arrow

एमाले र माओवादी केन्द्रका सांसदहरुबीच जस लिने होड

निजगढमा हुने विशेष छलफलबारे माओवादी सांसद् अनविज्ञ

logo
प्रकाशित २०७३ जेठ ९ आइतबार
fast-track-new-FNL.jpg.jpeg
बारा । आफ्नो जिल्लामा आउने विकास निर्माणका कामहरुमा जस लिन माओवादी केन्द्र र एमालेका सांसदहरुबीच जस लिने होड चलेको छ । सरकारले अघि बढाएको राष्ट्रिय गौरवको आयोजनाको विषयमा सांसदहरुबीच जस लिने होड चल्दा एकले गरेको कार्यक्रमको जानकारी अरुलाई हुन पनि छोडेको छ । एमालेका सांसदहरुले गर्ने कार्यक्रममा माओवादी सांसद्लाई जानकारी नै नगराएको र ढीलो गरि जानकारी दिएको खुलासा भएको छ । 
 
बाराको निजगढमा २ नम्बर प्रदेशको विकासमा केन्द्रित भएर सांसदहरुले छलफल गर्ने भनिएको विशेष छलफलमा बारा र रौतहटका माओवादी सासंदले आफुहरुलाई जानकारी नभएको बताएका हुन् । बारा, पर्सा र रौतहट लगायत २ नम्बर प्रदेशमा रहेका राष्ट्रिय गौरवका योजना सञ्चालनका विषयमा छलफल गर्न बारा क्षेत्र नं. ६ का एमाले सांसद पुरुषोत्तम पौडेलले गठन गरेको संसदीय सरोकार समितिले सोमबार छलफल गर्न लागेको हो । अन्तर्राष्ट्रिय स्तरको विमानस्थल, काठमाडौं–निजगढ द्रुतमार्ग, हुलाकी मार्ग, विशेष आर्थिक क्षेत्र सेज, रेलमार्ग, कृषि, पर्यटन लगायत क्षेत्रको विकासका विविध विषयमा समितिले छलफल गर्ने तयारी गरेको छ ।
 
संसदको अन्तर्राष्ट्रिय श्रम तथा सम्बन्ध समितिका सभापति समेत रहेका नेकपा माओवादी केन्द्रका रौतहटका सासंद प्रभु साहले आफुलाई कार्यक्रमबारे जानकारी नभएको बताए । उनले काम धेरै अघि बढेको अवस्थामा जस लिने उद्देश्यले सांसद पौडेलले कार्यक्रम राखेको हुन सक्ने भन्दै उनीप्रति कटाक्ष गरे। उनले थपे, ‘विकास निर्माणमा राजनीति गर्ने काम भएको छ ।’
 
त्यस्तै, नेकपा माओवादी केन्द्रका बाराका सभासद् दिलमाया धामीले कार्यक्रम राख्नु राम्रो भए पनि जानकारी नै नगराई सहभागि हुने भनेर प्रचार गरिनु गलत भएको बताए । सासंद डा.उषाकिरण अन्सारीले पनि कार्यक्रम हुदैँछ भन्ने जानकारी गराए पनि कार्यक्रमका विषयमा छलफल नै नगरी कार्यक्रम गरिन लागेको बताईन् । 
 
पौडेलले भने काम गर्नेले जस लिने भन्दै कार्यक्रममा सहभागि भएर राजनीति नगर्न सामाजिक सञ्जाल फेसबुकबाटै भनेका छन् ।उनले बारा, पर्सा, रौतहट देखि महोत्तरी जिल्लासम्मका सांसदहरुसंग छलफल गरेर कार्यक्रम तय गरेको बताए पनि सांसदहरुले भने त्यसमा अनविज्ञता जनाएका छन् । कार्यक्रम पूर्व प्रधानमन्त्री एवं रौतहट १ का सांसद माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा गराउने तयारी पौडेलले गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ