arrow

गोकुल बाँस्कोटा अझै बालकोटमै, लोकन्थलीमा आफ्नै महल

logo
प्रकाशित २०७६ फागुन १२ सोमबार
gokul-baskota-house.jpg

काठमाडौं । कमिशनको बार्गेनिङ गरेको अडियो रकेर्ड सार्वजनिक भएपछि ‘नैतिकताको आधार’ विशेषण जोडेर राजीनामा दिएका निवर्तमान सञ्चार मन्त्री गोकुल बाँस्कोटा अझै प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास भक्तपुरको बालकोटमै बसेका छन्। यद्यपि भक्तपुर मध्यपुर थिमी नगरपालिका १ लोकन्थली मनोहरा फाँटमा उनको भव्य घर बनिरहेको छ। 

उनको घरको ठीक अगाडि मनोहरा फाँटमा दुई वटा ज्येष्ठ नागरिक पार्क छन । पोहरसाल मात्र सो पार्क बनाइएको थियो। बास्कोटका छिमेकीहरुले जनाए अनुसार २०७१ सालमा उनको घर एक तले मात्र थियो । तर अहिले उक्त घरलाई बिस्तार गरी साढे तीन तलाको बनाइँदैछ । अहिले पनि घर निर्माणको काम भइरहेको छ।

भुकम्प आउनुभन्दा करिब एक वर्ष अघि यो घर एक तला मात्र थियो । तर अहिले यस घरमा तला थप्दै साढे तीन तला बनाउन लागिएको छ’ मनोहरा फाँटका एक स्थानीयबासी भन्छन् ‘उनी (बास्कोटा) को घर अगाडि उस्तै खालका दुई वटा फराकिला ठाउँ ओगटेका ज्येष्ठ नागरिक पार्क रहेकोले उनको घर खुला र आकर्षक देखिन्छ ।’ \

मन्त्री भएपछि बाँस्कोटा प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालकोटमा बस्दै आएका छन् । मन्त्रीबाट राजिनामा दिएपछि पनि उनले उक्त घर छाडेका छैनन् । बालकोटका स्थानीयवासीहरुले भने ‘भ्रष्टाचारमा मुछिएका बास्कोटाले तत्काल बालकोट छाड्न भन्ने चाहन्छन्।’ आइतबार दिउँसो र साँझ गरी दुई पटक केही स्थानीयबासीहरु ओली निवास गई बाँस्कोटालाई बालकोट छाड्न आग्रह गरेका थिए। स्थानीयले भ्रष्टाचारीलाई राखेर बाल्कोट प्रदूषित भएको भन्दै तत्काल बाँस्कोटालाई छाड्न भनेका हुन्। बाँस्कोटाको स्थायी घर काभ्रे हो । उनी पहिलेदेखि नै ओली निवासमा बस्दै आएका छन् । 

बाँस्कोटा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपको अडियो टेप हाम्राकुराले ब्रेक गरेपछि पदबाट राजीनामा दिन वाध्य भएका थिए।

यो काण्डमा प्रधानमन्त्री ओलीसमेत मुछिएको हुन सक्ने आशंका गरिएको छ । बाँस्कोटाका निकटस्थहरु उनी आफैले यतिठूलो डिल गर्न सक्ने हैसियतका नभएको बताउँछन्। ओलीले बाँस्कोटाको मुद्दालाई नेकपाले आन्तरिक रुपले छानबिन गर्नु नपर्ने समेत सचिवालय बैठकमा बताएपछि थप आशंकाको घेरामा परेका छन् । 

पहिलो पटक मन्त्री भएका उनी सुरुमा राज्यमन्त्रीको रुपमा नियुक्त भएका थिए । त्यसपछि झण्डै दुई महिनापछि २०७५ को बैशाख ९ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आफ्नो सम्पत्ति विवरण बुझाएका थिए। सो विवरण अनुसार उनी खासै धनी थिएनन् । झण्डै दुई वर्षमा उनी निकै धनी भएको पनि उनको नयाँ ठडिएको महलले देखाउँछ। बाँस्कोटाले त्यतिबेला श्रीमती तारादेवी बाँस्कोटाको नाममा लोकन्थलीमा १२१.२४ वर्गामिटर क्षेत्रफल बराबरको जग्गा रहेको जनाएका थिए। 

यो सम्पत्ति उनले पुख्र्यौली सम्पत्ति बेचेर किनेको विवरणमा उल्लेख छ । त्यस्तै बाँस्कोटाको आफ्नै नाममा बनेपामा १२७.१८ वर्गमिटर (४ आना), श्रीमतीकै नाममा साविकको देवभूमि बालुवामा १०४८.४८ वर्गामिटर (२ रोपनी), साविकको नयाँगाउँ देउपुरमा ३ वटा कित्तामा रहेको ८ रोपनी ३ आना ३ पैसा जग्गा रहेको जनाइएको छ।

बनेपाको जग्गा ३ लाखमा खरिद गरेको र अरु सम्पत्ति पैतृक भएको विवरणमा उल्लेख छ । अचल सम्पत्ति बाहेक बाँस्कोटासँग १७ तोला सुन, ६० तोला चाँदी तथा विभिन्न बैंक तथा वित्तीय संस्था र सहकारी संस्थामा समेत गरी २१ लाख ७५ हजार २९० रुपैयाँ नगद रहेको जनाइएको छ । 

त्यस्तै छोरालाई नर्वे पठाउन कुबेर सापकोटा र विष्णु खनालसँग १५ लाख रुपैयाँ ऋण लिएको देखाइएको छ भने टिभी, आईफोन र ल्यापटपसहित १ लाख ८० हजार रुपैयाँ बराबरको तीन वटा इलेक्ट्रोनिक ग्याजेट रहेको विवरणमा उल्लेख छ । 

सो ग्याजेटहरु साथीभाइबाट उपहार प्राप्त भएको विवरणमा उल्लेख गरिएको छ । 

उनी साथीभाइबाट पाएको ग्याजेट र सुनसमेत दाइजो ल्याएको भन्दै विवरण दिएपछि हाँस्यास्पद पात्र बनेका थिए ।

नेपाल टेलिभिजनमै सम्पत्ति विवरणबारे खरो प्रश्न सोधिएपछि बाँस्कोटाले कार्यक्रम संचालक राजु थापालाई कार्यक्रमबाट निकालेर लोकतन्त्रको खिल्ली उडाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ