संघीय गठबन्धनमा जबरजस्ती टाँसिन गएको भन्दै थरुहटबाट दुई निष्कासित (विज्ञप्तीसहित)
प्रकाशित २०७३ जेठ ४ मंगलबार
997
Shares
काठमाडौं । थरुहट–थारुवान संयुक्त संघर्ष समितिले निर्णय विपरीत र आचारसंहिता विपरीत संघीय गठबन्धनमा संलग्न भएको भन्दै थरुहट तराई पार्टी नेपालका अध्यक्ष भानुराम थारु र सचिव मिनराज चौधरीलाई निष्कासन गर्ने निर्णय गरेको छ ।
संघर्ष समितिले विज्ञप्ती जारी गर्दै अध्यक्ष र सचिवलाई निष्कासन गर्ने निर्णय गरेको जानकारी गराएको हो ।
विज्ञप्तीमा थरुहट तराई पार्टी नेपालले थरुहट–थारुवान संयुक्त संघर्ष समितिको मर्म, भावना, निर्णय, कार्यक्रम, माग र आचारसंहिता विपरीत अवैद्ध र अनाधिकृत रुपमा थरुहट आन्दोलनको विरुद्ध संघीय गठबन्धनमा संलग्न एवं आवद्ध भएको छ । तसर्थ विना निर्णय थरुहट–थारुवान संयुक्त संघर्ष समितिबारे भ्रम सिर्जना गरेकाले आजैका मितिबाट उक्त पार्टीका अध्यक्ष भानुराम थारु र सचिव मिनराज चौधरीलाई सधन्यबादसहित निष्कासन गर्ने निर्णय गरिएको–उल्लेख छ ।
थारु कल्याणकारिणी सभा अध्यक्ष एवं थरुहट–थारुवान संयुक्त संघर्ष समिति संयोजक धनिराम चौधरीले जारी गरेको विज्ञप्तीको निर्णय नम्बर चारमा भारत र युरोपिन युनियनको संयुत्तः प्रेस विज्ञप्ती र आइ.सि.जि. को रिपोर्टमा थारु र थरुहट राष्ट्रिय मुक्ति आन्दोलन र मागप्रति ऐक्यबद्धता र समर्थन गरेकोमा धन्यवाद दिने निर्णय समेत गरेको छ –भनिएको छ ।