arrow

रुकुममा नेकपा छोडेर कांग्रेस आउने बढे

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ २१ आइतबार
rukum-congress-pravesh1.jpg

रुकुम पश्चिम । रुकुम पश्चिममा नेकपा छोडेर नेपाली कांग्रेसमा प्रवेश गर्नेहरु बढेका छन् । पछिल्लो पटक मात्रै जिल्लाको चौरजहारी, आठबिसकोट र बाँफिकोटबाट १ सय ८५ जना नेकपाका कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेसमा आफ्ना कार्यकर्ता प्रवेश गर्नेको लहर देखेपछि नेकपाका नेताहरु पनि छलफलमा जुटेका छन् ।

शुक्रबार मात्र नेकपाका ७० जना कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर १० को झिनचौरबाट ४३ जना र चौरजहारी नगरपालिका वडा नम्बर ४ अमलाटाकुराबाट २७ जनाले नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस रुकुम पश्चिमका सभापति प्रेमप्रकाश ओलीले बताए।  

आठबिसकोट नगरपालिकाका मेयर गोरखबहादुर के.सी.कै वडाका ४३ जनालाई आफ्नो पार्टीमा स्वागत गरेको नेपाली कांग्रेस आठबिसकोटका नगर सभापति कमल शाहले जानकारी दिए। उनका अनुसार, रुकुम कांग्रेसकै किल्ला साबित गर्न कार्यकर्ताहरुको प्रवेशको लहरले उत्साह दिएको छ । नेकपाको कार्यशैली र पक्षपातपुर्ण व्यवहारबाट आजित भएर उहाँहरुले नेपाली कांग्रेस रोजेको सभापति शाहले बताए।  

शुक्रबार नै जिल्लाको चौरजहारी नगरपालिकामा पनि २७ युवाहरुले नेकपा परित्याग गरि नेपाली कांग्रेस प्रवेश गरेको कांग्रेसले जनाएको छ । चौरजहारी नगरपालिका ४ अमलटाकुरामा आयोजित कार्यक्रममा २७ जना युवाले पार्टी प्रवेश गरेको नेपाली कांग्रेस चौरजहारी नगर सभापति परमेश्वर भण्डारीले बताए । स्थानीय नरबहादुर घर्ति सहित २७ जनालाई कांग्रेसमा स्वागत गरेको उनले उल्लेख गरे। 

यसअघि जिल्ला समन्वय समिति रुकुम पश्चिमका सदस्य अमृत बोहरा सहित १ सय ५ जना नेकपाका कार्यकर्ताले नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । तत्कालिन माओवादी केन्द्रबाट जिल्ला समन्वय समितिमा निर्वाचित अमृत बोहरा सत्तारुढ नेकपाका कर्णाली कमिटी सल्लाहकार सदस्य पनि हुन् । बोहरा सहित १ सय ५ जना पार्टीमा प्रवेश गरेकोहरुले सर्वहारा वर्ग, गरिब, दलित, महिला, जनजातिको अधिकारका लागि युद्व लडेका नेताहरु अहिले भ्रष्टाचारमा लिप्त भएपछि नेकपामा रहेर जनता र मुलुकको पक्षका काम गर्न नसकिने भन्दै कांग्रेसमा प्रवेश गरेको कांग्रेस जिल्ला उपसभापति धिरेन्द्र बटालाले जानकारी दिए । बोहरा सहितका कार्यकर्ता कांग्रेसमा प्रवेश गरेपछि नेकपा रुकुमले एक बिज्ञप्ती जारी गरेर जिम्मेवारीबिहिन बनाएको व्यक्ति कांग्रेसमा गएको भन्दै स्पष्टिकरण दिएको थियो। 

अघिल्लो शनिबार जिल्लाको बाँफिकोट गाउँपालिका–९ झुलामा पूर्व जनमुक्ती सेनासहित नेकपाका १० जना कार्यकर्ताले नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । पूर्व जनमुक्ती सेना मानबहादुर ओली, पूर्व वाइसीएलका झुला गाविस अध्यक्ष देवबहादुर देवकोटा, पूर्व नेकपा एमालेको तर्फबाट वडासदस्यका उम्मेद्वार टोपबहादुर खत्री, नेकपाका कार्यकर्ता लोकबहादुर खत्री, विष्णुकुमार खत्री, धनबहादुर जैसी, बलबहादुर खत्री, टेकबहादुर खत्री, नविन देवकोटा र हरिबहादुर देवकोटाले कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव हर्कसिंह खत्रीले बताए। 

पार्टी प्रवेशको क्रममा पूर्व जनमुक्ती सेना मानबहादुर ओलीले तीनै तहमा नेकपाको सरकार भए पनि सरकारको नेतृत्व गरेकाहरु जनताको पक्षका भन्दा आफ्नो व्यक्तिगत फाइदाका लागि मात्रै काम गरेकाले पार्टी छाडेको बताएका थिए। सर्वहारा वर्ग र गरिब, दलित, महिला, जनजातिको अधिकारका लागि युद्व लडेका नेताहरु अहिले भ्रष्टाचारमा चुर्लुम्ब डुबेर पैसा कमाउन लागेकाको उनको आरोप छ ।

गाउँमा पार्टीका गतिविधिलाई सक्रिय बनाउँदै गर्दा जनताको मन जित्दै गएको नेपाली कांग्रेस रुकुम पश्चिमका सभापति प्रेमप्रकाश ओलीले बताए । ‘पछिल्लो पटक पार्टी प्रवेशको लहर बढेको छ’, सभापति ओलीले भने, ‘यो लहर कसैले रोक्न सक्दैन ।’ सभापति ओलीले नेकपाका नेताहरु भ्रष्टाचार गर्ने र आफन्तलाई भजाउने धन्दामा लागेको गुनासो आईरहेको बताए । विशेष गरी द्वन्द्वको समयमा युवाहरुलाई रोजगारी, समानताको व्यवस्था गर्ने आवश्वासन दिएर युद्धमा सहभागी गराएको र शान्ति स्थापनापछि त्यो सबै बिर्सिएर युवाहरुको भविष्य अन्धकार बनाएको सभापति ओलीको आरोप छ। नेकपाका नेताहरुलाई समाज र जनताको विकासप्रति चिन्ता नहुँदा हजारौं युवाहरुको भविष्य अन्धकार भएकाले यसलाई हटाउन सबै युवाहरु अब कांग्रेसमा प्रवेश गर्नुपर्ने सभापति ओलीको भनाई छ । 

लोकतान्त्रिक विधिबाट मुलुकको विकास गर्दै देशमा भएका ठूला परिवर्तनको नेतृत्व गरेको पार्टीमा पछिल्लो समय नेकपाको गढ मानिएको क्षेत्रबाट नेपाली कांग्रेसमा युवाहरु समेतको आकर्षण बढेको नेपाल बिद्यार्थी संघका निवर्तमान अध्यक्ष खड्कबहादुुर डाँगीले बताए । कार्यकर्ताहरुको असल मूल्यांकन गरेर सहि जिम्मेवारी प्रदानको कार्य नेतृत्वको जिम्मामा आईपरेको समेत उनले जनाए । नेकपाले विभिन्न आश्वासन दिएर युवाहरुलाई पार्टीमा लाग्न बाध्य बनाए पनि उनीहरुको काम र व्यबहारले स्पष्ट पारिरहेको नेता डाँगीको भनाई छ । 

कांग्रेसप्रति रुकुमेली जनताको आशा र भरोसा बढेको नेपाली कांग्रेसका पूर्व पार्टी सभापति मानबहादुर नेपालीले बताए । ‘वर्तमान परिस्थितिमा कांग्रेसका कार्यकर्ता जोगाईराख्न हाम्रो चुनौति छ’, नेपालीले भने, ‘हरेक तहमा कम्युनिष्टहरुको सर्वसत्ताबाद र मनपरिको बिरुद्ध आवाज बुलन्द पार्ने कार्यकर्ता उत्पादन गरेर कांग्रेस बलियो बनाउन आवश्यक छ ।’ उनले बैचारिक रुपमा बलियो बनाउनुका साथै विज्ञान प्रबिधिको ज्ञानमा समेत अब्बल हुनपर्ने उल्लेख गरे। 

कांग्रेस नेता तिलक भण्डारीले कांग्रेसमा नेकपाका कार्यकर्ताहरु प्रवेशको लहर देखेर नेकपाका नेताहरु छटपटाएको बताए। जनयुद्वको समयमा जनतालाई दिएको आश्वासन दुई तिहाइको सरकार हुँदा पनि पुरा गर्न नसकेको, पार्टी र नेताहरु जनताको विकासका लागि भन्दा पनि भ्रष्टाचारीलाई संरक्षण गर्न सक्रिय भएको भन्दै नेकपाका कार्यकर्ताहरुले कांग्रेसमा प्रवेश गरेको नेता भण्डारीले बताए। 

दुई तिहाइको कम्युनिष्ट पार्टीको सरकार देश र जनताको विकासभन्दा पनि अनियमितता र भ्रष्टाचारमा लिप्त भएको नवप्रवेशीहरुले आरोप लगाएका छन् । कांग्रेस जनताको पार्टी भएको र सधैं आफूले हारेर भएपनि मुलुक र जनतालाई जिताउँदै आएकोले कांग्रेसमा नेकपाका नेताहरुको प्रवेश लहर बढेको कांग्रेसले जनाएको छ । बढीजसो युवाहरु कांग्रेसमा आकर्षित रहेको र नेकपाका नेताहरुलाई समाज र जनताप्रति चिन्ता नहुँदा युवाहरुको आशा कांग्रेसमै रहेको कांग्रेसको बुझाई रहेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ