arrow

लालिघाटको पहिरोले व्यापारी आतङ्कित, रातभर ओडारमा बास

logo
प्रकाशित २०७३ जेठ १० सोमबार
new-photo-kalikot-badhi.jpg.jpeg
कालीकोट । जिल्लाका कोटवाडा गाविसको लालिघाटको गेजबजारमा पाँच जनाको मृत्यु भएको पहिरोबाट अहिले सो स्थानका व्यवसायीलाई आकाशमा बादल लाग्ने बित्तिकै ओडारमा बास बस्नुपर्ने बाध्यता रहेको छ । 
 
तीन दिनदेखि व्यापारी रातको समयमा पसल छाडेर ओडारमा बास बस्न थालेको स्थानीय व्यापारी भीमबहादुर ऐडीले बताएका छन । उहाँका अनुसार आफूहरुमा फेरि पनि पहिरो आएर बगाएर लैजान्छ कि भन्ने त्रासका कारण ओडारमा बास बस्नु परेको बताएका छन् । पहिरोले गएको शुक्रबार पाँच जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता छन् । 
 
त्यसैगरी, पाँचजना घाइतेको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ । प्रहरी, नेपाली सेना, रेडक्रस तथा स्थानीयवासीले बेपत्ताको खोजी कार्य जारी राखे पनि अहिलेसम्म परिवारले शव भेटाउन सकेका छैनन् । पहिरोले बगाएर लिएको सामानको प्रहरीले मुचुल्का गर्दा २० करोडको हाराहारीमा सामानको क्षति भएको बताइएको छ । व्यापारीले अगाडि बजार स्थानान्तरणका लागि ठाउँ छैन पछाडि सार्नका लागि कर्णाली नदीमा पुल नबन्दा समस्या आएको हो । 
 
यसअघि लालिघाट बजारमा जितेबजारबाट भरिया लगाएर सामान ढुवानी हुँदै आएको थियो । यातायात सुविधा नभएका कारण मुख्य व्यापारी केन्द्र रहेको लालिघाट बजारमा अहिले सामान लैजानका लागि कठिनाइ आएको छ ।  जिल्लाका १७ गाविस, मुगु जिल्ला र बाजुरा जिल्लाका लागि प्रमुख व्यापारी केन्द्रका रुपमा स्थापित हुँदै आएको लालिघाट बजारका व्यापारी वैकल्पिक बजारस्थलका लागि खोजी गरी रहेका छन् भने अधिकांश व्यवसायी व्यापार छाड्ने मनस्थितिमा पुगेका छन । पहिरोले ज्यान लिएका घरपरिवार रित्तो हात घर फर्किएका छन् । 
 
पहिरोका पीडितलाई जिल्ला दैवी प्रकोप उद्धार समिति कालीकोटले मृतकका परिवारलाई जनही ४० हजार राहत दिने र घाइतेको उपचार गर्ने प्रजिअ प्रदीप श्रेष्ठले बताउनुभयो । एक साताअघि जिल्लाको भर्ता गाविस र दैलेखको बीचमा पर्ने दैखोलामा पहिरो जाँदा एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइते हुनुका साथै ५० लाख बढीको क्षति भएको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ