arrow

कार्यालय सार्ने विषयमा विवाद, झुण्डियो ताला 

logo
प्रकाशित २०७७ भदौ १५ सोमबार
Ichchhyakamana_Gaunpalika2.png

मुग्लिन । चितवनको एक मात्र इच्छाकामना गाउँपालिकामा तालाबन्दी गरिएको छ । विवादका बीच वडा नम्बर ३ को कार्यालय फिस्लिङ सारेपछि असन्तुष्ट स्थानीयवासीले आइतबार साँझ गाउँपालिकाको कार्यालयमा ताला लगाएका हुन् । 

गाउँसभाले समेत टुङ्गो लगाउन नसकेपछि गाउँपालिकाको कार्यालय भएको भवनमा वडा कार्यालय  सञ्चालन हुँदै आएको थियो । 

सातौँ गाउँसभामा वडा नम्बर ३ को वडा कार्यालय कहाँ राख्ने भन्ने प्रस्तावमा प्रष्ट बहुमत नपुगेपछि चुम्लिङटार र फिस्लिङ कहाँ राख्ने भनेर टुङ्गो लागेको थिएन । 

वडा कार्यालय फिस्लिङ राख्नुपर्ने प्रस्ताव वडाध्यक्ष गोवद्र्धन अधिकारीको थियो भने चुम्लिङटार हुनुपर्ने प्रस्ताव वडा सदस्य डिलबहादुर चेपाङको रहेको थियो । 

दुवै प्रस्तावमा जनप्रतिनिधिहरुको सङ्ख्याबाट बहुमत नपुगेपछि वडा कार्यालय कहाँ रहने भनी टुङ्गो लाग्न सकेको  थिएन ।  

असन्तुष्ट स्थानीयवासी शिव पौडेलले कोरोनाका कारण निषेधाज्ञा जारी रहेको समयमा वडा कार्यालय फिस्लिङ नै स्थायीरूपमा सार्ने मनसायले गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालको मिलेमोतेमा वडाध्यक्ष अधिकारीले जनतालाई थाहा नै नदिई सुटुक्क वडा कार्यालय सारेको आरोप लगाए । 

उनले विवाद समाधान नभई वडा कार्यालय अन्यन्त्र सारेकाले दवाब दिन गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको बताए । विवाद समाधान नभएसम्म ताला नखुल्ने उनले चेतावनी दिए । 

गाउँपालिका अध्यक्ष र वडाध्यक्षले जनताको माझ पर्ने स्थान छाडेर आफ्नै गाउँ फिस्लङमा सारेको असन्तुष्ट स्थानीयवासीहरुले आरोप लगाएका  छन् । 

वडाध्यक्ष अधिकारीले भने विवाद नटुङ्गिएसम्मका लागि मात्र अस्थायीरूपमा तत्काल कार्यालय सञ्चालनका लागि फिस्लिङस्थित क्लबको भवनमा सामान लगिएको  बताए । 

आगामी गाउँसभामा पारित हुने स्थानमा नै वडा कार्यालय स्थापना हुने भन्दै उनले आक्रोशित नबन्न आग्रह गरे । गाउँपालिका अध्यक्ष गुरुङले पनि तत्कालका लागि अस्थायीरूपमा मात्र फिस्लिङमा वडा कार्यालय सञ्चालन गर्न लागिएको बताए । उनले आगामी गाउँसभाबाट पारित हुने स्थानमा नै वडा कार्यालय स्थापना हुने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ