arrow

समाजका बुद्धिजीवीले नै कोरोनाको भ्रम फैलाइदिएपछि...

logo
प्रकाशित २०७७ भदौ २४ बुधबार
Ilam-hamrakura.jpg.jpeg

इलाम । केही दिनअघि कोरोना संक्रमतिको समाचार देखेपछि एक स्थानीय व्यक्तिले भने, “कोरोना भाइरस परीक्षणको रिपोर्ट पोजेटिभ आयो भन्ने खबर सुन्दा त बेहोसै भइन्छ होला ।” यस्तै लाग्दैछ यहाँका कतिपय स्थानीयलाई । उनले जस्तै अभिव्यक्ति दिने मानिस समुदायमा धेरै छन् ।

कोरोनाको आतङ्कले अहिले धेरैलाई अनावश्यक डर पैदा गरेको छ । कोरोनाको आतङ्क बढेकै कारण संक्रमण नभएको व्यक्तिलाई समेत संक्रमित भनिने र कोरोनाबाट मुक्त भइसकेका व्यक्तिलाई पनि हेयभावले हेर्ने गरिएका घटनाहरु समाजमा धेरै भेटिन थालेका छन् । कोरोनाबाट बच्न जनस्वास्थ्यका न्यूनतम मापदण्ड अपनाउनुपर्छ, निको भएका व्यक्तिबाट यो सर्दैन भन्नेजस्ता सामान्य जानकारी पनि समाजमा पु¥याउन सकिएको छैन ।

समुदायमा कोरोना के हो र यसबाट कसरी बच्ने तथा कुनै व्यक्ति संक्रमित भए भने पनि उनीहरुलाई कस्तो व्यवहार गर्ने भन्नेबारेमा सचेतनाका कार्यक्रम कम भएकाले यस्ता समस्या आएको विशेषज्ञको भनाइ छ । एकातर्फ कार्यक्रमको खाँचो छ भने अर्कातर्फ समाजमाा यसरी अफवाह फैलाउनेलाई पनि सचेत गराउने गरिएको छैन । कोरोनामुक्त भएकाले पनि आफूलाई नकरात्मक दृष्टिले हेर्ने गरिएकोे दुखेसो छ ।

कोरोना रिपोर्ट नेगेटिभ देखिएपछि घर आउँदा समाजले ‘शत्रु’को व्यवहार गरेको इलाम नगरपालिका वडा नं ८ का मनकुमार राईको दुखेसो छ ।  “कोरोना त थाहै नपाइ जितियो । तर, घर आउँदा नकरात्मक टिप्पणी सुनेँ ।” मनकुमार वैदेशिक रोजगारीका क्रममा ओमानबाट नेपाल आउँदा संक्रमित बने । जिल्ला पस्नेबित्तिकै क्वारेन्टिनमा बसेका उनको कोरोना पोजेटिभ देखिएपछि मोरङको गोठगाउँ कोरोना अस्पतालमा १० दिन बसे । त्यसपछि कोरोना परीक्षण गराउँदा नेगेटिभ आएपछि चिकित्सकको सल्लाहमै उन घर फर्किए । घर फर्किएपछि समाजले अरू बेलाभन्दा भिन्न व्यवहार गरेको उन बताउछन् । “कोरोना लिएरै आएजस्तो ठानियो । म पनि अरूलाई कोरोना फैलाउन त आएको थिइनँ नि”, मनकुमार भने, “घरमा आएर पनि १४ दिन एक्लै बसेँ । तर समाजले सक्रिय संक्रमित भनेरै चिन्यो ।”

कोरोनाबाट बच्न दूरी कायम गर्नुपर्ने, मास्क लगाउनुपर्नेलगायतका जनस्वास्थ्यका नियमहरुको पालना गर्नुपर्ने भए पनि कोरोना जितेका व्यक्ति र यसको उपचारमा अग्रपङ्क्तिमा खटेका व्यक्तिलाई यस्तो व्यवहार गर्दा समुदायमा झन् नकारात्मक सन्देश फेलिने डर हुन्छ । चिकित्सक र सुरक्षाकर्मीले आपत्कालीन समयमा सेवा दिनुपर्दा संक्रमित हुने सम्भावना हुने भएकोले उनीहरुका बारेमा अनावश्यक प्रचार गर्नाले समुदायले गर्ने व्यवहारमा परिवर्तन हुन नसक्ने देखिन्छ ।

अघिल्लो दिनसम्म आफूसँगै रहेका व्यक्ति पनि आफूले कोरोनाको परीक्षण गराएपछि सशङ्कित भएको एकजना चिकित्सकको भनाइ छ । “कोरोनाको रिपोर्ट नै नआइ तपाईँको त कारोना पोजेटिभ देखिएछ है भन्दै फोन आयो”, नाम नखुलाउने शर्तमा आफ्नो गुनासो सुनाएका ती चिकित्सकले ‘‘अत्यासलाग्दो गरी फोन आएपछि आफू पीडामा परेको” सु्नाए ।

आफ्ना बारेमा भ्रम फैलिएपछि आफूकहाँ जाँच गर्न समेत बिरामी आउन छाडेको उनको दुखेसो छ । भ्रमपूर्ण सन्देशकै कारण समाजमा कोरोनाको आतङ्क फैलिरहेको छ । आतङ्क बढी फैलिएकाले ग्रामीण भेगका बासिन्दाहरुमा अझ बढी कोरोनाको त्रास भएको इलामका कोरोनाका फोकल पर्सन विमल बराल स्वीकार गर्छन् । समाजका बुद्धिजीवीले नै कोरोनाको भ्रम फैलाइदिएको बरालको भनाइ छ । “जान्नेबुझ्ने मान्छे नै गलत सूचना दिँदा समुदायमा असर परेको हो ।” क्वारेन्टिनका व्यक्तिमा कोरोना देखिँदा समुदायकालाई देखिएको भन्ने र स्थानीय सरकारले समेत आवश्यकताभन्दा बढी ‘सिल’ र बन्दाबन्दी गर्दा त्रास पैदा भएको उनको भनाइ छ । “हालसम्म पनि कोरोना समुदायमा गएको छैन”, बराल भन्छन्, “सही सूचना दिनुपर्नेबाटै गलत सूचना सम्प्रेषण भएपछि धेरैमा आतङ्क मच्चिएको हो ।”

सचेतना कम हुँदा त्रास फैलियो
कोरोना संक्रमणको समयमा क्वारेन्टिन बनाउनेदेखि संक्रमितको जानकारी गराउने काम स्थानीय तहले गरे । कोरोना छिटपुट देखिँदा नै जिल्लाका १० स्थानीय तहमा क्वारेन्टिन निर्माण भए । हालसम्म कोरोना समुदायमा फैलिएको छैन तर स्थानीय तहले कोरोनाको सचेतना फैलाउन भने कमजोर देखिए ।

स्थानीय तह मात्र नभई जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयले समेत सचेतनामा वास्ता गरेका छैनन् तर नयाँ रोग भएकाले व्यवस्थापनमा समस्या आएको जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बरालको भनाइ छ । “कोरोनाको सचेतनाका लागि नागरिकस्तरबाटै सचेतना जगाउनुपर्छ”, बराल भन्छन्, “तर शुरुआती दिनमा जस्तो कोरोनाको आतङ्क अहिले छैन ।”

आत्मबलले जितिन्छ कोरोना
हालसम्म जिल्लाका आधाभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । कोरोना देखिएमध्ये पनि अधिकांशलाई लक्षण छैन । जिल्लामा मृत्युको घटना छैन भने संक्रमण देखिएकामध्ये पनि धेरैजसो संक्रमित लामो समय अस्पताल बस्नुपरेको छैन । यसैले पनि अहिलेसम्म कोरोनाको अवस्था भयावह नभएको स्वास्थ्य कार्यालयको दाबी छ ।

यतिमात्र नभई पछिल्लो समय त कोरोना निको भएका व्यक्तिले भने कोरोना जित्नका लागि आत्मबल आवश्यक रहेको बताउँदै आएका छन् । कोरोना देखिएमा सतर्कता अपनाउने, आत्मबल दृढ बनाउने र पोसिलो खाना खानुपर्ने उनीहरूले बताएका छन् । दह्रो आत्मबल भएकै कारण आफू कोरोना जित्न सफल भएको सशस्त्र प्रहरी बलका एक अधिकृतको भनाइ छ ।

सामान्य लक्षण (ज्वरो र स्वाद थाहा नहुने) पछि कोरोनाको आशङ्कामा परीक्षण गराउँदा उनको रिपोर्ट पोजेटिभ देखिएको थियो । “कोरोना लागे पनि जितिन्छ नि भन्ने लाग्यो” अधिकृतले भने, “तर केही सञ्चारमाध्यमले घरमा गएर बस्थ्यो भनेर अफवाह फैलाएछन् । सुन्दा दुःख लाग्यो ।”

“शुरुमा त घरमा थाहा नभएर सँगै बसे तर पछि आशङ्का लागेपछि छुट्टै कोठामा बसेको थिएँ” उनले भने,“मेरा बालबच्चाको माया हुन्छ नि कसरी बेवास्ता गर्न सक्थेँ र ?” तर अहिले उनको परिवार र कन्ट्याक्ट ट्रेसिङमा परेका सबैको रिपोर्ट नेगेटिभ आइसकेको छ ।

जिल्लामा हालसम्म ८८ जना संक्रमितमध्ये ७८ जना कोरोनामुक्त भइसकेका छन् । अन्य संक्रमितको पनि स्थिति सामान्य रहेको स्वास्थ्य कार्यालय इलामले बताएको छ । कोरोना संक्रमित देखिने अधिकांश सुरक्षाकर्मी छन् तर केही हप्तायता उनीहरुमा पनि देखिएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ