arrow

पण्डित घरघरमा गएर सोह्रश्राद्ध नगर्ने, यस्तो उपाय अपनाउदै

logo
प्रकाशित २०७७ भदौ १६ मंगलबार
shraddhe.jpg

खस्यौली । रुपन्देहीको सैनामैना नगरपालिकाले वैकल्पिक विधिबाट सोह्रश्राद्ध अर्थात् पितृपूजन कर्म गर्न आग्रह गरेको छ । नगरपालिकामा रहेका प्रतिनिधिमूलक पण्डितहरुको मंगलबार भएको भेलाले यस वर्ष जजमानका घरघरमा गएर सोह्रश्राद्ध नगर्ने निर्णय गरेको छ ।  

कोरोना भाइरसको संक्रमण समुदायस्तरमा देखिएपछि नगरपालिकाले सोह्रश्राद्धलाई भर्चुअल, अनलाइन वा अडियोका माध्यमबाट गर्न अनुरोध गरेको छ ।  स्रोह्रश्राद्धमा घरघरमा पण्डित बोलाएर पितृपक्षलाई तर्पण दिने परम्परागत प्रचलन छ ।  

नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीको उपस्थितिमा भएको भेलाले नगरपालिकाका जुनसुकै वडा, टोल र गल्लीमा कोरोनाको संक्रमण हुने सम्भावना भएकाले न्यूनीकरणका लागि वैकल्पिक विधिमा जान बाध्य भएको जनाएको छ । 

विभिन्न स्थानका पुरोहितमा समेत कोरोना संक्रमण भेटिएको र सोह्रश्राद्धमा एक पुरोहित एक दिनमै धेरै ठाउँ जाने अवस्था  रहेकाले वैकल्पिक विधि अपनाउन आग्रह गरिएको जनाइएको छ । 

उनले पुरोहित वा घरमा आउने आफन्तजनबाट समेत संक्रमण हुने सम्भावना भएकाले पुरोहितलाई घरमा नबोलाउन र आफन्तजनलाई समेत घरमा नबोलाउन आग्रह गरे ।

 प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्रश्राद्ध अर्थात् पितृपक्ष यस वर्ष भदौ १७ गतेदेखि शुरु हुँदैछ । पितृपक्षको पहिलो दिन प्रतिपदा तिथि श्राद्ध गरिन्छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो ।

सक्नेले यस पक्षका सोह्रै तिथिमा श्राद्ध गर्नुपर्छ । नसक्नेले पञ्चमीदेखि औँशीसम्म र  यति पनि नसक्नेले पिताका तिथिमा श्राद्ध गर्नुपर्ने शास्त्रीय वचन छ । पं विष्णु ज्ञवालीले वैदिक सनातन धर्मअनुसार राष्ट्रलाई र विश्व मानवलाई सङ्कट परेका बेला  पर्व, उत्सव वा सोह्रश्राद्ध जस्ता कर्म वैकल्पिक विधिबाट गर्न सबै पुरोहित सहमत भएको बताए । उनले शास्त्रीय मतलाई आधार मानेर पनि  अहिलेको अवस्थामा सोह्रश्राद्ध गर्न वैकल्पिक उपाय अवलम्बन गर्ने विषय सान्दर्भिक भएको स्पष्ट गरे । 

यसअघि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले  वैकल्पिक विधिबाट सोह्रश्राद्ध गर्न आग्रह गरेको थियो । नगरपालिकामा केही दिनअघि मात्रै नौ जनामा कोरोना संक्रमण भएपछि संक्रमितको सङ्ख्या ५६ पुगेको छ । अहिलेसम्म रुपन्देहीमा कोरोना संक्रमितको सङ्ख्या एक हजार नाघेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ