arrow

ओली सरकारको आयु घट्दै, ‘सरकारमा जान कांग्रेस हैन प्रचण्डको हतारो’

कांग्रेसमा ६०–४० को भागबण्डा अन्त्य भो : श्रेष्ठ

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ जेठ १० सोमबार
gopalman-new-FNL.JPG.jpeg
स्याङ्जा । कांग्रेस नेता गोपालमान श्रेष्ठले काँग्रेस सरकारमा जान नहतारिएको बताएका छन् । व्यवस्थापिका संसद सदस्य समेत रहेका  श्रेष्ठले सरकारको नेतृत्व गर्न एमाओवादी अध्यक्ष प्रचण्ड नै हतारिएको आरोप लगाए । १३औं महाधिवेशनमा केन्द्रीय सदस्यमा विजयी भएपछि पहिलो पटक स्याङ्जा पुगेका श्रेष्ठलाई नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नम्बर २ ले गरेको स्वागत, बधाई एवं भेटघाट कार्यक्रममा उनले यसो भनेका हुन् ।
 
पूर्व उपसभापति समेत रहेका नेता श्रेष्ठले भने, ‘सरकार ढाल्न काँग्रेसले कुनै कसरत गरेको छैन । सरकार आफ्नै बोझले ढल्दै छ ।’ सरकारको आयु छोटो हुँदै गएको छ । श्रेष्ठले गरिब मुलुकमा संविधान विपरीत ओली नेतृत्वले ६ जना उपप्रधान मन्त्री बनाएको र काम भन्दा कुरा मात्रै बढी गरेको आरोप लगाए । सरकारको आयु लम्ब्याउने भन्दा पनि छोट्याउने काममा प्रधानमन्त्री ओली आफै लागेको उनले टिप्पणी गरे । संविधानको कार्यान्वय नभएसम्म स्थानीय निकायको निर्वाचन असम्भब रहेको भन्दै नेता श्रेष्ठले ३४ सय रहेको गाविस १ हजारमा नझारे सम्म निर्वाचन नहुने ठोकुवा गरे । 
 
यस्तै, नेता श्रेष्ठले १२औं महाधिवेशन सम्म राजनीतिक भागबण्डा विषयले महत्व पाएकामा १३औं महाधिवेशनपछि ६०–४० को राजनीति अन्त्य भएकोे बताएका छन् । उनले काँग्रेसमा अब राजनीति भागबण्डाले चल्ने होइन योग्यताको आधारमा नेताहरुलाई पदको स्थान दिनुपर्ने बताएका हुन् । काँग्रेसमा फेरी पुरानो शैली अनुसार भागबण्डा खोज्ने हो भने काँग्रेस कमजोर हुने बताउँदै नेता श्रेष्ठले राजनीतिक भागबण्डा १३औं महाधिवेशन पछि अन्त्य भएको बताए । 
 
काँग्रेसकै नेतृत्वमा जारी भएको संविधान कार्यान्वयन गर्न काँग्रेस दृढ संकल्पका साथ अघि बढेको बताउँदै नेता श्रेष्ठले मधेस आन्दोलनलाई सरकार समाधान गर्नतर्फ गम्भीर नभएको आरोप लगाए । मधेस केन्द्रित आन्दोलन अहिले काठमाडांै केन्द्रित भएको भन्दै जति सक्दो चाँडो वार्ताको माध्यमबाट सरकारले मधेस र जनजाती आन्दोलन समाधान गर्न तर्फ चासो दिनुपर्ने आैँल्याए । 
 
स्याङ्जाको विकासमा सधैं अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गर्दै नेता श्रेष्ठले गाउँ, टोल र वडामा काँग्रेसको संगठन बलियो बनाउन सबै कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । यस्तै, अन्य वक्ताहरुले अब काँग्रेसले नयाँ भिजन र नयाँ पन ल्याउन जरुरी रहेको बताए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ