arrow

पौडेल पक्षद्धारा राजनीतिलाई सम्मानित बनाउने अभियान सुरु

logo
प्रकाशित २०७३ जेठ १२ बुधबार
RC.JPG.jpeg
काठमाडौं । नेपाली काँग्रेसको १३औं महाधिवेशनमा सभापतिका उम्मेदवार भएका नेपाली काँग्रेसका तत्कालिन उपसभापति रामचन्द्र पौडेलले आफ्नो चुनावी एजेण्डमा मध्ये महत्वका साथ लिएको एजेण्डा थियो राजनीतिलाई सम्मानित बनाउने । 
 
काठमाडौंको खुल्ला मंचमा भएको महाधिवेशनको उद्घाटन समारोहमा पनि नेता पौडेलले राजनीति प्रति आम नागरिकमा देखिएको वितृष्णाले आफुलाई कहिले कहिले आत्महत्या गरुँ की झै हुन्छ भनेर आफ्नो मनको बह पोखेका थिए । धेरैको मन छोएको र धेरैले महशुष गरेको उनको सो आफ्से आफ आएको अभिव्यक्ति पछि उनले राजनीतिलाई सम्मानित गराउन आफु सभापति बन्न चाहेको बताएका थिए । 
 
उनको चाहना प्रति धेरैको सद्भाव भएपनि निर्वाचनमा पराजित भएका पौडेल सभापति बन्न नसकेपनि राजनीतिलाई सम्मानित गराउने अभियान भने सुरु गरेका छन् । 
 
राष्ट्रिय समता दिवसका अवसरमा राजनीतिलाई कसरी सम्मानित क्षेत्र बनाउन सकिन्छ ? शिर्षकमा गोष्ठीको आयोजना गरेर उनले अभियानको सुरुवात गरेका हुन् । उनी निकट नेताहरु रहेको सामाजिक लोकतन्त्र अध्ययन केन्द्र नामक गैरसरकारी संस्थाको आयोजनामा भएको कार्यक्रममा सहभागी पनि उनी निकटकै नेता कार्यकर्ताहरु बढी थिए । 
 
लामो समयको अमेरिका भ्रमणबाट स्वदेश फर्किएपछि भएको कार्यकर्ताहरुसंगको पहिलो कार्यक्रममा बोल्दै बरिष्ठ नेता पौडेलले राजनीतिलाई सम्मानित गराउन गाउँदेखिका नेता–कार्यकर्ता जनसेवी र चरित्रवान हुनुपर्ने बताए । जनताले आफ्नो नजिकको नेतालाई राम्रोसँग चिन्ने भएकाले उनीहरुले आफूप्रति आदरभाव उत्पन्न हुने बनाउनुपर्ने उनको भनाई थियो ।
 
अहिले नेपालको राजनीति भनेकै सत्ताको लुछाचुँडी, ढाँटछल, गण्डागर्दी र झुटा आश्वासन बाँड्ने कार्यका रुपमा बुझ्न लागिएकोप्रति चिन्ता व्यक्त गर्दै उनले राजनीतिलाई मर्यादाको सीमाभित्र राख्नुपर्नेमा जोड दिए । 
 
मुलुकको विकास र सुधारको अगुवाइ गर्ने राजनीतिक दल र नेता नै पहिला सुध्रिनुपर्ने वरिष्ठ नेता पौडेलको भनाइ थियो । उनले भने– ‘राजनीति माफियावादबाट मुक्त हुनुपर्दछ, सिद्धान्तमा आधारित भई समानता र न्याय दिलाउन सक्ने हुनुपर्दछ ।’ उनले मुलुकमा सिद्धान्त काँग्रेसको विजयी भए पनि कार्यकर्ता भने कम्युनिस्टको धेरै हुनुको पछाडि काँग्रेसले आफ्नो मूल्य, मान्यता र योगदानलाई जनताका बीचमा पर्याप्त रुपमा लैजानु नै मुख्य कारण भएको बताए ।
 
कार्यक्रममा पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहले नेता तथा कार्यकर्ताको जीवनशैली र व्यवहार जनमैत्री भएमा राजनीतिक क्षेत्रको सम्मान आफैँ बढ्ने बताए । ‘आम जनताको चाहनाअनुसार काम गर्न सके सम्मानित हुन्छ, नसके सम्मान हैन वितृष्णा वा घृणा बढ्छ,’ उनले भने ।
 
काँग्रेसकै नेता तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले ठूला सपना बाँड्ने तर पूरा गर्न नसक्ने र सेवाका लागिभन्दा पेसाका लागि राजनीति प्रयोग हुन थालेकाले राजनीतिक क्षेत्रको आलोचना भएको बताए । उनले काँग्रेसले राजनीतिक मात्रै नभई सामाजिक क्रान्ति पनि गरेको दाबी गर्दै मुलुकमा काँग्रेसकै कारण धेरै परिवर्तन सम्भव भएको तर्क गरे । मुलुकको परिवर्तनमा काँग्रेसको योगदान छ भन्ने आमनागरिकलाई जानकारी गराउन सकेमा राजनीतिप्रतिको सम्मान बढ्ने उनले उल्लेख गरे । 
 
राजनीति शास्त्री प्रा. कृष्ण खनालले राजनीति सम्मानित नै भएपनि राजनीतिज्ञहरुको व्यवहारका कारण वितृष्णा बढेको तर्क गरे । सत्तामा बसेर राजनीतिलाई सम्मानित गराउने अभियान चलाउन नसक्ने भन्दै उनले काँग्रेस कति बर्ष सत्ता भन्दा बहिर रहन सक्छ भनेर प्रश्न गरे । पाएको बेला सत्तामा जाने दाउ पनि हेर्ने र सम्मानित राजनीतिको कुरा पनि गर्न नसुहाउने प्राध्यापक खनालको टिप्पणी थियो । 
 
कार्यक्रममा काँग्रेसका कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु प्रदीप गिरी, मानबहादुर विश्वकर्मा, जीवन परियार, राजनीतिज्ञ नीलाम्वर आचार्य, मधु आचार्यलगायतले नेताहरुकै कारण राजनीतिप्रतिको सम्मान खस्कीदै गएको बताएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ