काठमाडौं । लाखौं खर्च गरेर सम्पत्तिको रेख देख गर्न नसक्दा रातारात हराएका सम्पत्ति छानविन गर्न महानगरपालिका बल्ल तातेको छ । महानगरको सम्बन्धित निकायले समाचार प्रकाशनपछि सक्रियता देखाएको हो । महानगरपालिकाले समयमै निगरानी गर्न नसक्दा रातारात लाखौंका
सम्पत्ति हराउँदै गएको समाचार सार्वजनिक भएपछि महानगरपालिकाको शहरी विकास तथा पूर्वाधार विभागले बुधबार नै आफ्ना सुरक्षा निकायको लागि आफू अन्तर्गतका सम्पत्तिहरूको विषयमा निगरानी गरी हराएका सामग्रीहरूको तत्काल खोजी गर्न भनिसकेको जनाएको छ ।
विभागले तीनकुनेको जस्तापाता विषयमा अर्काे निकायले विना अनुमति लगेका सामानहरू तत्काल फिर्ता गराउन प्रक्रियागत ढङ्गले अघि बढ्ने निर्णय पनि गरिसकेको जानकारी दिएको छ । विभागका विभागीय प्रमुख उत्तर रेग्मीले सो विषयमा प्रक्रियागत ढङ्गले अघि बढ्नेगरी काम सुरू भइसकेको जानकारी दिए । ‘हामीले पेपर प्रोसेसमा जाने निर्णय गर्दै हाम्रा निकायका प्रहरीलाई पनि सो विषयमा आवश्यक कारबाहीको लागि भनिसकेका छौं’ उनले भने,–‘प्रक्रियागत ढङ्गबाट जाँदा पनि आफ्नो सम्पत्ति दिन मानेन् भने बल प्रयोग गरेर भएपनि हामी आफ्नो सम्पत्ति ल्याउँछौं ।’ आफू केही समय अगाडी मात्रै विभागीय प्रमुख भएर आएको भन्दै कुनैपनि निकायले अर्काे निकायको सामान प्रयोग गर्दा पनि जानकारी नदिने प्रवृत्तिका कारण यस्तो समस्या सिर्जना भएको पनि उनले सुनाए ।
तीनकुनेको जस्ता हराएको विषयमा सडक विस्तार आयोजनाले लगेको र काम सकिएपछि त्यही ल्याएर छाड्ने सहमति भएको भनेर कुनै प्रक्रिया अगाडि नबढाएको भन्दै रेग्मीले अब सो महानगरको सम्पत्तिको खोजी गर्न कडा रूपमा प्रस्तुत हुने बताए । १८औं सार्क शिखर सम्मेलनको समयमा फोहोर रहेको ठाउँ भनेर भीभीआइपीहरूलाई फोहोर लुकाउनको लागि भनेर ठेक्का आह्वान भएको र उक्त प्रक्रियाद्वारा १४ लाख ९० हजार दुई सय तीस रूपैयाँ २५ पैसामा ठेक्का पारेर सार्क शिखर सम्मेलनपूर्व अर्थात् तीन दिनभित्र सकिसक्ने गरी न्यू डीवी निर्माण सेवा प्रलिलाई २०७१ साल मंसिर ७ गते कार्यादेश पारित भएर निर्माण भएको तीनकुनेको जस्तापाता अहिले आधा भन्दा बढी गायव भएको छ ।
कामपाले सडक विस्तार आयोजनाले लगेको भनेर भनेपनि सडक विस्तार आयोजनाका प्रमुख मनोज श्रेष्ठले आफूले जस्ता नलगेको भनेर पन्छिएपछि महानगरपालिकालाई थप संकट परेको हो । जसले महानगरले आफ्नो सम्पत्तिको जोजीनिती गर्ने पर्ने दबाब परेको छ ।