arrow

गोकुल बाँस्कोटालाई चोख्याउने प्रकरणमा जोडिएको नेक्सस

ढाल बनेको मूलधारको चोख्याउकारिता

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ १४ आइतबार
Gokul-Baskota.jpg

काठमाडौं । छिमेकी मुलुक भारतमा बलिउडका नायक सुसान्त सिंह राजपुतको मृत्युको बिषय अहिले त्यहाँको केन्द्रीय अनुसन्धान व्यूरो सीबीआईले अनुसन्धान गरिरहेको छ । यहि अनुसन्धानकै क्रममा त्यहाँका मिडियाहरुमा सो बिषयले प्रधान प्राथमिकता पाएको छ। मिडियाहरुमा पनि कस्ले एक्सक्लुसिभ सूचना, जानकारी र अन्तर्वार्ता पस्किने होड छ । उनकी केटी साथी रिया चक्रवर्तीको अन्तर्वार्ता एक नीजि टेलिभिजन च्यानलले प्रसारण गरेपछि भने भारतीय मिडिया ल्याण्डस्केपमै हलचल देखा पर्‍यो । सबै टीभी च्यानलहरु टीआरपीकै लागि लागिपरेपनि सो अन्तर्वार्ता प्रसारण गर्ने च्यानललाई टीआरपीको लागि आरोपितलाई प्रष्टिकरणको मौका दिएको आरोप अन्य मिडियाले लगाए । अन्तर्वार्ता प्रसारण गर्ने च्यानलले नभन्दै राम्रै टीआरपी पायो पनि । आरोपित व्यक्तिसँगको सुपर एक्सक्लुसिभ अन्तर्वार्ताका नाममा आएको कन्टेन्ट पछि पनि सो च्यानल दवावमा भने पर्‍यो । जस्को प्रमाण त्यसपछि उसले रिया चक्रवर्ती र सुसान्त सिंहबीचको अडियो लगायतका अन्य दस्तावेज सार्वजनिक गर्नु परिरहेको छ । 
    
नेपालमा टीआरपीको लडाई मिडियाहरुमा खासै पाइन्न । कतिपय संस्थाहरुले मिडियाको टीआरपी मापन गरेपनि त्यो संस्थाको व्यवस्थापकीय र मार्केटीङका केही व्यक्तिहरुको चासोको विषय रहन्छ । यो सार्वजनिक छलफलको विषय खासै बनेको पाइन्न । कुनै विषय कुनै पनि मिडियाले उठाएको अवस्थामा त्यसमा फलोअप अन्य मिडियाले उठाएको पाइन्छ । सार्वजनिक हितको बिषय छ भने एउटाले उठाएको विषय भएपनि अर्को संस्थाले पनि उठाउने सुन्दर चलन नेपालमा पाइन्छ । प्रतिष्पर्धी मिडियाले उठाएको बिषय भएका कारण त्यसको प्रतिवादमा फरक ढंगले उठाउने प्रवृति नेपाली मिडियामा खासै पाइन्न । मिसन जर्नालिजमका लागि खोलिएका केही संस्थाहरु बाहेक मूलधारका मिडियाहरुले एक मिडियामा आएको समाचार खण्डन वा प्रतिवादमा उत्रिएका विरलै घटना छन्, तर केहl समययता भने मूलधारका नामका केही मिडियाहरुको काम भने अन्य संचारमाध्यममा आएका समाचारहरु खण्डन गर्ने र त्यसको प्रतिवाद गर्ने काममा बढी लागेको पाइएको छ । 

आइतवार काठमाडौंबाट प्रकाशित हुने एक दैनिकले पत्रकारिताका नाममा खण्डनकारिता र चोख्याउकारिता गरेको छ । जस्को काम पछिल्ला विवादास्पद ठूला घटनाहरुमा जोडिएका पात्रहरुलाई चोख्याउन आफ्नो सबै सयन्त्र र आफ्ना सबै संचारमाध्यमहरु प्रयोग गर्नु देखिएको छ । पूर्व सभामुखको प्रकरणमा पनि अन्य संचारमाध्यममा आएका समाचारको खण्डन गर्न मैदानमा उत्रिएको सो संचार संस्था सम्बद्ध समुह अहिले ७० करोड कमिसन प्रकरणमा राजीनामा दिएर बसेका पूर्व संचारमन्त्री गोकुल बास्कोटाको ढाल बनेर उनलाई चोख्याउन उद्यत देखिएको छ । गोकुल बाँस्कोटालाई सुनपानीले चोख्याउन उद्यत सोही पत्रिकाको आइतवार प्रकाशित समाचार यसअघी सोही पत्रिकाले प्रकाशन गरेको सम्पादकीयसँग कही कत्ति पनि मेल खाँदैन । भ्रष्टाचार र अनियमिततामा संलग्न मन्त्रीलाई कार्वाही गर्नुपर्ने सम्पादकीय लेखेको सो पत्रिकाले किन अहिले आएर तिनै मन्त्रीको पक्षपोषण गरिरहेको छ आम पाठकले गम्भीर प्रश्न उठाएका छन् । 

कोरोना महामारीकै बीचमा बाँस्कोटाको ढाल बनेर खडा भएको सो पत्रिकाको प्रधान सम्पादकले हुन त सो पत्रिकाबाट राजिनामा दिइसकेका छन् । कोरोना महामारीबाट संकटमा परेका पत्रकार र कर्मचारीहरुलाई तलब कटौती गर्ने र वेतलवी बस्न लगाउने व्यवस्थापनको कुरामा असहमति जनाएका प्रधान सम्पादक हरिबहादुर थापाले राजिनामा दिएपछि अहिले अर्का सम्पादक नियुक्त भएका छन् । सम्पादकको वदलावसँगै पत्रिकाको कन्टेन्टका प्रस्तुतिमा पनि जुन किसिमको वदलाव देखिएको छ यसले आफ्नै पूर्ववत अडानहरुबाट समेत स्खलित भएको देखाएको छ । थापालाई यस्तै काम गर्न नमानेका कारण हट्न वाध्य पार्ने परिवन्द त रचिएको थिएन भन्ने कुरामा पनि पछिल्ला समाचारका कन्टेन्टहरुबाट अनुमान गर्न सकिने भएको छ ।        

भ्रष्टाचारको सन्दर्भमा लेखिएको पटक पटकको सम्पादकीयमा गोकुल बाँस्कोटा होस वा यति समूहको प्रसङग छुटदैन थियो । सम्पादकीयमै भ्रष्टाचारीहरुमाथि कडा टिप्पणी गर्ने सो पत्रिकाको व्यवस्थापन भने आफ्नै पत्रिकामा छापिएको सम्पादकीयको शक्ति केन्द्रहरुमा जवाफ दिदै हिड्न वाध्य थियो । प्रधानमन्त्री केपी ओलीले बेलाबेलामा आफै बाँस्कोटाको बचाउमा अभिव्यक्ति दिइरहेपछि उनीसँगै निकट भनिएका पत्रिका व्यवस्थापनलाई गाह्रो हुनु स्वभाविक पनि थियो । यही भएर पनि सायद प्रधान सम्पादक थापा सो पत्रिकाको व्यवस्थापनको आँखामा विझाएका थिए । सो पत्रिकाको व्यवस्थापनले भ्रष्टाचारका आरोपित आफ्नै जिल्लावासी तथा गहिरो राजनीतिक सम्वन्ध भएका बाँस्कोटालाई वैतर्णी तार्दा नै अन्य लाभ हुने जोडघटाउ सायद गरेको थियो । त्यसमाथि आफूलाई दाई भन्ने बास्कोटालाई सुन पानीले चोख्याउन प्रयत्न गर्नु शरणको मरण नगर्नु हुन्थ्यो होला । त्यसकारण पनि आइतवार बेनामी समाचार प्रकाशन गरेर बाँस्कोटालाई चोख्याउन हदै प्रयत्न भयो ।  

यो समाचार यस्तो समयमा आएको छ जतिखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सत्तरी करोड काण्डका आरोपित पूर्व संचारमन्त्री बाँस्कोटालाई उन्मुक्ती दिने तयारी गरेको छ । यो त्यहि अख्तियार हो जस्का प्रमुख नविन घिमिरे अझै पनि अख्तियारमा प्रमुख आयुक्त हुन लालायित छन् । अनि बाँस्कोटालाई चोख्याउने समाचार छाप्ने पत्रिका त्यहि पत्रिका हो जस्का प्रमुख कार्यकारी अधिकृत मानस घिमिरे उनै अख्तियारका प्रमुख आयुक्त घिमिरेका छोरा हुन् । अख्तियार प्रमुख घिमिरे, पत्रिकाका प्रकाशक, पत्रिकाको प्रमुख कार्यकारी अधिकृत घिमिरे सबैको एउटै मात्र उद्धेश्य बाँस्कोटालाई चोख्याउन आफ्नो तर्फबाट योगदान गर्नु नै हो । यसो गर्दा प्रधानमन्त्री केपी ओलीलाई पनि खुसी पार्न सकिने विश्लेषण सो समूहको छ । त्यसैले पनि पत्रिकाका प्रकाशक पटक पटक ओलीकै नीजि निवासमा बस्दै आएका बाँस्कोटालाई भेटन पुग्ने गरेका थिए । 

अख्तियार र अख्तियारसँग जोडिएर हुने राजनीति र भ्रष्टाचारलाई नजिकबाट बुझेकाहरु आइतवार प्रकाशित भएको समाचार संयोग मात्र नभइ नियोजित खेलकै एक हिस्सा मान्छन । त्यसकारण पनि बाँस्कोटालाई चोख्याएर यसको अर्को पाटोको रुपमा रहेका बिजयप्रकाश मिश्रले आफ्नो ज्यान लिने षडयन्त्र भएको भन्दै उजुरी दिदा पनि सुनुवाई भएन बरु उल्टै उनलाई कार्वाही गर्ने तयारीमा सरकार लागेको छ । हजार र लाखका केशमा अल्झिएर करोडौं र अर्बौंको भ्रष्टाचारमा आफै सेटिङमा बसेको आरोप लाग्दै आएको अख्तियारको यो प्रकरणमा सेटिङ र नेक्सस अचम्मकै देखिएको छ । कार्वाही गर्नुपर्ने निकाय नै मिलमतो र चोख्याउने खेलमा लागेपछि उसको लागि गोटी बनेको तथाकथित मूलधारले आफ्नो नाफाघाटा त हेर्ने नै भयो । कुनैबेला नेकपाको नेताहरुलाई वार्ता गर्ने स्थान उपलव्ध गराएका पत्रिकाका प्रकाशक ओली सरकार नेतृत्वमा आएपछि केही किनारामा पारिएको महशुस गर्दै आएका थिए । सरकारी ठेक्कापट्टामा ओम्नी जस्ता समुह हावी भएर किनारामा परिएको महशुस गरेका उनी र उनको समुह यो प्रकरणबाट फेरि मूलधारमा पुग्नेमा विश्वस्त भएरै होला पत्रिकाको आत्मामाथि नै चोट पुर्‍याउन उद्यत देखिएका छन् ।  



लोकप्रिय समाचार
नयाँ