म्याग्दी । हेर्दा सानो ठाउँ चट्ट मिलेको सुन्दर बस्ती जुन ठाउँ बेनी जोमसोम सडकखण्ड अन्र्तगत पर्दथ्यो । ‘बैसरी’ उत्तर भेगका हरेक बस्तीका स्थानीयले आवत–जावत गर्दा भारी विसाउने विसौनो चौतारी थियो । बैसरी भगवति, पिप्ले, बेगखोला, दोबा, हिस्तान र राम्चे गाउँका लागि व्यापारिक केन्द्र जस्तै थियो ।
एक वर्ष अघि २०७२ जेठ ९ गतेको कहालीलाग्दो त्यो रात । बस्तीमाथिबाट पहाडको ढिस्कै खसेर कालीगण्डकी १६ घण्टा थुनिएको त्यो क्षण । आफ्नै आँखाअघि वर्षौदेखि पसिना बगाएर जोरजाम गरेको घर सम्पत्ति र जग्गा–जमिन पहिरोसंगै कालीमा बगेको त्यो दिन । पीडादायी त्यही दिन सम्झेर पहिरो पीडित भीमबहादुर कार्कीको अनुहार क्षणभरमै बदलियो । मलिन स्वरमा उनले भने, ‘सबै गुमाएको पनि एक वर्ष भयो तर राज्यले हामी जस्ता पडितलाई उचित स्थानको ब्यवस्था गर्न सकेको छैन ।’ लामो सास फेर्दै उनले थपे, ‘खासमा त्यो दिन हामीले भौतिक शरिर बाहेक सबै गुमाएका थियौँ । राज्यले कुनै उचित ठाउँमा बस्ने व्यवस्था सम्म मिलाइदिए रात भर पीडामा बस्नु पर्दैन थियो ।’
सवारी चालक, यात्रु र किनमेलका लागि गाउँबाट झरेका स्थानीयको राति अबेरसम्म व्यस्त रहने बैसरीको अहिले कुनै नामोनिशान छैन । चट्टानरुपी बडेमानका ढुँगा, माटो र बालुवाको थुप्रोले मात्र भरिएको छ बैसरी । व्यापार व्यवसायकै लागि बैसरी झरेका भीमबहादुर जस्ता २७ परिवारको सपना पहिरोले कालीगण्डकीसंगै बगाएर लग्यो । ‘त्यतिबेला मेरो व्यापार धेरै राम्रो थियो, दुईवटा घर बनाउनुका साथै छोरा छोरीलाई बोर्डिङमा पढाएको थिएँ’, भीमबहादुर आफ्नो पीडा सुनाउँछन्, ‘घर र सामान सबै पुरेपछि अहिले दुईटा छोरालाई बोर्डिङबाट सरकारी विद्यालयमा हालेको छु ।’ सदरमुकाम बेनीस्थित एक नीजि विद्यालयमा महँगो शुल्क तिरेर अध्ययन गरिरहेका उनका दुई छोरा उक्त घटना यता गाउँकै मुक्तिधाम उच्च माविको कक्षा ८ र ६ मा अध्ययनरत छन् ।
हरेक वर्षायाम र पानी परेको बेला राम्चेको काफलडाँडा भीरबाट ढुँगाहरु खस्ने गरेपनि कालीगण्डकी थुनिने गरि पहिरो झर्ला भन्ने बैसरीका स्थानीयले कल्पना समेत गरेका थिएनन् । जेठ ७ गते राति सामान्य रुपमा झरेको पहिरोले बैसरीका केही घरमा क्षति गरेको थियो । स्थानीयबासीको आग्रहमा तत्कालिन प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीको नेतृत्वमा जिल्ला भू–संरक्षण अधिकृत दिवाकर पौडेल, तत्कालिन प्रहरी नायव उपरिक्षक हिरा गिरी लगायत सञ्चारकर्मीको टोलीले जोखिमको अवस्थाबारे पहाडमै पुगेर अध्ययन गरेपछि तत्कालै बैसरीबासीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको थियो ।
तत्कालीन प्रजिअ केसीको उक्त निर्णयलाई बैसरीका स्थानीयले कहिल्यै भुल्ने छैनन् । बस्ती पुरै पुरिएपछि जिल्ला दैवी प्रकोप उद्दार समितिले विस्थापित पहिरो पीडितहरुलाई पिप्ले–४ राहुपारेमा अस्थायी टहरा बनाएर बासको व्यवस्था मिलाएको थियो । स्थानीय मनबहादुर पुर्जा कहिल्यै कल्पना नगरेको ठाउँबाट पहिरो खसेको बताउछन् । ‘त्यो दिनलाई हामीले कसरी विर्सन सक्छौ र ?, सम्पन्न परिवारबाट पीडित बनेका छौँ’, पक्की सहित चार वटा घर पुरेका पीडित पुर्जा भन्छन्, ‘कहाँ जाने के गर्ने कुनै ठेगान छैन् ।’ बैसरी बासीलाई सरकारले तत्कालै १० हजार, खाद्यान्न र त्रिपाल उपलब्ध गराएको थियो ।
पीडितहरुलाई स्वदेश तथा विदेशमा रहेका विभिन्न सामाजिक संघसंस्था र व्यक्तिहरुबाट ५८ लाख नगद र १२ लाख रुपैयाँको हाराहारीमा जिन्सी सहयोग प्राप्त भएको बैसरी पहिरोपीडित व्यवस्थापन समितिका सचिव भीमसेन केसीले जानकारी दिए । ‘कतिपय आधारभूत कुराहरु पनि राज्यको तर्फबाट सहयोग भएन, एक वर्षसम्म पनि हाम्रो पीडाका घाउहरु कम हुन सकेको छैन्’, उनले भने ।
हिउद त कट्यो बर्खा कसरी कटाउने ?
२७ परिवारमध्ये सरकारले २२ परिवारलाई राहुपारेमा केही समयका लागि आवासको व्यवस्था मिलाएपनि अहिले राहुपारेमा ६ र पहिरो खसेकै स्थानमा ४ परिवार गरी १० परिवार मात्रै यो क्षेत्रमा बस्दै आएका छन् । अन्य कोही बेनीबजार, पोखरा त कोही आफन्त कहाँ आश्रय लिएर बस्न थालेका छन् । भीमबहादुर केसी, प्रेमबहादुर पुन, मनबहादुर पुर्जा र भीमसेन केसी पुरानै ठाउँमा सरेका छन् । ‘हाम्रो अन्य स्थानमा कहि पनि बस्ने ब्यवस्था घर जग्गा नभएकोले पुन सोही स्थानमा सरेका छौं ।’ पहिला हरेक सपना यही स्थानमा बसेर देखियो त्यो सबै पहिरोले भताभुङ्ग पारेको भीमसेन केसीको भनाई छ ।
ललु पुर्जा, लेउमायाँ पुर्जा, पुर्खामान खोरजा, खरमति गर्बुजा, भेमबहादुर गर्बुजा र जयबहादुर पुर्जाका परिवार भने राहुपारेमै बस्दै आएका छन् । विभिन्न सहयोगी हातहरुमार्फत एक बर्ष अघि लिइएको त्रिपाल अहिले च्यातिन थालेका छन् । हावाहुरीले बनाईएका जस्तापाताका टहरा पनि भत्किने अवस्थामा पुगेका छन् । धुलो उड्ने समस्या छदैछ त्यसमाथि डाडाँबाट कहिले पहिरो झर्ने भन्ने त्रास यथावत छ । कुनै विकल्प नभएपछि पुरानै स्थानमा फर्किएर जोखिम मोल्दै बस्नुपरेको पीडित मनबहादुर पुर्जाले बताए । पहिरो पीडितहरुले आफु बसेको स्थानमा होटल, किराना पसल र केराको व्यापार गरेर दैनिकी चलाउँदै आएका छन् ।
बैसरीलाई केरा उत्पादन र विक्रीवितरण केन्द्रको रुपमा चिनिएको छ । ‘कहाँ जाऔँ कुनै ठाउँ छैन्, यहाँ नआएर कहाँ जाने ?, पीडित मनबहादुरले भने, ‘मौसम राम्रो नहुने रातमा राम्रोसंग निद्रा पनि पर्दैन ।’ पहिरोसंगै थुनेको कालीगण्डकीले बगाएको हिस्तान जोड्ने पुल पनि निर्माणाधिन अवस्था छ ।
सडक विभागले करिब दुई किलोमिटर नयाँ ‘ट्रयाक’ खोलेर बेनी–जोमसोम सडकलाई नियमित सञ्चालनको व्यवस्था गरेको छ । सोही सडक छेउमा पीडितहरु टहरा बनाएर नयाँ जीवनको खोजी गरिरहेका छन् । बैसरी पहिरोपीडित व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर कार्कीले लामो समयदेखि भुकम्पपीडित परिचय–पत्र माग गरेपनि सरकारले त्यस विषयमा कुनै सुनुवाई नगरेको बताए । ‘सभाषद् देखि प्रशासन कार्यालय सम्म यस विषयमा धाईयो, तर सबै हुन्छ मात्र भन्छन्’, उनले भने, ‘भुकम्पकै कारण यसरी पहिरो गएको हो, परियपत्र भयो भने सजिलो हुने थियो ।’
आफुहरुलाई तत्काल खानेपानी, त्रिपाल र जस्तापाताको समस्या रहेको व्यवस्थापन समितिका सचिव भीमसेन केसीको भनाई छ । ‘बर्खा सुरु भईसक्यो कसरी कटाउने भन्ने चिन्ता छ, विभिन्न सहयोगी निकायमा सहयोगको याचना गर्ने विचारमा छौँ’, उनले भने, ‘वर्षौदेखि यहीँ बस्यौँ अब अरु ठाउँ जाने कुनै आँट छैन ।’
जोखिम उस्तै : अध्ययन टोली
वर्षा सिजन सुरु हुन लागेपछि सरकारी टोलीले बैसरीमा पहिरोको जोखिमबारे स्थलगत अध्ययन गरेको छ । जिल्ला भू–संरक्षण अधिकृत दिवाकर पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्य, प्रहरी, संचारकर्मी र स्थानीयवासीको टोलीले राम्चेभीरमा पहिरो खसेको स्थानमा थप पहिरो जान सक्ने–नसक्नेबारे स्थलगत अध्ययन गरेको हो । पहाडको केही भाग अझै खस्न बाँकी रहेकाले जोखिम यथावत रहेको भू–संरक्षण अधिकृत पौडेलले बताए ।
‘करिब एकतिहाई भाग अझै खस्ने जस्तो देखिएको छ, विभिन्न स्थानमा चिरा–चिरा परेको र भ्वाङ परेको पनि देखेका छौँ’, उनले भने, ‘यसबाट हामीले समयमै सजगता अपनाउनुपर्ने देखिएको छ ।’ सहायक प्रजिअ आचार्यले बैसरीमा बस्न उपयुक्त नभएको भन्दै पूर्वयोजना र पूर्वतयारी अपनाउन स्थानीयबासीलाई आग्रह गरे । ‘सबै मिलेर एउटा आपत्काली योजना र अस्याथी प्रकृतिको सेल्टर बनाउन आवश्यक छ’ उनले भने । भूकम्प पीडित परिचय–पत्रका लागि पुननिर्माण प्राधिकरणमा सिफारिस गरि पठाइएको प्रशासनले जनाएको छ । यसरी पहिरो गएको १ वर्ष वित्दा समेत राज्यले पीडितलाई आश्रय र न्याय त दिलाएन नै पहिरो गएको स्थानमा अध्ययनका लागि भू–विज्ञहरुको टोली समेत पठाउन सकेन । स्थानीय अधिकारीहरुले टाढाबाट आँखाले हेरेको भरमा अनुगमन भएको छ ।