिति यहाँ नआओस् भन्नका निम्ति पूर्व सचेतना अपनाइएको प्रवक्ता चौधरीको भनाइ छ । लकडाउनका बेला अत्यवाश्यक काम बाहेक घर बाहिर ननिस्कन र भीडभाड नगर्न गाउँपालिकावासी सबैलाई आग्रहका निम्ति गाउँपालिकामा अहिले माइकिङ भइरहेको बताइएको छ ।

यसका साथै सामाजिक दूरी कायम गर्न, सबैलाई मास्क लगाउन, सरसफाइलगायतका क्रियाकलापमा ध्यान दिन पनि आग्रह गरिएको छ । वडा नम्बर १ को हसुलियास्थित दीपेन्द्र माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा कार्यरत स्वास्थ्यकर्मीसहित क्वारेन्टाइनमा काम गर्ने व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको ‘कन्टयाक्ट’ मा आएका कर्मचारी, परिवारका सदस्य र अन्य स्थानीयको पनि स्वाब परीक्षणका लागि खोजी कार्य भइरहेको गाउँपालिकाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ