नेपालको इतिहासमै पहिलो पटक हुन लागिरहेको निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनले निजामती प्रशासन पछिल्लो समय अति व्यस्त बन्न थालेको छ । शाखाअधिकृत तह तथा सो भन्दा तल्लो तहका कर्मचारीहरु मात्रै सहभागी हुन पाउने सो निर्वाचन तीन पटक सारेर सरकारले पछिल्लो पटक आउँदो जेठ १९ गतेको लागि निर्धारण गरेको छ ।
यो निर्वाचनको मिति नजिकिएसँग आ–आफ्ना पक्षका कर्मचारीहरुमाझ भोट माग्न आउने र जानेको पनि ठूलै लर्काे देखिनेगरेको छ । तर, निजामती कर्मचारीहरु यसरी राजनीतिक विचारधाराको आधारमा संगठित हुनु नै राम्रो नभएको आलोचना पनि हुने गरेको छ । यसै सन्दर्भमा नेपाल निजामती कर्मचारी युनियन संघका महासचिव जीत बहादुर मडैसँग निर्वाचनको सेरोफेरोमा रहेर हाम्राकुरा डट कमका लागि सुदर्शन अर्यालले गरेको कुराकानीको सम्पादित अंश :
निजामती कर्मचारीको निर्वाचनको चटारोले त कर्मचारीहरू कार्यालयमा भेटिनै छाडेछन् नि ? लामो संघर्ष पछि निर्वाचन हुनलागेको भनेर भोटमाग्न लागे कि के हो ?
हामी निजामती कर्मचारीहरूको पहिलो पटक हुन लागेको आधिकारिक ट्रेड युनियनको निर्वाचानको रौनकले आम कर्मचारीलाई छुनु त स्वभाविकै कुरा हो । किनभने ‘आ–आफ्नै बाजा, आ–आफ्नै तालमा’ लागेर हिँडेका हामी कर्मचारीहरूले निजामतीहरूको एकै प्रकृतिका अधिकार प्राप्तिको लागि एउटै बाटोबाट अघिबढ्नुपर्ने आवश्यकता देखेर आधिकारिक ट्रेड युनियनको अवधारणा ल्याएका हौं ।
यस्तो निर्वाचन हुन नदिन कतिपय राजनीतिक तहलाई नै हाम्रै कर्मचारी साथीहरूले उकासेर पटकपटक निर्वाचन सारियो र पछिल्लो पटक निर्धारित मितिबाट फेरि पनि स्थगित गरिएन भने यही जेठ १९ गते आधिकारिक ट्रेड युनियनको निर्वाचन हुँदैछ । अब कुरा आयो भोट माग्न कर्मचारीहरू कार्यालय छाडेर हिँडेको भन्ने कुरा, यसमा पदाधिकारीहरूलाई भोट माग्न जान पाउने कुरा त ऐनले नै निर्धारण गरेको छ, त्यसैले हामी त अवश्य पनि भोट माग्न हिँड्ने गरेका छौं । तर, हामीले पदाधिकारी बाहेकका साथीहरूलाई भने कार्यालयको काम प्रभावित हुनेगरी युनियनको काममा नहिँड्न आग्रह गरेका छौं र त्यसरी हाम्रा साथीहरू भने हिँडेका पनि छैनन् ।
यो तेस्रो पटक मिति तोकिएको छ जेठ १९ को लागि, यस भन्दा अगाडि दुई पटक मिति सारियो । तर, निर्वाचनमा उम्मेदवारी दिएका कुनैपनि संगठनसँग एक वाक्य पनि सोधिएन भन्ने सुनिन्छ, किन सारियो पटकपटक यो निर्वाचन ?
यो कुरामा हामी पनि आश्चर्य चकित छौं । सरकार आफैं निर्वाचनको प्रस्ताव गर्छ, त्यसपछि हामी सोही मितिको लागि तयारी गर्छौँ, अन्तिम घडीमा सरकार आफैं मन्त्रिपरिषद्मा प्रधानमन्त्रीबाटै एजेण्डा प्रस्तुत गरेर निर्वाचन सारिदिन्छ । यसमा हामीलाई आधिकारिक जानकारीहरू नआएको भएपनि केही आशंकाहरू के लागिरहेको छ भने यो निर्वाचन सार्नुमा या त सरकारका मन्त्रीहरूको नै षड्यन्त्र हो । जसले कर्मचारीहरूको निर्वाचन र निजामती कर्मचारीहरूलाई हक र अधिकार दिनै चाहँदैन । या त निर्वाचनको घेरामा घेरिन नचाहने सरकारवादी दलसँग निकट केही सीमित कर्मचारी साथीहरूकै कारण सरकारलाई यस्तो निर्णय गर्न दबाब दिईएको हो ।
हामीले कर्मचारीहरूको रोजाई भित्र पर्ने सीमित संगठनले मात्रै वैधानिकता पाउनेगरी २० प्रतिशतको थ्रेसहोल्डको माग ग¥यौं । तर, एमाओवादीसँग निकट कर्मचारी संगठनले यसमा विरोध गर्यो । त्यसैको परिणाम स्वरूप निर्वाचन समेत स्थगित हुन पुग्यो । तर, हामी प्रजातन्त्रमा विश्वास राख्ने ट्रेड युनियन, निर्वाचनबाटै अर्थात् धेरै भन्दा धेरै कर्मचारीको मन जितेर नै नेतृत्व गर्न सकिन्छ र कर्मचारीको अधिकारको लागि काम गर्न सकिन्छ भन्ने सोचाई भएको हुनाले हामी जतिसुकै षड्यन्त्र गरिए पनि प्रजातान्त्रिक विचारधाराका कर्मचारीहरूलाई परास्त गर्न जतिसुकै जालझेल र षड्यन्त्र रचिएपनि हामी निर्वाचनबाट पछि हट्दैनौं । अरूसँग सरकार छन् भने हामीसँग कर्मचारी छन्, सरकारले निर्वाचन गराउन सक्छ तर निर्वाचन जिताउन सक्ने भनेको मतदाता कर्मचारीले मात्रै हो जुन हामीसँग पर्याप्त छ । त्यसैले, जतिसुकै षड्यन्त्र गरेपनि हामीलाई कसैले कमजोर बनाउन सक्दैन ।
तपाईँहरू आफूलाई ‘निजामती कर्मचारी भनेको स्थायी सरकार हो’ भन्नु हुन्छ । यो सबैले मानेकै कुरा पनि हो, अनि सरकारले पनि राजनीतिक दलको छत्रछायामा बसेर राजनीति गर्दा ध्वस्त हुँदैन निजामती प्रशासन ?
हामी अहिले पनि स्वतन्त्र विचार र स्पष्ट लक्ष्य लिएर अघि बढीरहेका छौं । हामी कुनैपनि राजनीतिक दलको दौरा समातेर पछि लागेका छैनौं, अब कुरा आयो कुनै पनि राजनीति विचारसँग निकट हुने कुरा, २०४८÷४९ तिर तात्कालीन एमाले महासचिव मदन भण्डारीले राज्य सत्तामाथि कब्जा गर्ने दुई वटा हतियार आफूसँग रहेको तर्क गरेका थिए, एउटा कर्मचारी र अर्काे मजदूर । उनले त्यसो भनेसँगै कर्मचारीहरूमा फाटो आउन थालेको हो ।
त्यतिबेला गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारलाई एक महिना पनि हामी टिक्न दिँदैनौं २९ दिनमा नै ढाल्छौं भनेर बामपन्थी विचार धाराका कर्मचारीहरूले सरकारलाई असहयोग गर्न थालेपछि हामीले पनि प्रजातान्त्रिक विचार बोकेका कर्मचारीहरू एकजूट हुनुपर्छ भन्ने सोचेर यो संगठन खोलेका हौं । हामीलाई राजनीतिको छत्रछायामा रहेर निजामती कर्मचारीलाई ‘यो फलानो पार्टीको कर्मचारी हो’ भन्ने बनाउन आवश्यक थिएन र छैन पनि । तर, कुनैपनि संगठन राजनीतिको दौरा समातेर अर्काे विचारका कर्मचारीप्रति अनुत्तरदायी बन्न थालेपछि हामीले पनि प्रजातान्त्रिक विचारधाराको जग बसालेका हौं ।
यदि कुनै निजामती कर्मचारीले सोध्यो तपाईलाई ‘मैले युनियनमा नै किन भोट हाल्ने ? ’ भनेर, त्यसमा तपाईँको उत्तर के हुन्छ ?
हो, यो कुरा सबैले बुझ्ुपर्नेछ । यत्तिका कर्मचारी युनियनमा हाम्रै युनियनलाई नै किन भोट हाल्ने भनेर भन्दा मैले जहिले पनि भन्ने गरेको छु कि निजामती कर्मचारीलाई आधिकारिकता दिन, हामीलाई आफ्नो हक र हितको लागि ट्रेड युनियन खोल्ने अधिकार कसले दियो ? त्यो बुझ्नु जरूरी छ । अहिले आएर हामीले यो गर्यौं, हामीले कर्मचारीको एक हजार तलब बढायौं भनेर मात्रै हुन्छ ? हामीलाई जनआन्दोलनमा तात्कालीन विपक्षी एवं सात दललाई कर्मचारीहरूले गरेको अतुलनीय सहयोगको कदर गर्दै तात्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दिएको अधिकार हो यो ।
तात्कालीन समयमा बामपन्थी विचारबोक्नेहरू यसको पुरापुर विपक्षमा थिए । देख्नुभयो होला नि अहिले पनि पटक पटक चुनाव सारेर सकेसम्म कर्मचारीहरूको चुनावै नगराउने र कर्मचारीले पाएको अधिकार पनि खोस्ने पक्षमा लागिरहेको । पहिले यही प्रक्रियाको विरोध गर्नेले ट्रेड युनियनबाट निजामतीको अधिकारलाई स्थापित गराउन सक्छन् त ? यति त राष्ट्रसेवक कर्मचारीहरूले अवश्य पनि बुझ्छन् नि । अनि तपाईले भने झै कसैले प्रश्न गर्छ भने म उसैलाई यो प्रश्न गर्छु कि तपाईलाई ट्रेड युनियनको स्थायित्व चाहिन्छ कि चाहिँदैन ?
तपाईँलाई आफ्नो अधिकारको लागि लड्ने एउटा सक्षम नेतृत्वको आधिकारिक ट्रेड युनियन चाहिन्छ कि चाहिँदैन ? चाहिन्छ भने हाल्नुस् युनियनलाई भोट, होईन भने जे गरे पनि हुन्छ ।
फेरि पनि निर्वाचन सर्यो भने के गर्नुहुन्छ तपाईहरू ?
हामीले अहिले त्यो सोचाई लिन मिल्दैन । किनभने सरकारले १९ गते निर्वाचन गर्ने भनेको छ । हामी तयारी गरिरहेका छौं । किनभने पहिले यो प्रक्रियाको विरोध गरिरहेको माओवादी निकट कर्मचारीहरूले पनि १० प्रतिशत थ्रेसहोल्ड राख्ने भएपनि आफ्नो प्रचारप्रसार गर्न थालिसक्नुभएको छ । त्यसैले सम्भवतः यो नसर्ला, तर प्रजातान्त्रिक कर्मचारीहरूलाई परास्त गर्न विविध षड्यन्त्रहरू रचिँदै आएको छ । तर, अब पनि हामीलाई कमजोर बनाउनैको निम्ति निर्वाचन स¥यो भने हामी अदालत जान्छौं, सहेर बस्दैनौं ।
तपाईंले त निर्वाचन भन्दा अगाडि नै अघि भन्नुभयो हामी जित्छौं कर्मचारी हामीसँग छन् भनेर कसरी ?
एउटा त प्रजातन्त्रवादी बामपन्थी विचार निकटका कर्मचारीहरूबीचको भिन्नता सबैले बुझेका छन् । हामीले कर्मचारीको लागि कति लडेका छौं, हामीले कर्मचारीहरूको लागि अधिकार कति दिलाएका छौं र अरूले कति दिएका छन् भन्ने कुरा पनि सबैले बुझेका छन् । त्यसैले पनि अहिले रहेका कूल ५०÷५५ हजार जति कर्मचारीमा झण्डै आधा भन्दा बढी त हाम्रा समर्थकहरू नै छन् भन्ने हाम्रो प्रारम्भिक सर्भेक्षणले देखाएको छ र अझ तपाईँले निर्वाचनको दिन देख्नुहुनेछ कि अन्य संगठनको भोटमाग्दै हिँडेका कर्मचारीहरूले पनि भोट हाल्ने बेलामा युनियनको संकेतमा छाप लगाउनेछन् र युनियनलाई अत्यधिक मतले विजयी गराउनेछन् । त्यसैले हाम्रो जीत निश्चित छ भनिएको हो । अर्काे कुरा हामी प्रजातन्त्रबादीहरू जहिलैपनि कर्मचारी(मतदाता)हरूप्रति समर्पित भएका हुन्छौं र हुनैपर्ने पनि हुन्छ किनभने हामी निर्वाचनमा निष्पक्ष मतको अपेक्षा राख्नेहरू पटकपटकको निर्वाचनमा तिनै मतदाताको हात रहन्छ भन्ने कुरा पनि कहिलै विर्सिँदैनौं ।
अन्त्यमा मतदाताहरूलाई के भन्न चाहनुहुन्छ ?
अन्त्यमा, देशभर रहेका हाम्रा मतदाताहरूलाई यो आधिकारिक ट्रेड युनियनको निर्वाचन नेपालको इतिहासमा पहिलो पटक भएको निर्वाचन हो । यो निर्वाचनबाट आउने नेतृत्वले यसलाई स्थापित गराउन सकेन भने यस्तो अवसर भविष्यमा दोहोरिन्छ नै भन्न सकिने अवस्था रहेको छैन । जुन आमाले जन्माएको हो बच्चाको माया त्यही आमालाई बढी हुन्छ । प्रजातन्त्रवादीहरूले जन्माएको यो अवधारणालाई स्थापित गराउन प्रजातन्त्रवादी बाहेक अरूको सामथ्र्य छैन । मुर्खता नगरौं यो निर्वाचनमा नेपाल राष्ट्रिय निजामति कर्मचारी युनियन (संघ)लाई नै मतदान गरौं भन्न चाहन्छु ।