काठमाडौं । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन काठमाडौमा सुरु भएको छ । २५ सय ६०औं बुद्ध जयन्तीको अवसर पारेर ‘लुम्बिनीः भगवान बुद्धको जन्मस्थान र बौद्ध दर्शनको उद्गम भूमी’ :– ‘लुम्बिनी : द बर्थ प्लेस अफ लर्ड बुद्ध एन्ड फाउन्टेन अफ बुद्धिज्म एण्ड वल्र्ड पीस’ को नारासहित सरकारले दुई दिन सम्मेलन गर्दै छ । सम्मेलन सकिएको भोली पल्ट लुम्बिनिमा बुद्ध जयन्ती समारोह हुने छ ।
काठमाडौंको सोल्टी होटलमा प्रधानमन्त्री केपी शर्मा ओलीले बौद्ध सम्मेलनको उद्घाटन गरे । सम्मेलनमा ५ राष्ट्रका संस्कृती मन्त्री, संयुक्त राष्ट्र संघका प्रतिनिधि, अष्ट्रेलिया र स्वीट्जरल्याण्ड लगायत २८ राष्ट्रका सरकारी प्रतिनिधि, धर्म गुरु, भिक्षु र भिक्षुणीहरु गरी १५ सय बढीको सहभागि रहेको संस्कृति मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले बताए । विदेशी मात्रै ३ सय छन् ।
सम्मेलनमा भगवान गौतम बुद्ध र बुद्ध धर्मबारे १९ वटा कार्यपत्र प्रस्तुत हुने र शुक्रबार लम्बिनी घोषणा पत्र एवं विश्व लुम्बिनी प्रसार जारी हुँदै सम्मेलन सकिनेछ । बुद्धको जन्मस्थल लुम्विनी, बौद्ध दर्शन तथा अध्यात्मको उद्गम भूमी हो भन्ने सन्देश फैलाउने उद्देश्य राखिएको सम्मेलनपछि ८ गते शनिबार लुम्बिनीमै बुद्ध जयन्ती समारोह हुने छ ।
भारतबाट निम्तो पठाइएका कोही आएनन्
बौद्ध सम्मेलनमा उचित प्रतिनिधित्व हुने जनाएको छिमेकी भारतबाट अन्ततः निम्तो पठाइएका कोही आएनन् । भारतले बौद्ध सम्मेलन र बुद्ध जयन्ती समारोह बहिस्कार गर्ने चर्चा चलेपछि आधिकारीक रुपमा भारतीय विदेश मन्त्रालयले सुहाउँदो र उचित भ्रमण हुने प्रष्ट्याएको थियो । अन्ततः नेपालमै रहेका भारतीय राजदूत रणजित रायलाई नै प्रतिनीधित्व गर्न भनेको छ ।
सम्मेलनमा राजदूत रायको नेतृत्वमा पूर्व परराष्ट्र सचिव ललितकुमार सिंह र अर्का एक पूर्व राजदूतलगायत ४ जना सहभागि भएका संस्कृति मन्त्रालयका सचिव प्रेम कुमार राईले सम्मेलन स्थलबाटै हाम्राकुरालाई बताए । उनका अनुसार यो मध्यम तहको प्रतिनीधित्व हो । यद्यपि, भारतले पूर्व अधिकारीहरु पठाउनु र यसअघि भारतीय संचारमाध्यमले लेखेको भारतले बौद्ध सम्मेलन बहिस्कार गर्ने भन्नु उस्तै भएको विज्ञहरुले जनाएका छन् ।
भारतीय
संचार माध्यम क्याचन्यूजले बौद्ध सम्मेलनमा कुनैपनि प्रतिनिधि सहभागि नहुने र बहिस्कार गर्ने आशयको समाचार प्रकाशन गरेपछि भारतीय विदेश मन्त्रालयका प्रवक्ता
विकास स्वरुपले साप्ताहिक पत्रकार सम्मेलनमै निमन्त्रणा पाइसकेको र निमन्त्रणा अनुसारको उचित प्रतिनिधित्व हुने बताएका थिए । यद्यपि, संस्कृति मन्त्रालय अर्थात् नेपाल सरकारले निम्तो पठाएका कोही सहभागि भएनन् । संस्कृति मन्त्रालयले प्रधानमन्त्री नरेन्द्र मोदी, संस्कृतिमन्त्री र विहारका मुख्यमन्त्री नितिश कुमारलाई निम्तो पठएको थियो ।
भारतको असन्तोष
केही दिन अघि प्रकाशित समाचार अनुसार भारतले लुम्बिनीमा गर्न लागेको बुद्ध जयन्ती सहमारोहका लागि नेपालको संस्कृति मन्त्रालयले चीनको १५ लाख अमेरिकी डलर स्वीकार गरेको आरोप लगाउँदै सम्मेलनमा आफु सहभागि नहुने जनाएको थियो । यस्तै, सम्मेलनको विषय बदलेको तथा सहायक–विषय ‘लुम्बिनीः भगवान बुद्धको जन्मस्थान र बौद्ध दर्शनको उद्गम भूमी’ भन्ने ‘सव–थीम’ मन नपरेको भन्दै भारत असन्तुष्ट रहेको चर्चा भएको थियो ।
यसैबीच, घोषणापत्र जारी गरिसकेपछि विभिन्न मुलुकमा फैलिएको बुद्ध जन्मस्थलसम्बन्धी भ्रम हटाउन सम्बन्धित राष्ट्रका प्रमुखलाई समेत अनुरोध गर्ने संस्कृति एवं पर्यटन सचिव राईले बताएका । उनले भने, ‘आगामी आर्थिक वर्षको बजेटमार्फत ‘बुद्ध सर्किट’ अर्थात परिक्रमापथको विकास गर्ने योजना अघि बढ्नेछ ।’
मोदी इरान हानिए
भारतीय प्रधानमन्त्री मोदी इस्लामिक गणतान्त्रिक मुलुक इरानको भ्रमणमा निस्केका छन् । उनको औपचारिक भ्रमण शुक्रबार र शनिबार (मे २२–२३) हुने छ । जुन तिथीमा नेपालमा बौद्ध सम्मेलनको लुम्बिनी घोषणा पत्र जारी हुँदैछ भने, लुम्बिनीमा बुद्धजयन्ती समारोह हुँदैछ । नरेन्द्र मोदी इरानी राष्ट्रपति हसन रुहानीको निमन्त्रणामा भ्रमण गर्न लागेका हुन् ।