arrow

नेपाली कांग्रेसको चौधौं महाधिवेशन र सम्भावित उम्मेदवारहरूको प्रारम्भिक विश्लेषण

logo
डा. राजकुमार राई,
प्रकाशित २०७७ भदौ १६ मंगलबार
rajkumar-rai1.jpg

नेपाली कांग्रेसको चौधौं महाधिवेशनको कार्यतालिका प्रकाशित भई सोअनुसार कामहरू धमाधम भइरहेका छन् । यसैबीच केन्द्रमा को सभापति हुने भन्ने बारेमा पनि व्यापक चर्चा सुरु भइसकेको छ । पहिला पहिला भएका महाधिवेशनहरूमा संस्थापन पक्ष र संस्थापन इतर पक्ष भनेर प्रायजसो एक-एक जना उम्मेदवारको मात्र चर्चा हुन्थ्यो । अहिले संस्थापन पक्ष र संस्थापन इतर दुवै पक्षबाट एक-एक जनामा मात्र सिमित नभएर धेरै जनाको भइरहेको छ ।

संस्थापन पक्षबाट वर्तमान सभापति शेर बहादुर देउवा आफैं, गोपालमान श्रेष्ठ र विमलेन्द्र निधिहरू चर्चामा छन् । त्यस्तै संस्थापन इतरबाट रामचन्द्र पौडेल, डा शशांक कोइराला, प्रकाशमान श्रेष्ठ र डा शेखर कोइरालाहरू चर्चामा छन्।  तेह्रौं महाधिवेशनमा तेश्रो धार बनाएर उठेका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला फेरि पनि उठ्ने चर्चा चलिरहेको छ। उनकै टिमबाट महामन्त्रीको उम्मेदवार बनेका गगन कुमार थापाले पनि युवा पंक्तिबाट उम्मेद्वारी दिने चर्चा चलेको छ।  

अहिलेसम्म चर्चामा आएका व्यक्तिहरूको आ-आफ्नै किसिमका छवि र तर्कहरू छन् । पार्टी सभापति शेर बहादुर देउवा अर्को कार्यकालको लागि पनि इच्छुक छन् जस्लाई अस्वाभाविक मान्न सकिन्न। ४ पटक प्रधानमन्त्री भइसकेका नेपाली कांग्रेस (प्रजातान्त्रिक) हुँदै सिंगो नेपाली कांग्रेसको पनि सभापति बन्न सफल देउवा अर्को कार्यकालको लागि सभापति बन्न खोज्दै गर्दा यो कार्यकालमा आफ्नै पार्टीका साथीहरूले काम गर्न दिएनन् भन्ने तर्क गरेका छन्। राष्ट्रिय निर्वाचनमा समय दिनुपर्दा सोचेअनुसार काम गर्न सकिएन र दोश्रो कार्यकालको लागि सभापति बनेपछि पार्टीलाई अर्को राष्ट्रिय निर्वाचनमा पहिलो पार्टी बनाउने र त्यसपछि राजनीतिबाट विश्राम लिने देउवा बताइरहेका छन्। 

विमलेन्द्र निधि नेपाली कांग्रेसका संस्थापक नेताहरू मध्ये गान्धीवादी नेता भनेर चिनिने महेन्द्र नारायण निधिका पुत्र हुन् । विमलेन्द्र निधि सानो उमेरको विद्यार्थी कालदेखि नै राजनीतिमा संघर्ष गर्दै गर्दा पटक पटक जेल परेका थिए । २०३६ सालमा २४ वर्षको उमेरमा वीपी कोइरालाले उनलाई नेविसंघको अध्यक्ष बनाएका थिए । पार्टीको केन्द्रीय सदस्य, महामन्त्री हुँदै हाल पार्टीको उपसभापति भएका निधीले सरकारमा पनि उपप्रधानमन्त्री समेतको जिम्मेवारी सम्हालिसकेका छन् । आफ्नो उम्मेद्वारीका बारेमा पार्टीका सबै शिर्षस्थ नेताहरूसित भेटेर सहयोग मागेको खवर आएको छ । आफूलाई चौधौं महाधिवेशनमा सहयोग गर्ने आश्वासन पाएर देउवालाई तेह्रौं महाधिवेशनमा सहयोग गरेको र त्यो आश्वासन पूरा गर्न सभापतिलाई भेटेर सम्झाएको खबर पनि आएको छ।

संस्थापन खेमाबाट पार्टी सभापति शेर बहादुर देउवा नउठ्ने हो भने त्यसपछिको सिनियर मै हुँ र संस्थापन पक्षबाट मै उम्मेदवार हुनुपर्छ भनेर गोपालमान श्रेष्ठको दावी पनि बाहिर आएको छ ।

रामचन्द्र पौडेल अहिले पार्टीको बरिष्ठ नेता हुन् । तेह्रौं महाधिवेशनमा पार्टीको एउटा धारको प्रतिनिधित्व गर्दै पार्टी सभापतिको उम्मेदवार बनेका पौडेलको पक्षमा परिणाम आएन । पार्टीको विभिन्न तहको नेतृत्व गर्दै पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी पनि सम्हालिसकेका उनलाई पार्टीभित्र लोकतान्त्रिक समाजवादको व्याख्याता र वैचारिक क्षमता भएको नेताको रुपमा पनि चिनिन्छ ।

सर्वमान्य नेता गणेशमान सिंहका पुत्रका रुपमा प्रकाशमानले आफ्नै छवि बनाएका छन् । काठमाडौं जिल्ला सभापति हुँदै नेपाली कांग्रेस (प्रजातान्त्रिक) को उपसभापति र नेपाली कांग्रेसको महामन्त्रीको जिम्मेवारी सम्हालिसकेका उनी सरकारमा उपप्रधानमन्त्री भइसकेका छन्। 

डा शशांक कोइराला, नेपाली काँग्रेसका संस्थापक नेता वी पी कोइरालाका कान्छा पुत्र हुन् । उनले आँखा चिकित्सकका रूपमा लामो समय पेसागत कार्य गरे । नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुँदै तेह्रौं महाधिवेशनबाट निर्वाचित महामन्त्री भए। कम बोल्ने र कसैलाई पनि नबिझाउने सालिन र भद्र स्वाभावका रुपमा कोइराला  परिचित छन् । 

डा शेखर कोइराला पूर्णकालीन राजनीतिमा आउनु अघि आफ्नो डाक्टरी पेसामा थिए। धरानमा स्थापित वीपी कोइराला चिकित्सा विज्ञान अध्ययन संस्थानको उपकुलपति बनेर सो संस्थाको सफल नेतृत्व सम्हालिसकेका कोइराला तेह्रौं महाधिवेशनमा सबैभन्दा उच्चतम भोट संख्या ल्याएर केन्द्रीय सदस्य बनेका थिए । अत्याधिक जिल्ला भ्रमण गर्ने नेतामा पर्ने कोइरालाको सक्रियता र उनले राखेको धारणाले कार्यकर्ता तथा शुभचिन्तकहरूविच उनको लोकप्रियता बढेको देखिन्छ।

पूर्व महामन्त्री कृष्ण सिटौला अघिल्लो तेह्रौं महाधिवेशनमा पनि सभापति पदको प्रत्यासी थिए। पार्टीको संस्थापन पक्ष र इतर पक्ष भन्दा फरक तेश्रो धार बनाएर निर्वाचनमा भाग लिएका सिटौलाले उपप्रधानमन्त्रीसम्म भएका छन् । माओबादी द्वन्दबाट मुलुक आक्रान्त भएको वेलामा उनीहरूलाई शान्ति प्रक्रियामा ल्याई तार्किक निष्कर्षमा पुर्याउन नेपाली कांग्रेसका तत्कालिन सभापति तथा प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई प्रभावकारी सहयोगीको भूमिका निभाएका सिटौला अहिले पनि संकटको बेलामा सम्झिइने नेतामा पर्छन । 

केन्द्रीय सदस्य गगन कुमार थापा पार्टीभित्र र बाहिर लोकप्रिय युवा नेतामा पर्छन । उनी अघिल्लो तेह्रौं महाधिवेशनमा कृष्ण सिटौलाले नेतृत्व गरेको तेश्रो धारको तर्फबाट महामन्त्री पदका प्रत्यासी थिए। उनी नेविसंघको महामन्त्री हुँदै पार्टीको केन्द्रीय सदस्य भएका हुन् । नेपाल सरकारको स्वास्थ्य मन्त्री भइसकेका उनी आन्दोलनको राप र तापबाट आएको जुझारू युवा नेताको रूपमा चिनिन्छन्।

यसरी धेरै जना उमेद्वारहरु मैदानमा उत्रिने चर्चा शुरु भएको छ । उनीहरू सबैका आ-आफ्नो छवि र तर्कहरू छन् । तर ती सबै तर्कहरूमा चित्त वुझ्दो आधारहरू हुन जरुरी छ। अब सभापति लगायत अन्य जतिपनि पदको दावी गर्दा उनीहरूले पहिला सम्हालेका पदहरूलाई भजाएर मात्र दाबी गर्न मिल्दैन । उनीहरूले यो भन्नु पर्छ कि मैले यो यो पदमा हुँदा यी यी कामहरू गरें र अव पार्टी सभापति भएपछि मेरो चार वर्षे कार्यकालमा यो यो काम गरेर पार्टीलाई यो उचाईमा पुर्याउँछु भनेर आफ्नो रोडम्याप कार्यकर्ता सामु ल्याउनु पर्दछ । 

सभापतिका केही आकांक्षीहरूले वर्तमान सभापतिको क्षमता माथिको सवाललाई प्रमुख मुद्दा बनाएको देखिन्छ । तर उनीहरूले फलाना असक्षम भन्दै गर्दा म अरु भन्दा कसरी सक्षम छु वा हुनेछु भनेर ठोस उदाहरण र तर्कसहित विस्तृत योजना दिन जरूरी छ । भरपर्दो र पत्यारलाग्दो योजना एवं नेतृत्वको फरक चरित्रको सुनिश्चितता बिना वर्तमान नेतृत्वको क्षमता माथि प्रश्न मात्र गर्नु भनेको नेताहरू आफैं हलुका हुनु हो । त्यस किसिमको तर्कलाई कार्यकर्ताहरूले हावादारी गफको रूपमा लिन सक्छन् । 
  
माथि उल्लेख गरिएका केही नेताहरूको बलियो पारिवारिक विरासत छ। तर कतिपय मानिसहरू विरासत भनेको सामन्ती प्रथाको निरन्तरता हो भन्छन् । त्यसकारण विरासत भएका सम्बन्धित नेतागणहरूले आफ्नो विरासतप्रति भर नपरी आफ्नो छुट्टै पहिचानको आधारमा अघि बढ्दा राम्रो देखिन्छ।  

निर्वाचनको घडीमा क-कसले उम्मेद्वारी दिन्छन् र दिएका मध्ये कसले बाजी मार्ला ? भनेर अहिले नै भन्न सकिने अवस्था छैन । अहिले वहसको बेला भएकोले उनीहरूको आफ्नो धारणा के हो ? किन उनीहरूलाई मतदाताहरूले मत दिनुपर्ने हो ? मतदाता तथा कार्यकर्ताहरू सामु त्यो वारेमा विस्तृत रुपमा प्रष्ट पार्न जरूरी छ । यसो गरेको खण्डमा महाधिवेशनको नेतृत्व चयन प्रक्रियामा अर्थपूर्ण प्रतिस्पर्धा हुन्छ र निर्वाचनमा जितेर आउने व्यक्तिलाई पनि काम गर्न सजिलो हुन्छ।

नेतृत्वको लागि व्यक्ति परिवर्तन मात्र ठुलो कुरो होइन, चरित्रमा पनि परिवर्तन आउनुपर्छ । पार्टीलाई नीतिसहितको नेतृत्व आवश्यक छ । यो लेखमा नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा सम्भावित सभापतिका उम्मेदवारहरूको समग्र सतही विवेचना मात्र गर्ने प्रयास गरिएको छ । आगामी दिनमा हरेक उम्मेदवारको विस्तृत योजना सहितको श्रृंखलावद्ध लेखहरू प्रकाशन गर्ने छु ।

drrkrai9@gmail.com



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ