arrow

संक्रमण बढ्दै गएपछि भरतपुरमा कर्फ्यू, बाहिर निस्किए कारबाही

logo
प्रकाशित २०७७ साउन ३१ शनिबार
bharatpur.JPG

चितवन । जिल्ला प्रशासन कार्यालयले भरतपुर महानगरपालिकामा शुक्रबार राति १२बजेदेखि लागू हुने गरी निषेधाज्ञा (कर्फ्यू) जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईद्वारा शुक्रबार जारी एक सूचनामा भदौ ५ गतेसम्मका लागि भरतपुरमा निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम महानगरपालिकाको सम्पूर्ण क्षेत्रभित्र लागू हुने गरी निषेधाज्ञा जारी गरिएको प्रजिअ भट्टराईले जानकारी दिए । 

आदेशको अवज्ञा गरिएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने उनले बताए । पछिल्लो समय चितवनमा कोभिड–१९ संक्रमण फैलिँदै गएकाले यसलाई नियन्त्रण गर्न निषेधाज्ञा गर्नु परेको उनको भनाइ छ । 

महानगरपालिकामा गएको चार दिनमा २९ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म ९९ जनामा संक्रमण देखिएकामा एकको मृत्यु भएको छ भने अन्य निको भएका छन् ।

 कोरोनाको संक्रमण बढ्दै गएपछि महानगर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो । अत्यावश्यक बाहेकका सबै क्षेत्र बन्द गरिने भएको छ । अत्यावश्यक सामग्री खरिदका लागि बिहान र बेलुका ५ देखि ८ बजेसम्म पसल खोल्न दिइने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ