कालिकोट । विहीबार राति परेको भारी वर्षापछि आएको बाढीमा परी ४ जनाको मृत्यु भएको छ भने ३ जना वेपत्ता भएका छन् । कालिकोट जिल्लाको कोटवाडा गाविस ४ र ५ मा पर्ने लालीघाट र गेज बजारका व्यापारीहरु बाढीको चेपेटामा परेका हुन् । मध्यरातमा सुतिरहेको अवस्थामा धौलागोह गाविस–८ का लक्ष्मण भण्डारी, स्यूना गाविस –५ निवासी धनमती टमट्टा र स्यूना गाविस –३ का हरि बिक र थिर्पु ६ की ५ वर्षीया बालिका सुविस्ना बमको बाढीमा परेर मृत्यु भएको हो ।
राति एक्कासी आएको वर्षाको बाढी बजारका पसलमा पसेपछि भाग्न लाग्दा उनीहरुको मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । बाढीमा परी मृत्यु भएका लक्ष्मण भण्डारीको शव आफ्नो पसलभन्दा एक सय मिटर पर भेटिएको थियो भने, हरि बिकको शव पसल भन्दा दुई सय मिटर पर भेट्टिएको प्रहरीले जनाएको छ ।
धनमती टमट्टालाई भने सुतीरहेको अवस्थामा नै बाढीले बगाएको हुनसक्ने प्रहरीको अनुमान छ । उनको शव पसलभन्दा एक सय मिटर तल कर्णाली नदीमा आधा पुरिएको अवस्थामा भेट्टिएको थियो । ५ वर्षिया बालिका सुविस्नाको शव भने पसलमै पुरिएको अवस्थामा शुक्रबार दिउँसो मात्र नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको सहयोगमा निकालिएको थियो ।
बाढीमा रकू–१ का मनीराम जैसी, स्यूना –२ का सञ्जिते टमट्टा र बाजुरा गोत्री–१ का अभिषेक सार्की वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य भइरहेको कालीकोटका प्रमूख जिल्ला अधिकारी प्रदीप श्रेष्ठले जानकारी दिए । बाढीमा एकै परिवारका चार जना सहित ६ जना घाइते भएका छन्, भने गेजबजारका ३० वटा पसलमा पूर्ण रुपमा र बाँकी सबै पसलमा आंशिक क्षती पुगेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक किसनसिंह बुडालले बताए ।
लालिघाट र गेजबजार दुबै कालिकोटका १७ गाविस, बाजुरा र हुम्लाका मानिसहरुको हाट बजार हो । कर्णाली राजमार्गको विकाससंगै कैलाली, सुर्खेत र नेपालगन्जका व्यापारीहरु व्यापार गरी बसेका छन् । कर्णाली कोरिडोर अन्तर्गत यी बजारभन्दामाथि भिरालो र सुख्खा ठाउँ भएकाले बाढी र पहिरोको जोखिम छ । यहाँको भौगोलिक विकटताका कारण बजारहरु स्थानान्तरण गर्ने विषय बेलाबेला उठेपनि व्यापारीहरुले अन्त जान मानेका छैनन् ।
विहीबारको बाढीले बजारमा रहेका व्यापारी सामानहरु ढुवानी गर्ने खच्चरहरु पनि थुप्रै मारेको हुन सक्ने र चौपायाहरु पनि बगाएको हुनसक्ने स्थानीयको शंका छ । झण्डै ३ सय बढी पसलहरु रहेका यी बजारहरुमा खानेपानीको स्रोत नभएकाले यहाँका बासिन्दाहरु कर्णाली नदीको पानी पिउँदै आएका छन् वर्षाले बगाएका चौपायाहरु नदीमा भएको र पानी निकै धमिलो भएकाले खानेपानीको समेत समस्या भएको छ । खानेपानीको वैकल्पिक स्रोत नभएपछि सो क्षेत्रमा महामारी फैलिनसक्ने भन्दै स्थानीय प्रशासनले सजगता अपनाएको छ । गेजबजारका स्थानीयबासीका लागि नेपाली सेनाको कर्णाली करिडोर निर्माण युनिटबाट एक साताका लागि पानी उपलब्ध गराउने बताइएको छ ।
यसैबीच शुक्रबार बसेको दैवी प्रकोप उद्धार समितिको बैठकले मृतकका परिवारलाई काजकिरिया खर्च वाफत प्रतिव्यक्ति ४० हजारका दरले आर्थिक सहयोग गर्ने, खानेपानीको लागि नागरिकहरुलाई सचेतना गराउने तथा जिल्ला स्वास्थ्य कार्यालयबाट पानी शुद्धिकरण सामाग्री उपलब्ध गराउने, घाइतेहरुको उपचार गर्ने र वेपत्ताहरुको खाजीको तीब्रतालाई निरन्तरता तथा पीडितहरुलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
काँग्रेसबाट दुःख व्यक्त
नेपाली काँग्रेस कालिकोटले विहीबार राति लालीघाट र गेजबजारमा आएको बाढीले भएको जनधनको क्षतीले पार्टीलाई मर्माहत बनाएको बताएको छ । बाढीमा परी ४ जनाको मृत्यु ३ जना वेपत्ता, ६ जना घाइते तथा करोडौको क्षतीले स्तब्ध बनाएको कांग्रेसले जनाएको छ । नेपाली काँग्रेस कालिकोटका सभापति हर्षबहादुर वमले शुक्रबार एक शोक वक्तव्य जारी गर्दै मृत्यु भएकाप्रति श्रद्धाञ्जली र उनीहरुका आफन्तप्रति समवेदना प्रकट गर्दै वेपत्ताको खाजी कार्य, पीडितलाई राहत उपलब्ध गराउन सरकारसंग गरेका छन् ।