arrow

महाधिवेशन आसपासमा मात्र व्युँझिने कांग्रेसजनले लगाउलान् त पार? 

logo
जनक केसी,
प्रकाशित २०७७ भदौ २४ बुधबार
Janak-Kc.jpg

चौधौं महाधिवेसनले यति वेला नेपालको सवैभन्दा पुरानो र ऐतिहासिक पार्टी नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु निन्द्रावाट झसंग व्युझिए झै  भएका छन् । तीन वर्ष अघि देशमा सम्पन्न स्थानीय तह, प्रदेश र संघीय संसदको चुनावमा पार्टीले हारेपछि शिथिल र निरास बनेका कांग्रेस नेता कार्यकर्ताहरु तीन वर्षे सुताइ पछि महाधिवेसनको हावाले फेरि व्युँझिन थालेका छन् । चुनावमा हार र कमजोर सांगठनिक अवस्थाको गम्भीर समीक्षा र सुधारका वारेमा वितेको तीन वर्ष कांग्रेसी नेता कार्यकर्ताहरुका लागि खासै मुल्यवान देखिएन । पार्टीको अस्तित्व, भविष्य, चरित्र, नीति र सिद्धान्तका बारेमा चारैतिरवाट शंका र प्रश्नहरुको ओइरो लागिरहेका बेला पनि केन्द्रदेखि गाउँ टोलसम्मका कांग्रेसहरु लगभग सुतेकै अवस्थामा देखिए । पछिल्लो समयमा वैचारिक र सैद्धान्तिक धरातलमा खिया लागेको भनेर चारैतिर आलोचित हुँदै गएको कांग्रेसलाई अहिलेको अवस्थावाट माथि उकास्न अवको महाधिवेसनले सक्छ कि सक्दैन हेर्न वाँकी छ । 

लोकतान्त्रिक मुल्य मान्यताहरुको प्रयोगमा कांग्रेस किन कमजोर भयो ? कांग्रेसको मुख्य आदर्श लोकतान्त्रिक समाजवादका चरित्रहरु पार्टी र नेता कार्यकर्ताहरुको सँस्कार र कार्यशैलीमा किन हराउदै गए ? लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने र जनताको संविधान लेख्ने कामको सफलता पछि कांग्रेसले स्पातिलो एजेन्डा किन वनाउन सकेन ? राणा र राजावाट शासन सत्ता खोस्दा बीपी कोइरालाको नेतृत्वमा निर्माण गरिएको सुखी र समृद्ध नेपालको चित्र कता हरायो ? त्याग वलिदान र संघर्ष गर्ने जनता र कार्यकर्ताहरुका लागि पछिल्लो समयमा पार्टी नेतृत्वले निर्माण गरेका नयाँ आदर्शहरु के के हुन ? किसान, मजदुर, युवा, महिला, दलित, जनजाति, अपांग, जेष्ठ नागरिक र विद्यार्थीहरुले पटक पटक उठाइरहेका आफनो अधिकार र समृद्धीका सवालहरुप्रति कांग्रेसको जनमुखी र न्यायपुर्ण जवाफ के हो ? वेरोजगारीका कारण दिनहुँ सयौंको संख्यामा मातृभुमि छोड्ने लोभलाग्दा युवाहरुको रगत र पसिनालाइ देशभित्रै सदुपयोग गर्ने र वाँझिदै गएका खेतवारीहरुमा लहलह अन्न फलाउने कांग्रेसको नीति र कार्यक्रम के हो ? खुर्सानीदेखि चामलसम्मका सवै कृषि उपजहरुको आपुर्ति भारतवाटै गर्नुपर्ने वाध्यात्मक अवस्था हटाउने कांग्रेसको समाजवादी सुत्र के हो ? गरिवी र जनताका विच फराकिलो वन्दै गएको असमान आर्थिक अवस्थाको निदान गर्नका लागि कांग्रेसको एजेन्डा र सुत्र के हो ? लोकतान्त्रिक मुल्य मान्यताको मियो ठान्ने कांग्रेसले महाधिवेसन भएको चार वर्षसम्म आन्तरिक सरंचना अधुरै राख्ने पुरानो रोग कहिले अन्त्य हुन्छ ? यस्तै अनेकौं प्रश्नहरुले कांग्रेसको तल्लो तहदेखि केन्द्रीय नेतृत्वसम्मलाइ हाकाहाकी घेरिरहेका छन् । यी प्रश्न र सवालहरुको खरो प्रहारलाई अहिलेको नेतृत्वमा रहेकाहरुले सामना गर्न सकेको देखिदैन । त्यसैले कांग्रेस यो हालतमा आइपुगेको छ । 

सम्भावना जेसुकै होस, विचार र सिद्धान्तको ताकत जस्तोसुकै होस तर सम्भावना, विचार सिद्धान्त अनुसार देश र पार्टी हाँक्ने सौर्य वोकेको नेतृत्व अभावको पिडा यति वेलाको कांग्रेसले भोगिरहेको छ । विपक्षीहरुले पनि आफुले गर्न केहि नसकेपनि कांग्रेसप्रति माथि उल्लेख गरिएका र यस्तै अन्य प्रश्नहरु तेर्स्याउने र गफैका भरमा राजनैतिक फाइदा लिइरहेका छन् । यहि विचमा कांग्रेसको चौधौं महाधिवेसन हुदैछ । एक पटक नेतृत्वमा परीक्षण भइसकेकाहरु असफल भएपनि वारम्वार सोहि ठाउँमा टास्सिरहेको रोग नेकपा लगाएतका अन्य दलहरुमा जस्तै कांग्रेसमा पनि शसक्त वनेको छ । देशमा नेकपाको दुई तिहाइको सरकारले उधुमै मच्चाउने अपेक्षाको कचौरा थापेर वसेका जनता कचौरामा भरिएको निरासाले आक्रोसित भएको वेलामा पनि सत्ताको छेउमा ट्वाँ परेर वसेका कांग्रेसका नेता कार्यकर्ताहरुलाइ महाधिवेसनको हावाले फेरि  हल्लाउन सुरु गरेको छ । 

इतिहासको निकै जर्जर अवस्थामा पनि बीपी कोइरालाको दर्शन, दुरदृष्टि र विचार मार्फत स्थापित कांग्रेस यो सहज अवस्थामा पनि दयनीय अवस्थामा पुगेको छ । जीवन र राजनीतिको उत्तरार्धमा पुगेकाहरुका लागि यो कुनै नौलो कुरा नभएपनि उर्जाशील युवा नेता कार्यकर्ताहरुका लागि निकै चुनौति हो । देश भित्र प्रतिवन्धित अनि देशवाहिर निर्वासित हुँदा पनि दुरदर्शी विचार, सिद्धान्त र आदर्श मार्फत बीपी कोइरालाले निर्माण गरिदिएको पार्टी र राजनैतिक आदर्श प्रयोगको अवस्था जीर्ण वन्नुमा कसको दोष छ ? यो अवस्थामा युवाहरु गुट निर्माण र व्यक्ति पुजाको वाटोमा लाग्ने कि आफु र आउने पुस्ताको लागि उज्यालो मार्ग निर्माणमा लाग्ने ? सधैं विपक्षीका कमजोरी खोजी र उनीहरुलाई घोक्रो फुट्ने गरि गाली गरेर मात्र हाम्रा दायित्व र जिम्मेवारीहरु पुरा हुन्छन् त ? यो प्रश्नको सुझवुझपुर्ण समीक्षा कहिले पनि नेता या कार्यकर्ता कुनै तहवाट गरिएको छैन, तर अव गरिनै पर्छ । एक पटक चुनाव जिते जुनीभरलाइ पुग्छ भने जस्तै गरि नेता कार्यकर्ताहरु अल्छी र विलासी भएकै कारण अहिले कांग्रेसको यो अवस्था आएको भन्दा फरक पर्दैन । 

अहिलेको पार्टी नेतृत्वमा मात्र होइन आम कार्यकर्ताहरुमा पनि सत्ता र शक्तिको प्राप्ति मात्रै प्रमुख नीति छ । यसले पार्टी जनताको नभइ सिमित व्यक्तिहरुको सम्पति जस्तो वन्छ । जसका कारण पार्टी र पार्टीको नीति विचार र सिद्धान्तमा आम कार्यकर्ता र जनताको अपनत्व स्खलित हुदै जान्छ । कांग्रेसको ठूलो रोग यहि हुन थालेको छ । त्यसकारण अहिले पार्टीको ऐतिहासिक विरासत र भिजनलाई आमजनता सामु देखाउने, माध्यम, नियत र सामथ्र्यको टड्कारो अभाव छ । पद पाएका नेता र सत्ता पाएको पार्टीसंग स्पातिलो नीति र जनमुखी कार्यक्रमको खडेरी परेका कारण आज हामीसंग बीपीको नाम भजाउनु र विगतको योगदान भट्टयाउनु वाहेक अर्काे कुनै वलियो अस्त्र छैन । माथिल्लो नेतृत्वको सिको गर्दै तल्लोस्तरमा पनि सोहि सँस्कृतिको प्रभाव व्यापक छ । सत्ता र शक्तिको लोभ मात्र गर्ने तर नीति विचार र कार्यदिशामा   इमानदारीताका साथ नखारिने कांग्रेसका नेता कार्यकर्ताहरुले आफनो राजनीति मात्र डुवाएका छैनन भोलि आउने पुस्ताको भविष्यलाई समेत डुवाउने खेलमा सक्रियता देखाएका छन् । आज वैचारिक, सांगठनिक, चारित्रीक र व्यवहारिक रुपमा आफुलाई अव्वल र सक्षम नवनाएसम्म 
कांग्रेस स्थापनाको उद्देस्य,सपना,लक्ष र आदर्श प्राप्ती र प्रयोगको दौडमा हामी आफुले पनि हार्ने र आउने पुस्तालाइ समेत हराउने छौं । 

नेकपा नेतृत्वको सरकार पूर्णरुपमा असफल भएको वेलामा पनि आफनो विचार र सिद्धान्तको व्यवहारिक प्रयोगलाई जनस्तरसम्मै देखाएर राजनैतिक फाइदा लिन नसकेको पार्टी नेतृत्व, नीति र कार्यशैलीकै विचमा महाधिवेसनको नसाले सल्लाबएका नेता कार्यकर्ताहरुले अव के गर्ने हुन हेर्न वाँकी छ । इच्छाशक्ति, दुरदृष्टि, जोस जाँगर र सपना भएका युवाहरुले पार्टी नेतृत्व हाँक्न पाउने सम्भावना प्रवल नहुने र वारम्वार परीक्षण भएर असफल भइसकेकाहरुले नेतृत्वमा जवरजस्त हालीमुहाली गरिरहने हो भने माथि उल्लेख गरिएका कुनै पनि प्रश्नहरुको जवाफ कोहि पनि कांग्रेसजनसंग भेटिने सम्भावना छैन । यहि सत्य नै पार्टीको निरन्तर असफलता र नैतिक तथा वैचारिक कमजोरीको एउटा कारण  वनेको छ । संसदमा गगन थापाले देखाएको शसक्त र उर्जाशील प्रस्तुती र वाहिरी माहोलमा विश्वप्रकाश शर्माले देखाएको खरो विचार प्रवाह र राष्ट्रियताको सन्दर्भमा मिनेन्द्र रिजालले भारतीय पक्षलाइ दिएको देशभक्तिपुर्ण जवाफको भावनालाइ समेटेर अबको महाधिवेसन र त्यसपछिको राजनैतिक परिस्थितिको उचित सम्वोधन हुन सक्छ कि सक्दैन हेर्न वाँकी छ । 

पार्टीको मुल नेतृत्व आफनै दलभित्र गुट निर्माण र काखापाखाको नीतिबाट पछि नहटेसम्म पार्टी सुध्रिन्छ भनेर एकरत्ति कल्पना गर्न पनि सकिदैन । पार्टीलाइ लोकतान्त्रिक, जनप्रिय, गतिशील, र आमजनताको सुखदुखको असली साथी वनाउन सबैभन्दा पहिले युवाहरु पार्टी भित्रका गुट भत्काउन र नेताका व्यक्तिगत पिछलग्गु बन्न छोड्नु पर्छ । पार्टीका कार्यक्रम र दस्तावेजहरुमा चुनाव जीत हारको कुरा मात्र नगरेर बाँझा जमिनहरु कसरी उर्वर वनाउने, वेरोजगार युवाहरुलाइ कसरी उद्यमी वनाउने, देश छोड्ने युवाहरुलाइ कसरी देशभित्रै रोकेर उनीहरुको श्रम र सीपलाइ समुन्नत नेपाल निर्माणमा प्रयोग गर्ने, सरकारी सेवा प्रवाहमा देखिएको ढिलासुस्ती, अनियमितता, अपारदर्शिता कसरी हटाउने, देशका कलकारखाना र औधोगिक क्षेत्रको रुग्ण अवस्था सुधार र विकास कसरी गर्ने, लोकतान्त्रिक मुल्य मान्यतालाई पार्टी भित्र र वाहिर कसरी स्थापित र प्रयोग गर्ने, बेरोजगारी र गरिवीको पीडामा छटपटाइ रहेका जनताको मुक्तिको सुत्र कसरी निकाल्ने भन्नेतिर युवा नेता अनि कार्यकर्ताहरुले समय खर्च गरे पार्टीेले वेहोरिरहेका धेरै चुनौतिहरुको सहज सामाना गर्न सकिन्छ । कोहि पनि मानिस या प्राणी एक पटक हारेपछि या चोट लागेपछि पछिल्ला पटकहरुमा सुध्रिएको देख्न सकिन्छ तर नेपालमा कांग्रेसका नेता कार्यकर्ताहरु पार्टी संगठन र विचार निर्माणको सवालमा सुध्रिएको भन्दा वढी विग्रिएको नै देखिएको छ । 

महाधिवेशनको नजिक पुगेको अवस्थामा व्युँझिएका नेता कार्यकर्ताहरुको जोश नदी नभएर खहरे मात्रै हुने गरेको विगत हामी माझ ताजै छ । यति वेला कांग्रेसमा नीति, सिद्धान्त र विचारको वहस र छलफल भन्दा पनि आगामी नेतृत्व कसरी फुत्क्याउने भन्नेमा तलदेखि माथिसम्मकै नेता कार्यकर्ताहरुको ध्यान केन्द्रीत हुन थालेको छ । वैचारिक र सैद्धान्तिक वहसको शुन्यताले पार्टीको अस्तित्व राप्रपा जस्तो हुने पक्कापक्की हुँदा पनि कोहि नेता कार्यकर्तामा यसबारे गम्भीर चिन्ता पनि देखिदैन । पार्टी सभापति, महामन्त्री र अन्य प्रमुख पदहरुमा दावी गर्नेहरुले अवको ५ वर्ष या दश वर्षको अग्रगामी लक्ष्य र योजना निर्धारण गरेको देखिदैन । अव पनि लोकतन्त्रका लागि यति वर्ष लडेको, जनताको संविधान हाम्रै नेतृत्वमा लेखेको, ७० बर्षसम्म लोकतन्त्र र गणतन्त्रका लागि ठूलो त्याग र वलिदान गरेको, बीपीले यस्तो गरेको, गणेशमान, किशुनजी र गिरिजाबाबु र शुसिलले यस्तो गरेको भन्ने जस्ता पुराना नाराले कांग्रेसले पुरानो विरासत फर्काउन सक्दै सक्दैन । अहिले कांग्रेस हार्नु र कमजोर हुनुको मुख्य कारण नै यहि भएको छ । सधै इतिहास र पुर्खाको योगदान भजाएर जनताको मन जित्न र राष्ट्रमा समृद्धीको मार्ग पहिल्याउन सकिदैन । तीन तीन पटक आम चुनावमा हार खाएर पनि कांग्रेस सुधारका जनमुखी प्रयासहरु कतै देखि भएका देखिदैनन् ।  हुन त यतिबेला नेपाली कांग्रेसले मात्र हारेको या कमजोर भएको अवस्था छैन मुलुकनै कमजोर भएको र हारेको अवस्था छ । 

नेकपाले दुई तिहाइको सरकार वनाउदा पनि लोकतन्त्र र देशले हारेको आभाष भइरहेको छ तर यहि चुनौतिपुर्ण अवस्थावाट देश र पार्टीलाई पार लगाउने सवल, सक्षम र दुरदर्शी नेता कार्यकर्ताहरुको पहिचान अबको महाधिवेसनले गर्नुपर्छ । यो दृष्टी केवल मेरो व्यक्तिगत होइन  राजनीति र देशको चिन्ता गर्ने लाखौं युवाहरुको साझा दृष्टी हो । चुनावमा कसले जित्छ, कसले हार्छ, अनि को सरकारमा जान्छ, को प्रतिपक्षमा वस्छ भन्ने कुरा महत्वपुर्ण होइन । यहि मात्र कुराले खासै मुलुकमा दीर्घकालीन असरको मार्ग समाउछ जस्तो पनि लाग्दैन । प्रश्न के हो भने चुनाव कुन नारा र एजेन्डाले जित्यो ? देश या पार्टी नवनिर्वाचित अवस्थामा कुन दिशामा जादै छ ? बीस तीस बर्ष अघिको नारा र ऐजेन्डा र अहिलेको एजेन्डा फरक छ कि छैन ? पार्टीले लिएको नाराले देश र पार्टीको लागि देखाएको सम्भावना र नयाँ पुस्तामा देखाएको  भविष्य के हो ? राज्य संचालनको प्रवृत्ति, स्वरुप, शैली र नियत वदलियो कि वदलिएन ? व्यक्ति पार्टी, विधि र प्रभाव सधैं एउटै छ कि  समयको माग अनुसार वदलिएको छ ? यहि कुराले आज नेपालीहरुको दिल दिमागमा व्यापक द्धन्द चलाइरहेको छ । यी प्रश्नहरु आम जनतामा मात्र होइन प्रत्यक पार्टीको तल्लो तहका नेता कार्यकर्ता र माथिल्लो तहकै इमान्दार नेता र शुभचिन्तकहरुका मन भित्र र बाहिरका मंचहरुमा पनि उठिरहेका छन् । 

म कांग्रेसप्रति आस्था र विश्वास राख्ने भएको हुनाले मात्र नभइ लोकतान्त्रिक मुल्य मान्यताप्रतिको आफनो दृढ प्रतिवद्धताका कारणले पनि आज नेपाली राजनीतिका शिखर पुरुष जननायक बीपी कोइरालाको जन्मदिनको अवसर पारेर आफुले कल्पना गरेको नेपाली कांग्रेस बारेको आमधारणा समेटेर यी सवालहरु उठाएको हुँ । कांग्रेसलाई विपन्न नेपाली जनता र भरभराउदा युवाहरुको सम्पुर्ण आस्थाको पार्टी भनेर भाषण र प्रतिवद्धताहरुमा मात्र नभइ प्रयोगात्मक रुपमै स्थापित गर्न यी सवालहरु आम जनताको माझ राख्ने जमर्काे गरेको हुँ । मैले  प्रत्यक्ष राजनीति नगरेपनि एउटा जनता, देशको नागरिक अर्थात सचेत वर्गको नाताले विगत र वर्तमानप्रतिको वुझाइ र भविस्यप्रतिको सुन्दर परिकल्पना पेस गरेको हुँ । अहिले सत्तारुढ नेकपाका नेता कार्यकर्ता र शुभेच्छुकहरु हुन या कांग्रेस र अन्य दलका नेता कार्यकर्ता र शुभेच्छुकहरु सवै निकै अप्ठेरोमा छौं । नेता या पार्टीले चुनाव जितेको एक दिन तीन फिट उफ्रेर या घोक्रो सुक्ने गरि नारा लगाएर चिच्यायौं तर हामीले कल्पना गरेको समृद्धी र परिवर्तन  आएन । हामीले नेतृत्वको छनोट भुगोल, जाति, वर्ग र स्वरुप र पारिवारिक अवस्था हेरेर गर्ने चलन बनाएका छौं यो नै हाम्रा लागि अभिषाप जस्तै वनेको छ । यसैका कारण हाम्रा हजारौं सपनाहरुका हत्यारा हामी आफै भइरहेका छौं । आज त्यसैको परिणाम पनि भोग्दै छौं । असल काम र असल संस्कारका साथमा  काम गर्ने नेतृत्वलाई विस्वास गर्न नसक्ने जनता र कार्यकर्ताहरु अनि  जनताको विश्वासलाई वचाउन नसक्ने नेतृत्व नै अहिलेको राजनैतिक विकृतिका मुख्य कारण हुन । 

हामी आफनो चाहना र सपना अनुसार काम नगर्ने तर परिणामको विषयमा व्यापक आक्रोश र कुण्ठा पोख्ने गर्छाैं । यो पनि हाम्रो नेपाली लोकतन्त्रको एउटा अभिषाप वनेको छ । सत्ता पक्ष र विपक्षका नेता कार्यकर्ताहरु गणतन्त्र स्थापना र संविधान लेखको काम सकिएपछि देशमा आमुल परिवर्तन भयो । जनताको संविधान लेखियो । अनि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको कुरामा गर्व गर्दै वेसरी चिच्याए । के जनताको संविधानमा लेखिएका सवै प्रावधानहरु जनताको चुलो र आँगनसम्म पुगे ? सिमित नेता र हुनेखानेले मात्र पाएको अवसर र सुविधा नै पुरा देशमा समृद्धि र विकास हो त ? देशका अधिकांश स्वास्थ्य सस्थाहरुमा औषधी उपकरण र जनशक्ति छैन । लाखौं विपन्न जनताहरु अहिले पनि आधारभुत स्वास्थ्य सेवावाट वन्चित छन् । यो वेला संविधानको स्वास्थ्य सम्वन्धी हक खोइ? माध्यमिक तहसम्म निशुल्क शिक्षा भनिएको छ । तर सामुदायिक विद्यालयहरुले समेत मनपर्दाे शुल्क लिएर गुणस्तरीय व्यवस्थापन गर्न सकिरहेका छैनन । नीजि विद्यालयहरुले खुलेआम शिक्षामा व्यापार गरिरेहका छन् । सरकारी विद्यालयहरुको गुणस्तर र व्यवस्थापन झन जीर्ण वन्दै छ यो वेला शिक्षा सम्वन्धी हक खोइ ? संविधानमा रोजगारीको  हक छ तर प्रत्यक दिन २ हजारको दरले जागिर खोज्न युवाहरु विदेश जान वाध्य छन् । यो संविधानमा लेखिएको रोजगारीको हकको मतलव सक्षम युवाहरु सवैलाइ विदेशमा पठाउने नै हो त ? संविधानमा न्याय र समानताको हक छ तर गैरकानुनी रुपले हत्या गरिएका  नागरिकहरुले न्याय पाएका घटनाहरु विरलै छन् । निर्मला पन्त, नवराज विकको हत्याले संविधान र गणतन्त्रलाइ नै गिज्याइरहेको छ । हामीले खोजेको न्यायपुर्ण समाज यहि हो त ? प्रत्येक विकास योजनाहरुमा कमीसनको खेल खपी नसक्नु छ । तर राज्य संयन्त्रहरुको मिलेमतो र निरीहपना उस्तै छ । के हामीले गरेको संघर्ष र पुर्खाहरुले गरेको वलिदानको परिणाम यहि हो त ? देशमा कानुन छ तर  राज्यको सुरक्षा र प्रशासन संयन्त्र भ्रष्ट, दलाल र वदमासहरुको दवाव र प्रभावमा परेको व्यापक जनगुनासो छ । के हामीले गरेको आन्दोलन र वलिदानको मुल्य यहि हो त ? 

आजको दिन बीपी कोइरालालाइ सम्झेर यी शव्द र विचारहरु राख्दै गर्दा भन्न मन लाग्छ हामीले बाटो गलत मात्र हिडेनौं हाम्रा पुर्खा र सहिदहरुको समेत वदनाम गरेका छौं । अव हाम्रा अघि आउने सवै अवसरहरुमा नयाँ पुस्ताले सुधारको बाटो नरोजे, आफुलाइ वदल्न नसके या विकृतिहरुका विरुद्ध आगो ओकल्न नसके र आफुलाई दासता, गुट र संकीर्ण मनस्थितिको जालवाट बाहिर निकाल्न नसके हाम्रा सवै सपनाहरु हाम्रै कारणले खरानी हुन वेर लाग्ने छैन । बीपी जन्मेको यो पवित्र दिनमा उनै महापुरुषलाइ सम्झेर प्रत्येक कांग्रेसीहरुले एउटा कठोर निर्णय र संकल्प गर्नुको कुनै विकल्प छैन ।   

(केसी सामाजिक लोकतन्त्र अध्ययन केन्द्र जाजरकोटका संयोजक हुन्)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ