काठमाडौं । सरकारले आन्दोलनरत संघीय गठबन्धनलाई वार्तामा आउन फेरि आह्वान गरेको छ । शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलनरत पक्षका मागमा सरकार अति लचक हुने भन्दै वार्तामा आउन आह्वान गरेको हो ।
सरकार आन्दोलनरत पक्षका माग सम्बोधन गर्न तत्पर रहेको बैठकपछि सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री शेरधन राईले बताए । राईले भने, ‘सरकारले मधेशी मोर्चासहितका दललाई विगतमा पनि पटक–पटक लिखित रुपमा वार्ता र संवादमा बसी उपयुक्त निकासका लागि आग्रह गरिसकेको सन्दर्भमा फेरि एकपटक अधिकतम लचकताका साथ सरकार सबै कुरा सुन्न तयार छ र तत्कालै निकासमा पुगेर राष्ट्रिय पुनःनिर्माण र संविधानको कार्यान्वयनलगायतका विषयमा केन्द्रित हुन सरकारले सबैलाई आग्रह गरेको छ ।’
यसअघि, आन्दोलनरत पक्षसंग वार्ता गर्न गठित राजनीतिक समितिका संयोजक एवं उपप्रधानमन्त्री कमल थापाले पत्राचार गरी वार्ताका लागि डाकेका थिए । यद्यपि, संघीय गठबन्धनमा रहेका दलहरुले आधारहिन वार्तामा नबस्ने भन्दै सिंहदरबार घेराउ देखि बालुवाटार घेराउ सम्म गरे ।
सरकारले भर्खरै श्रीलङ्कामा गएको बाढी, परिहोबाट भएको क्षतिको अवस्थालाई ध्यानमा राखी नेपाल सरकारको तर्फबाट एक लाख अमेरिकी डलर (करिब १ करोड) रुपैयाँ बराबरको सहयोग गर्ने निर्णय गरेको छ । त्यसैगरी लुम्बिनी अञ्चल अस्पताललाई एक सय शैयाबाट तीन सय शैयाको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको सञ्चारमन्त्री राईले बताए । शनिवार बुद्धको जन्मस्थल लुम्बिनीमा हुने विशेष समारोलाई मध्येनजर गर्दै लुम्बिनी क्षेत्रको विकासका लागि सरकार गम्भीर रहेको संदेश दिन यो निर्णय भएको बैठकमा सहभागि मन्त्रिहरुले जनाएका छन् ।