काठमाडौं । नेपाली काँग्रेसको नयाँ नेतृत्व चयन भएपछि जुन तरिकाले काम होला भन्ने ठानिएको थियो, त्यो अनुसारको नभएको भन्दै पार्टी भित्र असन्तुष्टी र निराशा बढ्दै जान थालेको छ । कुनै पुर्वाग्रह नराखी चाँडो निर्णय लिन सक्ने निडर नेताको रुपमा चित्रित गर्दै १३औं महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति बनाउन लागिपरेकाहरु नै अहिले भने जस्तो भएन भन्दै निराश हुन थालेका हुन् ।
“उहाँ पहिला पहिला त निकै तिव्रताका साथ परिपक्व काम गर्ने व्यक्ति हुनुहुथ्यो, तर अहिले भने किन किन उहाँको तिव्रता पनि हरायो, परिपक्वता पनि देखिएन”, देउवा निकट नेताहरु भन्छन् ।
“धेरैचोटीको पराजयबाट पनि विचल्लीत नभई पार्टीमा निरन्तर क्रियाशिल भईरहेकाले काम गर्ने अवसर दिनु पर्छ भन्दै अत्याधिक वहुमतका साथ पार्टीको सभापति र संसदीय दलको नेता बनायौं, तर उहाँ अहिले के कति कारणले अल्झीनु भएको छ, हामीले नै बुझ्न सकेका छैनौं,” एक नेताले भने ।
महाधिवेशनका बेला देउवालाई सहयोग गरेका नेता खुमबहादुर खड्का प्रति लक्षित गर्दै ति नेताले थपे, “हाम्रो बुझाईमा उहाँ अहिले अस्थीरतावादी शक्तिसंग डराईरहेको हुन सक्छ, त्यसरी डराएर निर्णय गर्न सक्नु भएन भने काम गर्न सक्नुुहुन्न, ठिक समयमा ठिक निर्णय गर्ने उहाँको जुन विषेशतालाई हामीले मानेका थियौं, त्यही विषेशता हरायो भने हाम्रो पनि मुख बन्द हुन्छ, त्यस्तो नगरिदिए हुन्थ्यो । ”
काँग्रेसलाई जस्ले आर्थिक आर्जनको थलो बनाएर बदनाम गराए, तिनैसंग किन डराउनु ? किन खुट्टा कमाउनु ? उनले प्रश्न गरे । खड्काको सट्टमा निश्कलंकीत, निःश्वार्थी र भविश्य राम्रो भएका नेताहरुलाई साथमा लिए राम्रो हुने उनले सुझाव दिए ।
देउवाले खड्काको दवावमा निर्णय गरेर कतै विगतमा निःस्वार्थ तरिकाले सहयोग गरेका स्थायी सहयोगीहरुलाई पछुतोमा पार्ने हुन् की भन्ने चिन्ता पनि देउवा निकट नेताहरुमा देखिएको छ ।
“गोपालमान श्रेष्ठ, बालकृष्ण खाँड, चन्द्र भण्डारी, विश्वप्रकाश शर्मा, मानवहादुर विश्वकर्मा, ज्ञानेन्द्र बहादुर कार्की, पद्मनारयारण चौधरी, फरमुल्लाह मन्सुर, केशवकुमार बुढाथोकी, अमृत अर्याल लगायतको मनले के भन्ला ?” उनले चिन्ता व्यक्त गरे ।
फास्ट ट्रयाकको बारेमा पार्टी सभापति तथा संसदीय दलका नेता देउवाले संसदमा बोलेको कुरालाई उनीहरुले दाँतमा ढुङ्गा लागे जस्तो असजिलो महशुष भएको बताएका छन् । “फाष्ट्याकको बारेमा त्यसरी बोल्न के को वाध्यता पर्यो उहाँलाई ? कस्ले फसायो ? उहाँले त्यो पहिचान गर्न नसक्नु ठुलो कमजोरी देखियो,” उनले भने,
“शव्दशव्द केलाएर हेर्ने देउवालाई कस्ले झुक्यायो, तिनलाई नचिन्दा सम्म उहाँको भलो हुदैन, आफ्नो स्वार्थका लागि सभापतिजीलाई प्रयोग गरेको पाईयो, त्यस्ताबाट उहाँ सतर्क हुनुपर्दछ ।”
पार्टीको विधानमा महाधिवेशन भएको दुई महिना भित्रमा मनोनित सवै पदमा मनोनयन गरिसक्नु पर्ने व्यवस्था भएपनि गर्न नसकेको र प्रभावकारी प्रतिपक्षीको भुमिका पनि देखाउन नसकेको भन्दै अन्य पक्षबाट आलोचना भईरहेका बेला आफ्नै पक्षबाट असन्तुष्टीको आवाज वाहिर आउन थालेको हो ।