arrow

कोरोनाबाट बचाउन सेमिलकडाउन 

logo
युद्ध बहादुर मल्ल, 
प्रकाशित २०७७ साउन ३२ आइतबार
mugu-headquarter.jpg

मुगु । हिमाली जिल्ला मुगुलाई भाद्र १ गतेबाट सेमिलकडाउन गरिने भएको छ । मुगु जिल्लासंग नजिकको सम्वन्ध रहेका छिमेकी जिल्लाहरुमा कोरोना संक्रमितको दर बढ्दै गएकाले मुगुबासीलाई कोरोना संक्रमणबाट बचाउन सरोकारवालासहित जिल्ला संकट व्यवस्थापन समितिको बसेको बैठकले भाद्र १ गतेबाट जिल्लालाई सेमिलकडाउन गर्ने निर्णय गरेको हो । 

जिल्लाको व्यापारिक तथा अन्य कारोवार हुने जिल्लाहरु जुम्ला, बाजुरा, बाँके, सुर्खेत, रुपेन्देही, काठमाडौ, मोरङ्ग, कास्कीमा कोरोनाका संक्रमितहरु प्रतिदिन बढदै गएकाले गत साउन ६ गतेमध्यरातीबाट सरकारले घोषणा गरेको लकडाउन अन्त्य गरेसंगै अहिलेसम्म जिल्लामा बाहिर जिल्लाहरुबाट स्थानिय तथा अन्य व्यक्तिहरु भित्रिएकाले भित्रिने सबैले आरडिटी र पिसिआर परिक्षण गरि भित्रिए पनि कहिँ कतैबाट कोरोना भए समुदायसम्म नफैलियोस् र समयमै संक्रमित पत्ता लागोस भन्ने उदेश्यले परिक्षणको दायरा बढाउदै आगामी भाद्र १ गतेबाट जिल्लालाई अघोषित सेमिलकडाउने गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला संकट व्यवस्थापन केन्द्रका  अध्यक्ष कृष्ण कुमार निरौलाले बताए ।

सेमिलकडाउनमा अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द हुने बताईएको छ । जिल्लामा ५–६ जनामा मात्र कोरोना देखिएका छन् । त्यसमा पनि प्रायः सबै घर फर्किसकेका छन् । २ जना मात्र आईसोलेसनमा छन् । जिल्लाबाट पठाएका सबै स्वाबहरुको रिपोर्ट नेगेटिभ आउने गरेपनि थप सजकता अपनाउन र समुदाय स्तरसम्म कोरोना कसैमा संक्रमण भएको भए नफैलियोस् भनेर समय मै संक्रमित पत्ता लगाउने उदेश्यले भाद्र १ गतेबाट सेमि लकडाउने गर्ने निर्णय भएको बैठकमा सहभागी छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीले बताए । 

स्थानिय सरकारहरुले यो समयमा बाहिरबाट आउनेलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने, पुनः सेनिटाईजर, सावुन, मास्क स्थानियहरुलाई वितरण गर्ने, आवश्यक किड खरिद गर्ने, स्थानिय प्रशासनले निर्णयहरुको कार्यान्वयन गर्न सबै पक्षहरुलाई पृष्टपोषण गर्ने, सुरक्षा र आवागमनलाई कडाई पार्ने, जिल्ला स्वास्थ्य सेवा कार्यालयले परिक्षणको दायरा बढाउने निर्णय भएको छ ।

बैठकले आजसम्मको मितीमा कोरोना रोकथाम, नियन्त्रण,राहत तथा उपचारमा सक्रिय भुमिका निर्वाह गर्ने स्थानिय सरकारहरु, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, संचारकर्मी, गैर सरकारी संघ सस्था,नागरिक समाजहरुलाई धन्यवाद दिने र आगामी दिनमा पनि आफना गतीविधीहरु थप उर्जाशिल बनाई कोरोना नियन्त्रण, रोकथाम तथा उपचारमा सहयोग गर्न आग्रह गर्ने निर्णय समेत गरेको छ ।

यस अघि स्थानिय सरकारहरुले जिल्ला बाहिर रहेका आफना स्थानियहरुलाई उद्धार गदै घर ल्याउनुका साथै क्वारेन्टाईन व्यवस्थापन,हेल्पडेक्स संचालन तथा स्थानियहरुलाई स्वास्थ्य सामग्री वितरण प्रभावकारी बनाउदा अन्य जिल्लामा संक्रमितको दर बढदै गए पनि मुगु जिल्लामा शुन्य सरह रहेको छ । 

सेमिलकडाउनमा स्थानियहरुलाई दैनिक उपभोग्य वस्तुहरुको अभाव नहोस् भनेर होटेल, सैलुन बाहेकका अन्य पसलहरु विहान ६ देखि १० बजेसम्म र अपरान्ह ४ देखि ६ बजेसम्म स्वास्थ्य सुरक्षाका उपाय अपनाएर खोल्न दिने, आन्तरिक यातायातमा पास लागु गर्ने, अन्तर जिल्ला सवारी पास तथा आवागमन बन्द गर्ने, भाद्र महिनाको दोस्रो हप्तासम्म कोरोना परिक्षणको दायरालाई तिव्र बनाउने, रात्रीकालिन आवतजावत पुर्णरुपमा निषेध गर्ने, सभा, सम्मेलन, तालिम, गोष्ठी, जुलुस अर्को आदेश नभएसम्मका लागी निषेध गर्ने, असार मसान्तसम्म कोभिड १९ विरुद्धका कार्यमा भएका यथार्थ खर्च स्थानिय सरकार, विपत व्यवस्थापन समिती सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले सार्वजनिक गर्ने, जिल्लामा भए गरेका गतीविधि तथा खर्च समेटेर बार्षिक प्रतिवेशन प्रकाशित गरी सार्वजनिक गर्ने, चिकित्सक नभएका स्थानिय तहहरुमा चिकित्सक पठाउन पहल गर्ने पनि निर्णय भएका छन् ।

जिल्ला अस्पतालमा १ हजार किड,खत्याड गाउँपालिकामा ७ सय किड, मुगुम कार्मारोङ्ग र सोरुमा समेत केही किड भएकाले तत्काल तिनै किडबाट स्वाब संकलन गर्ने र थप चाहिने किड स्थानिय सरकार, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश सरकार र संघिय सरकारसंग माग गरी स्वाब संकलनलाई तिव्र बनाई परिक्षणको दायरा बढाउने यसरी परिक्षण गर्दा आउने रिजल्टले नै सेमि लकडाउन हटाउने वा झनै कडा गर्ने भन्ने बारे निर्णय गराउने प्रजिअ निरौलाले बताए । 

जिल्ला प्रशासन कार्यालयलाई कोभिड १९ सम्वन्धि स्थानिय तहरुबाट प्राप्त विवरण समेटेर प्रशासन मुगुले प्रकाशित गरेको रिपोर्ट अनुसार शनिबार दिउँसो २ बजेसम्म जिल्लामा १७४३ जनाको स्वाब संकलन गरी पिसिआर परिक्षण गर्दा २ जनाको रिपोर्ट पोजेटिभ आएको र ९५० जनाको आरडिटी परिक्षण गर्दा ४ जनाको रिपोर्ट पोजेटिभ आएको देखाएको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ