arrow

पोखरा महानगरपालिकाको हिसाव नमिलेको साँच्चै हो – मेयर जिसी 

हिसाब–किताब आगामी चुनावमा जनताले गर्छन् – कांग्रेस

logo
हरि पन्त, 
प्रकाशित २०७७ भदौ २ मंगलबार
man-bahadur-gc-mayor-pokhar.jpg

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले महानगरपालिकाको हिसाव किताव साँच्चै नमिलेको बताएका छन् । 

नेपाली कांग्रेस कास्कीको ज्ञापनपत्र बुझ्दै जिसीले यस्तो स्वीकार गरेका हुन् । महानगरको १३ करोड रुपैयाँ आर्थिक अपारदर्शिता भएको चर्चा भइरहेका बेला मेयर जिसीले भने १३ करोड होइन एक करोड ७३ लाख रुपैयाँ फरक परेको बताए ।

उनले यो रकम कहाँ गयो ? भन्ने विषयमा लेखा प्रमुखको संयोजकत्वमा समिति गठन गरि छनविन गरिरहेको जानकारी दिए । ‘महानगर जस्तो ठाउँमा हिसाव नमिल्नु गम्भीर प्रकृतिको त्रुटि हो । यसलाई कुनै पनि हालतमा छोडिन्न’, उनले भने ।

निर्वाचित जनप्रतिनिधिहरु कुनै पनि हालतमा मिलेमतोमा नरहने र रहनुपर्ने जरुरी नभएको भन्दै प्रमुख जिसीले यदि मिलेमतोमा रहेको प्रमाणित भएमा जस्तोसुकै कठघरामा उभिन तयार रहेको स्पष्ट पारे ।

आफू अहिलेसम्म कहिं कतै लोभ, लालसा र र्याल चुहाउने काम नगरेको भन्दै उनले अबका दिनमा पनि यस्तो नगर्ने प्रतिवद्धता जनाए । उनले भने, ‘यतिका दिनसम्म त केही गरिएन भने अब र्याल चुहाएर कहाँ जाने ? के गर्ने ?’

पोखरा २१ को अडियो काण्डबारे मेयर जिसीले छानविन गरिरहेको बताए । छानविनले दोषी प्रमाणित गरेमा जनप्रतिनिधि भन्दैमा दोषीले छुन नपाउने स्पष्ट पारे । पोखरा २१ का वडासदस्य रामबहादुर गुरुङले एक जना टोल विकास संस्थाका अध्यक्षसंग एकलाख रुपैयाँ घुस मागेको र नदिए परिवार सिध्याइदिने चेतावनी दिएको अडियो हालै सार्वजनिक भएको थियो ।

हिसाव(किताव आगामी चुनावमा जनताले गर्छन् – कांग्रेस
नेपाली कांग्रेस कास्कीले महानगरमा राजस्व हिनामिना हुनु दुर्भाग्यपूर्ण भएको जनाएको छ । महानगरका मेयर जिसीलाई ज्ञापनपत्र बुझाउँदै पार्टी सभापति कृष्ण बहादुर केसीले यसको हिसावकिताव आगामी चुनावमा जनताले गर्ने चेतावनी दिए ।

१३ करोडको आर्थिक अपारदर्शिता हुँदा समेत महानगरपालिका गम्भीर बन्न नसक्नु दुःखद् भएको भन्दै सभापति केसीले तत्काल छानविन गरी दोषी उपर कडा कार्वाही गर्न माग गरे । यसले महानगरप्रति जनतामा अविश्वास पैदा भएको उनले बताए ।

उनले पोखरा २१ को अडियो काण्डले पनि विकास निर्माणमा कति भ्रष्टाचार हुन्छ भन्ने विषय उजागर भएको भन्दै सत्यतथ्य छानविन गर्न माग गरे । पोखरामा कोरोना संक्रमण गढ्दै गएकोप्रति पनि उनले महानगरको ध्यानाकर्षण गराए । उनले कोरोना संक्रमितको उपचारलाई व्यवस्थित गर्दै कोरोना परीक्षणको दायरा बढाउनका लागि महानगरपालिका गम्भीर बन्न आवश्यक रहेको बताए ।

केसीले लकडाउनका बेला गरिएको राहत वितरणमा विभेद गरिएको आरोप लगाउँदै राहतको हिसाव सार्वजनिक गर्न माग गरे । यसैगरी महानगरपालिकाको वेथितिबारे कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरुले उठाएका १६ वटा मागप्रति महानगर गम्भीर नभएको भन्दै सभापति केसीले मेयर जिसीको ध्यानाकर्षण गराएका थिए । उक्त अवसरमा पार्टी सचिव देवेन्द्र रानाभाटले पनि बोलेका थिए ।

अपारदर्शिता भएकै हो ?
पोखरा महानगरपालिकाको आर्थिक अपारदर्शिताको विषयले माहोल निकै तताएको छ । हालैमात्र महालेखापरीक्षकको प्रतिवेदनमार्फत यो विषय बाहिर आएको थियो ।

महालेखाको प्रतिवेदनमा महानगरपालिकाले बुझाएको हिसाब अनुसार उठाउन बाँकी रहेको करिब १३ करोड रुपैयाँले महानगरपालिकामा पनि आर्थिक लेनदेन उधारोमा चल्ने गरेको खुलासा भएको थियो । यो रकम उठ्न बाँकी नभइ देखाएको मात्र हो कि भन्ने आशंका गरिएको छ ।

आर्थिक बर्ष २०७५–७६ को कारोबारलाई महालेखाले साट्न बाँकी रकम भन्दै देखाएको करिब १३ करोडको हिसाब अनुसार १३ करोड रुपैयाँ खै ? भन्दै सरोकारवाला निकाय तथा स्थानीय स्तरबाट गुनासो बढेसँगै यो विषय उत्कर्षमा पुगेको छ ।

गत असार २५ गते महालेखाको अन्तिम प्रतिवेदनमा उल्लेख गरिएको साटिन बाँकी चेकको रकम १२ करोड ४४ लाख पाँच हजार नौ सय तीन रुपैयाँ अन्तर्गत महानगरपालिकाबाट असारको अन्तिममा जारी गरिएका खर्चको चेक अनुसार सो रकम एक महिना भित्र साटिने ब्यहोरासहित प्रतिबेदनमा उल्लेख गरिएको थियो ।

महानगरपालिकाको यति ठूलो बेरुजू रकम कहिले र कस्ले उठाउने हो भन्ने अन्यौलमा रहिरहेका बेला यो विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पुगिसकेको छ ।

पोखरा महानगरपालिकाको राजस्व शाखाले यसरी उधारो चेक कारोवार गर्ने गरेको पटक पटक पाइएको छ । करिब १३ करोड रुपैयाँ बराबरको उधारो कारोवार हुँदा पनि वेवास्ता गर्नुले राजश्व शाखाको नियतमाथि प्रश्न उठेको छ । योसंगै राजश्व शाखामा हाल अर्कै कर्मचारी खटाइएको छ ।

अब उठ्न बाँकी रहेको बेरुजु करोडौं रुपैयाँ महानगरपालिकाले कसरी मिलान गर्छ रु त्यो हेर्न बाँकी छ । योसंगै स्थानीय निकाय भित्र हुने आर्थिक अपारदर्शिताको चरम लापरवाही कति हुन्छ भन्ने विषय छर्लङ्ग पारिदिएको छ ।
मेयर जिसीको भनाई भिडियोमा हेरौं

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ