arrow

रेडियोमा आफ्नै नाम सुनेपछि बदलिएको लाहुरामको बाटो, डकर्मी बन्न चाहन्थे बने जनसेवक

logo
सौरभ गिरी,
प्रकाशित २०७७ साउन ३० शुक्रबार
lahuram-tharu.jpg

राप्तीसोनारी (बाँके )। मानव जीवन जब दुःख र पीडाले घेर्छ तब मानिस विचलित बन्छ, स्वार्थमा लिप्त हुन्छ । त्यतिबेला उसले के गर्ने के नगर्ने सबै कुरा बिर्सिन्छ ।

यस्तो अवस्थामा मानिसले के सही के गलत छुट्याउने निर्णय नै लिन सक्दैन । यही दुःख र पीडामा लिएको निर्णयले नै मानिसको जीवन सफल बनाउँछ । उसको आगामी दिनको भविष्य सुनिश्चित गर्छ ।  

प्रसङ्ग राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुको । दैवको लीला लाहुरामले सानै उमेरमा बुबाको स्नेही छत्रछाया गुमाउनु पर्यो । बाबुलाई सम्झेर आमा जब भक्कानिएर रुन्थिन् तब आमालाई सम्झाउनु पर्दाको पीडा उनीसँग ताजै छ।

बाबुको यादमा पलपल छट्पटाउने लाहुरामलाई कम्ति दुःख भोग्नु परेन होला, जुन उनलाई मात्र थाहा छ । त्यसमाथि सानै उमेरमा बाबुको साथ गुमाएका लाहुरामलाई जहिले पनि एकै कुराले मन खाने गथ्‍‍र्यो र अहिले पनि त्यहीँ कुराले पिरोल्ने गर्छ, मेरो बुबा भइदिएको भए धेरै पढ्थे ।

मेरा सबै काममा बुबाले सहयोग गर्नु हुन्थ्यो । मेरा कमिकमजोरी औंल्याएर सल्लाह सुझाव दिनु हुन्थ्यो ।’ उनलाई बाबुको अभाव त्यतिबेला खड्कियो जब उनी आफ्नो विवाहका लागि चाहिने १२ मिटर बढुवा १ मिटर नपुगेर विवाह भन्दा केही क्षण अगाडि नेपालगन्जबाट पैदल हिँडेर ल्याउनु परेको थियो । 

बाबुको मृत्युपश्चात् उनले काका बुबा सुकलालको सहारा नपाएका भने होइनन् । तर आफ्नै बाबु भइदिएको भए यस्तो गर्थे उस्तो गर्थे भन्ने अभिलाषाबाट भने उनी मुक्त हुन सकेका छैनन् । सानोमा तीक्ष्ण बुद्धिका भए पनि बाबुको सहारा टुटेपछि उनको पढ्ने धोको पूरा हुन सकेन ।

साबिकको बैजापुर गाविस वडा नम्बर ६ खैरेनी र हालको वडा नम्बर ३ स्थित पुख्‍‌र्यौली घरमा विक्रम संवत् २०२४ सालमा जन्मिएका लाहुरामको केही समय संयुक्त परिवारमा बित्यो । तीन बाजेका तीन छोराका सन्तान मिलाएर उनको ५२ जनाको ठूलो परिवार थियो । त्यतिबेला सबैले काममा सहयोग गर्ने भएकाले घरको जिम्मेवारी उनीमाथि त्यति परेन । तर जब अंशबन्डा भयो तब समयले उनलाई सानै उमेरमा बयस्क बनायो । 

उनको पुख्‍‌र्यौली सम्पत्ति तीन भागमा बाँडियो । तीन भागमा जग्गा जमिन बाडिँदा खान लाउन पनि उनको घरलाई हम्मेहम्मे परेको तीतो अनुभव उनीसँग छ । खेती किसानी गर्दै आएको पुख्‍‌र्यौली पेसालाई निरन्तरता दिँदै उनको परिवारलाई आफ्नो जग्गाबाट भएको उब्जनीले खानलाउन नपुग्ने भएपछि अँधियामा खेती किसान गर्न थाल्यो। उहिले गरिने परम्परागत खेतीपातीका कारण धेरैजसो समय खाली बस्नु परेकाले उनले घर खर्च चलाउनका लागि मजदुरी पेसा अपनाए ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाटो बनाउने मजदुरी काममा केही समय बिताएका उनले त्यहाँ काम गर्दाको अवधिमा सक्रिय र इमान्दार भए सबैको प्यारो बन्न सकिने शिक्षा प्राप्त गरे । त्यतिबेला पारिश्रमिकको विषयमा आफूभन्दा ठूलाले आन्दोलन गरौं, आज काममा नजाऊ भनेर सबैलाई भड्काएर बीच बाटोबाटै घर फर्किंदा काम नगरे घरमा सबै भोकै हुन्छन् भन्दै उनी र उनका एक मिल्ने साथी काममा जान्थे । 

जसले गर्दा मस्तोलका हाकिमको उनी र उनका साथी प्यारो र विश्वास पात्र बन्न पुगे । सानो उमेरमा बाबुको स्नेह नपाएका उनले हाकिमको स्नेह पाउँदा परिस्थितिवश भनौं वा उनको सक्रियता र इमान्दारीताले जीवनको बहुमूल्य शिक्षा प्राप्त गर्ने अवसर लाहुरामले पाए । 

उनको अभिलाषा र मन मस्तिष्कमा जरो गाडेको सक्रियता र इमान्दीरिताले उनलाई नयाँ दिशातर्फ डोर्यायो । पूर्वपश्चिम राजमार्गको काम सकिएपछि उनी मान्छेसँग घुलमिल हुन थाले । त्यही क्रममा उनलाई सामाजिक क्षेत्रमा प्रवेश गर्ने अवसर जुर्यो ।

त्यतिबेला जिम्मेवारीले थलिएका लाहुरामले किताबी पढाइ गर्न नपाए पनि व्यवहारिक शिक्षालाई अध्ययन गर्ने र बुझ्ने अवसर पाए । सामाजिक क्षेत्रमा काम गर्ने क्रममा मानिसको व्यवहार, देश र विदेशबारे पढे ।

उमेर बढ्दै जाँदा व्यक्तिपिच्छे इच्छा/आकाङ्क्षा फरकफरक हुन्छन् । समय र परिस्थितिसँगै भविष्यका सपना जसले पनि बुन्न थाल्छ । इच्छा र आकाङ्क्षाको ठीक विपरीत लाहुरामको राजनीतिक यात्रा भने अनौठो छ ।

उनको राजनीतिकर्मी बन्ने इच्छा भने होइन । घरव्यवहार र जिम्मेवारीले थलिएका उनी डकर्मी बन्न चाहन्थे । उतिबेला डकर्मीले राम्रो पारिश्रमिक पाउने भएकाले पनि उनको इच्छा एक कुशल डकर्मी बन्नु थियो । डकर्मी बन्न नसके व्यापारी वा व्यवसायी बन्न चाहन्थे उनी । तर उनको मनमस्तिष्कमा जरा गाडेको सक्रियता र इमानदारिताले उनको इच्छा आकाङ्क्षा नै परिवर्तन गरिदियो ।

राजनीतिक यात्रा!
०४६ सालमा देशमा बहुदल आयो । बहुदल आइसकेपछि तत्कालीन नेपाली कांग्रेस बाँकेका सभापति युवराज शर्मा गाउँगाउँमा कमिटी गठन गर्दै हिँड्न थाले । सोही क्रममा साबिकको बैजापुर गाविसमा सभापति शर्मा पुगे ।

त्यतिबेला शर्मा चिनेको मान्छेलाई इकाई सभापति बनाउने सोचले त्यहाँ पुगेका थिए । देशमा भर्खरै बहुदल घोषणा भएको बेलामा जसलाई सभापति बनाउने भनेर शर्मा त्यहाँ पुगेका थिए । उनी डरले भागेपछि कसलाई सभापति बनाउने भन्ने चर्चा चल्न थाल्यो । 

पार्टीले खोजे झै सक्रिय र इमान्दार मान्छे लाहुराम भएको थाहा पाएपछि नेपाली कांग्रेसका नेता शालिकराम डाँगीले लाहुरामलाई घरबाट बोलाएर कमिटीको भेलामा लगेर गए ।

त्यहाँ पुगेका लाहुरामलाई सभापति बन्ने अफर आएपछि अक्क न बक्क बनेको अनुभव उनी अहिले भने रमाइलो मान्दै सुनाउँछन् । केही बोल्न नपाउँदै शर्मा र डाँगीले फूलमाला लगाइदिएपछि उनको नेपाली कांग्रेसबाट राजनीतिक यात्रा सुरु भयो ।

अरूको अगाडि बोल्दा थरथर काप्ने लाहुरामले इकाई सभापति भएको दोस्रो दिन रेडियो नेपालबाट जब आफ्नो नाम सुने अनि उनमा आत्मविश्वास पलायो । रेडियोबाट समाचारमा आफ्नो नाम आएपछि उनमा विस्तारै राजनीतिप्रति चासो बढ्न थाल्यो । 

त्यसपछि उनलाई राजनीतिमा कहिल्यै पछाडि फर्केर हेर्नु परेन । मजदुरीमै दिन बिताउने लाहुराम  राजनीतिमा प्रवेश गरिसकेपछि विभिन्न समूहमा सहभागिता जनाउन थाले । संघसंस्थामा काम गर्न थाले र सभा कार्यक्रममा सहभागिता जनाउँदै राजनीतिक र व्यवहारिक ज्ञान आर्जन गर्न थाले ।

२०४६ सालमा इकाई सभापति भएर प्रवेश गरेको राजनीतिक यात्रामा निरन्तर २४ वर्ष उनले सभापतिकै पदको जिम्मेवारी निभाए । २४ वर्षको अन्तरालमा उपाध्यक्ष, सचिव, सदस्य सबै फेरिए तर उनको ठाउँ लिन सक्ने अर्को कोहि आएन । जहिले पनि उनी सर्वसम्मतले अध्यक्ष पदमै रहे । त्यसपछि जिल्लामा मनोनित सदस्य भएर दुई कार्यकाल बिताए भने एक वर्ष जिल्लाको कार्यवाहक सभापति भए ।

राजनीतिमा आएपछि लाहुरामलाई कहिल्यै पनि पदको लोभ जागेन । जुन पद भए पनि पार्टी वा कार्यकर्ताले दिने हो भन्ने सोच्ने उनले भने तत्कालीन जिल्ला विकास समितिको अध्यक्ष वा सदस्यसम्म बन्ने लक्ष्य लिएका थिए ।

तर, देश संघीय संरचनामा गइसकेपछि भने उनको त्यो इच्छा आकाङ्क्षा पूरा हुन सकेन । राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष बन्ने सपनामा पनि सोचेका थिएनन् लाहुरामले । उनको सक्रियता र इमानदारिताले गर्दा उनलाई गाउँपालिका अध्यक्षमा लड्न कार्यकर्ताले नै हौस्याए । 

कार्यकर्ताले साथ दिए पनि पार्टीले टिकट देला भन्ने विश्वासनै नगरेका लाहुरामले अध्यक्षको टिकट पाउँदा केही दिन विश्वासनै गर्न सकेनन् । र, स्थानिय तहको पहिलो निर्वाचनमा १६ हजार मत ल्याएर राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएर जनसेवक बन्न पाए ।

हरेक सुख, दुःखमा साथ र हौसला दिने आमा, राजनीतिक यात्राको सुरुवात गराउने शालिकराम डाँगी, युवराज शर्मा, प्रेमलाल श्रेष्ठ, डिल्ली चौधरीलगायतका व्यक्तिलाई आफ्नो प्रेरणादायी व्यक्तित्व मान्ने लाहुरामलाई अन्ततः सक्रियता र इमानदारिताको संगमले मानिसलाई सफलता दिलाउने रहेछ भन्ने बोध भएको छ ।

पहिले एउटा साधारण मजदुरी गरेर घर खर्च चलाइरहेका लाहुराम पार्टीगत कुरामा होस् चाहे आर्थिक पाटोमा या नैतिक पाटोमा सक्रिय र इमान्दार भएर निरन्तर लागिरहे त्यसको परिणाम मिठो हुने ज्वलन्त उदाहरण हुन् । 

पत्रकार रमण ओलीको सहयोगमा!!



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ