काठमाडौं । पाँच माओवादी घटकबीच एकता भएको छ । एकता भएसंगै पार्टीको नाम परिवर्तन भएको छ । पार्टीको नाम अब ‘नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र’ भएको छ । यसअघि, बिहान बसेको एकता संयोजन समिति बैठकले सोही नाम प्रस्ताव गरेको थियो । प्रस्तावित सोही नाम सदर भएको नेताहरुले बताएका छन् ।
बबरमहलस्थित कार्की पार्टी प्यालेसमा भएको एकता घोषण सभामा नयाँ पार्टीको अध्यक्ष पुष्पकमल दाहाल रहने गरी पार्टी घोषणा भएको हो । नेकपा क्रान्तिकारी माओवादीका महासचिव रामबहादुर थापाले पार्टी घोषणा गरे । अन्य पदाधिकारी मिलानको विषय भने अब बस्ने केन्द्रीय कमिटी बैठकले टुंगो लगाउने बताइएको छ । बिहानको बैठकले रामबहादुर थापा महासचिव तथा कृष्णबहादुर महरा उपमहासचिव हुनेमा मोटामोटी सहमति जुटाएपनि यकिन भएको छैन ।
सचिवको विषयमा समेत सहमति जुट्न बाँकी छ । सचिवमा वर्षमान पुन, टोपबहादुर रायमाझी, देब गुरुङ, पम्पा भुसाल, जनार्दन शर्मा लगायत आकांक्षी छन् । एकता गर्नेमा पुष्पकमल दाहाल नेतृत्वको एकीकृत नेकपा माओवादी, रामबहादुर थापा नेतृत्वको विद्रोही क्रान्तिकारी माओवादी, मातृका यादव नेतृत्वको नेकपामाओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, विप्लव नेतृत्वको नेकपा माओवादीका विद्रोही समूह छन् । लामो समयदेखि एकिकरण प्रयास थालेका पाँच माओवादी घटकले गत साता १३ बुँदे साझा सम्झौता बनाई एकढिक्का हुने सहमति गरेका थिए ।