ग्याँस र पेट्रोल खानीको अन्वेषण सुरु भो, चुलो चुलोमा आउला त ?
कुमोद अधिकारी,
प्रकाशित २०७३ जेठ ५ बुधबार
2k
Shares
विराटनगर । सरकारले मोरङको बाहुनीस्थित राधानगरमा पेट्रोल खानीको सम्भावनाबारे अध्ययन सुरु गरेको छ । नेपालमा पेट्रोलियम तथा ग्याँसको सम्भावनाबारे अध्ययन गर्न नेपाल आएको चिनियाँ टोलीको सहयोगमा सम्भावनाबारे अध्ययन सुरु गरिएको हो ।
मंगलबार उद्योग मन्त्री सोमप्रसाद पाण्डेसहित खानी तथा भू–गर्भ विभाग र चिनियाँ विशेषज्ञसहितको टोलीले खानी रहेको भनिएको ठाउँको स्थलगत अवलोकन गरेपछि ६ जनाको चिनियाँ प्राविधिक टोली र दुईजना नेपाली विज्ञ रहेको समूहले वुधबारदेखि अध्ययन अन्वेषण सुरु गरेको छ ।
सो टोलीले एक सातासम्म बाहुनीमा रहेर अध्ययन अन्वेषण गर्नेछ । सुनसरीको बराहक्षेत्रदेखि बाहुनीसम्मको क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको मन्त्री पाण्डेले बताए । चिनियाँ प्राविधिकसहितको टोलीले सोमबार बराहक्षेत्रमासमेत अध्ययन गरेको थियो । त्यहाँको चट्टानको अनुसन्धान र परीक्षणबाट यस क्षेत्रमा निकै पेट्रोलियम पदार्थ रहेको हुनसक्ने पाइएको मन्त्री पाण्डेले बताए ।
झण्डै तीस वर्षअघि समेत विदेशी विज्ञसहितको टोलीले अनुसन्धान गर्दा यस क्षेत्रमा पेट्रोल पाइएको बताइएको थियो । सुरुका केही वर्ष सो क्षेत्रमा अध्ययन–अन्वेषण गरिए पनि पछि विभिन्न कारणले रोकिएको थियो । पुनः चिनियाँ विज्ञ टोलीसहित मन्त्री नै पुगेर काम थालिएपछि स्थानीयबासी निकै हर्षित भएका छन् ।
सरकारले बाहुनीको राधारनगरमा खानी भएको क्षेत्रमा करिब साढे ३ विघा जग्गा अधिग्रहण गरी दुईजना हेरालु राखेर रेखदेख गर्दै आएको छ । मंगलबार पेट्रोलियम पदार्थ अन्वेषण गर्न मन्त्रीसहितको प्राविधिक टोली आउने जानकारी पाएपछि आसपासका गाउँबाट थुप्रै मानिसहरु भेला भएका थिए । मन्त्री पाण्डेसहितको टोली राधानगर पुग्दा ठूलो समूहले झाँकीसहित स्वागत गरेको थियो ।
खानीस्थलको अवलोकनपछि स्थानीयलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले देशका विभिन्न १० वटा ठाउँमा पेट्रोलियम खानी रहेको र ती ठाउँमा सरकारले अन्वेषण थालेको जानकारी दिनुभयो । चिनियाँ विज्ञसहितको टोलीले गत वैशाख २५ गतेदेखि दैलेखबाट खानी भएका क्षेत्रहरुको अन्वेषण सुरु गरेको हो ।
दैलेख, धनगढी, नेपालगञ्ज, लुम्बिनी, चितवन, बीरगञ्ज, मलङ्गवा, जनकपुर, राजविराज र बाहुनीमा पेट्रोलियम खानी रहेको सरकारी तथ्यांक छ । ती खानीहरूको अन्वेषण गर्न नेपाल र चिनियाँ सरकारबीच सहमति भएलगत्तै काम थालिएको बताइएको छ ।
आगामी तीन वर्षभित्रमा सबै खानीको अध्ययन–अन्वेषण गरी कुन ठाउँमा के–कति परिमाणमा पेट्रोलियम पदार्थ छ भन्ने यकिन गर्ने र त्यसपछि व्यवसायिक उत्पादन सुरु गर्ने सरकारको योजना छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भने जस्तो चुलो चुलोमा ग्याँसको पाइलाईन आउन निकै समय लाग्ने छ ।