arrow

टाँकीको मुन्टाले छाक टार्दै

logo
सीताराम अधिकारी,
प्रकाशित २०७३ जेठ ११ मंगलबार
Dhading-hamrakura.jpg.jpeg
मलेखु (धादिङ)। दक्षिणी धादिङको महादेवस्थान गाविस –३ ब्रुसबाङकी ज्ञानुमाया चेपाङले टाँकीको मुन्टाका भरमा छाक टारेको दुई महिना बितिसक्यो।
 
बिहान उठेपछि अरुलाई जे चिन्ता भए पनि उनलाई भने टाँकीको मुन्टा कसरी खोज्ने र परिवारको पेट पाल्ने भन्ने चिन्ताले सताइरहन्छ। बिहान उठेपछि उनको दैनिकी नै टाँकीको मुन्टा सङ्कलनबाट सुरु हुन्छ र पानी बोकेर घरमा ल्याएपछि उनी अब बाँचिने भइयो भनेर खुसी हुन्छिन्। घरमा खाने अन्न नभएपछि वृद्धआमाबुबा समेत टाँकीको भरमा बाँचेको ज्ञानुमायाले बताए।
 
सिस्नु टिप्दै गरेको अवस्थामा भेटिएकी दिलमाया चेपाङको अवस्था पनि उस्तै छ। “चैतको अन्तिमदेखि लगातार बिहान गिठ्ठा बेलुका सिस्नु खाएको, अब त खोज्न जान नसक्ने गरी गलिसक्यौँ, घरमा मकै पनि छैन।” झमक्क साँझ परेको बेलामा सिस्नु टिप्दै गरेकी दिलमायाले बताइन्।
 
“मकै लगाइएको आठ महिनामा पाक्ने मकैले आठ जनाको परिवारलाई मुस्किलले चार महिनासम्म खान पुग्छ, मकै पाक्न कात्तिक पर्खनुपर्छ, कसरी बाँच्नू ? पानी लिन पनि साढे चार घन्टा लाग्छ, पानी ल्याएर खान पनि नसक्ने अवस्थामा पुगिसक्याौँ”, दिलमायाले मलिनो स्वरमा दुःखको कुरा बताइन्।
 
उनका श्रीमान् रामलालले वर्षभरिमा ६०-७० डोको बुनेर रु आठ हजारसम्म नगद हात पार्ने र त्यो पैसाले लुगा किन्न नपुग्ने बताए। “तेल मसलाको त कुरै छैन, ज्याला मजदुरी गर्ने गाउँठाउँ पनि नजिक छैन, हामी चेपाङलाई हेर्ने कोही भएनन्” रामलालले दुःखेसो गरे।
 
सतसठ्ठी वर्षीय चन्द्रमान चेपाङ बिहान छोरालाई साथी लिएर गिठ्ठा तास्दै थिए। अघिल्लो दिन बाबुछोराले दिनभर वन चाहारेर आधा डोको गिठ्ठा ल्याएका रहेछन्। उनले गिठ्ठा खाने तरिका सुनाउँदै भने “तासिसकेपछि खरानी हालेर उसिन्नुपर्छ, खरानी नहाले टर्रो हुन्छ, खरानी हाले पखाल्न पानी धेरै चाहिन्छ, पानी पनि पाउन गाह्रो छ, एक खेप ल्याउन साढे चार घन्टा लाग्छ, अब त जङ्गलमा टाँकी, गिठ्ठा, सिस्नु पनि मासिँदै गइसक्यो।”
 
तेइस घर चेपाङको बसोबास रहेको ब्रुसबाङमा सबैको अवस्था उस्तै छ, छाक छार्नै मुस्किल। पृथ्वी राजमार्गको मलेखु बजारबाट दुई घन्टा मोटरमा र छ घन्टा पैदल यात्रा गरेर पुग्न सकिने ब्रुसबाङ गाउँमा बिहान सिस्नु तथा बेलुका गिठ्ठा र टाँकीको मुन्टाले छाक टार्न थालेको दुई महिना बितिसक्यो। सरकारी निकाय नपुगेको सो गाउँमा खानेकुराको अभावले गर्दा बालबालिका कुपोषणको सिकार भइरहेका छन्। एक लोटा पानीको भरमा परिवार पालिएर बसेको पनि लामो समय भइसकेको गाउँका अगुवा चेकबहादुर चेपाङले बताए।
 
साठी वर्ष वन चाहारेर खाएको चन्द्रमान वनको कुन ठाउँमा गिठ्ठा, टाँकी, सिस्नु छ सबै घरमै बसेर भन्छन्। “पहिला एक दिन बस्न गएपछि दुई-तीन दिन जानु पर्दैथ्यो। अहिले त दिनभर चाहार्दा बेलुकाको छाक टर्दैन, यस्तै हो भने अर्को वर्ष भोकमरीले मरिन्छ” उनको भनाइ छ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ