arrow

इशान र शेषनारायणलाई प्रहरीले प्रशासनमा बुझायो, सिडिओले भने–‘ इजलास हुन बाँकी’

दुवैले बन्दीप्रत्येक्षीकरणका लागि सर्वोच्चमा रिट हाले

logo
प्रकाशित २०७३ जेठ १३ बिहिबार
raktim-birodh.jpg.jpeg
काठमाडौं । सिंहदरबारको पश्चिम गेट अर्थात् मूल प्रवेशद्वारको भित्तामा रगत जस्तै देखिने रातो रङ्ग छ्याप्ने इशान अधिकारी र उनलाई साथ दिएको भनिएका शेषनारायण झालाई प्रहरीले जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ । वुधबारै बुझाउने तयारी भएपनि समय अभावका कारण सरकारी वकिल कार्यालयबाट फिर्ता भएको महानगरीय प्रहरी परिसर बृत्त सिंहदरबारले विहिबार कार्यालय समयको सुरुमै प्रशासनमा बुझाएको हो । 
 
बृतका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रजित केसीले आफुले प्रशासनमा बुझाइसकेको जानकारी दिए पनि काडमाडौं प्रशासन प्रमुख एवं प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले आफुकहाँ त्यसको जानकारी नआएको बताएका छन् । 
 
प्रजिअ सुवेदीले हाम्राकुरालाई भने, ‘तल शाखामा बुझाइएको होला, म कहाँ अन्तिम आवर तिर मात्रै आउँछ , जसको इजलास बेलुकी साढे चार बजेपछि मात्रै हुन्छ ।’ म्याद थप गरिएको हो ? जवाफमा प्रजिअ सुवेदीले भने, ‘इजलास नै नभएकाले के भयो भन्न सकिँदैन । निर्णय इजलासपछि हुन्छ ।’ यद्यपि, प्रशासनले ४ दिनको म्याद थपेर अनुसन्धान गर्न भनेको जानकारी आएको छ । 
 
प्रहरीले गएको सोमबार दोस्रो पटक पक्राउ परेका अधिकारी र झालाई मंगलबार ३ दिनको म्याद थपेर हिरासतमा राखेको थियो । म्याद विहिबार सकिएकाले प्रहरीले प्रशासनमा बुझाउनु अघि म्याद थप गरेको सिंहदरबार बृत्तले जनाएको छ । 
 
बृत्तले दुबैलाई सार्वजनिक अपराध अन्तर्गत कारबाही प्रक्रिया अघि बढाएको छ । निषेधित क्षेत्रमा उश्रृंखल कार्य गरेको भन्दै आइतबार पक्राउ गरी सम्झाई–बुझाई  छाडिएकोमा सोमबार समेत दुवैले त्यस्तै हर्कत गरेपछि पुनः पक्राउ गरी मंगबार अनुसन्धानका लागि म्याद थपिएको केसीले बताए । केसीले भने, ‘समस्या हुने थिएन, इशानसंगै पक्राउ परेका शेषनारायण अहिले आएर पत्रकार हुँ भनिरहेका छन् । त्यसैले निर्णयका लागि प्रशासनमा बुझाएका हौं । केसीले भने, ‘सार्वजनिक मुद्दा लागिसक्यो । अव प्रशासनको निर्णयानुसार कारबाही हुन्छ ।’
 
इशानले सिंहदरबारको भित्तामा आफुले सांकेतिक विरोध स्वरुप रङ्ग छ्यापेको स्वीकारेका छन् । विरोध गर्न पाउने व्यक्तिको लोकतान्त्रिक अधिकार भएपनि  निषेधित क्षेत्रमा उश्रृंखल गर्न पाइँदैन । इशानले सिंहदरबारको भित्तामा रंङ्ग छ्यापेपछि स्वदेश बचाउनका लागि भन्दै निर्जल ब्रत प्रारम्भ गरेको सार्वजनिक अपिल समेत गरेका थिए । 
 
उनले सार्वजनिक गरेको अपिलमा पूरै नाम नलेखिएपनि ई. इशान स्वतन्त्र लेखेका थिए । हस्ताक्षरको स्थानमा औंठाछाप लगाएका उनले प्रहरीसंगको बयानमा आफु राजनीतिक कार्यकर्ता रहेको बताएका छन् । यद्यपि, उनी कुन् दलसंग सम्बिन्धित छन् भन्ने आफुहरुले नसोधेको प्रनाउ केसीले बताए । 
 
आफुलाई ईन्जिनियर समेत भन्ने उनले धेरै कुरा प्रहरीसंग खोलेका छैनन् । सिंहदरबारमा आफु रङ्ग छ्याप्नैकै लागि गएको बताइसकेकाले उनी सार्वजनिक अपराधको भागिदार बनिसकेका प्रहरीले जनाएको छ । यद्यपि उनीसंगै रङ्ग छ्याप्ने कार्यमा संलग्न रहेको भनिएका शेषनारायण झा पत्रकार हुन् । झा समयवोध साप्ताहिकसंग आवद्ध रहेका र उनी पक्राउ परेको विरोधमा पत्रकार महासंघले विरोध गरेको छ । यस्तै सामाजिक संजालमा झालाई रिहाइ गर्न भन्दै व्यापक  आवाज उठेको छ ।  
 
यसैबीच, प्रनाउ केसीले मधेसी पत्रकार भएकै नाताले राज्यले दमन गर्दै पक्राउ गरेको भन्ने हल्ला छ त्यो भ्रम मात्रै हो भनेका छन् । उनले भने, ‘उहाँ एक दिन हैन आइतबार र सोमबार लगातार पक्राउ पर्नु भएको छ । दुई दिन पक्राउ पर्दा समेत उहाँले पत्रकार हुँ भन्नु भएन । पछि तेस्रो दिन मंगलबार म्याद थपका क्रममा म पत्रकार हुँ, भन्नु भयो । अहिले पत्रकार हुँ फोटो खिच्नका लागि गएको थिए भन्नु हुन्छ ।’
 
हामीले संलग्न भनेर पक्राउ गरेको हो । म्याद थप गर्दा समेत पत्रकार हो संलग्न नि भएको भन्नु भयो, केसीले थपे, ‘त्यहाँ संका गर्ने ठाउँ रहयो ।’ अर्का पत्रकार समेत त्यहाँ पुगेका थिए । उनी पनि पक्राउ परे । सन्तोष ओझाले हो म रिपोटिङका लागि गएको हुँ भने, हामीले छाडी दियौं । उहाँले त्यसो भन्नु भएन । उल्टै लुकाउनु भयो । इशानले म रङ्ग छ्याप्नकै लागि गएको हुँ भने । उनलाई छोड्ने कुरा रहँदैन । शेषनारायणको हकमा कतै निर्दोष व्यक्ति समातियो की भनेर सिडियो कहाँ बुझाइएको हो–केसीले विस्तारमा भने । 
 
यसैबीच, अधिकारी र झाले वुधबार सर्वोच्च अदालतमा बन्दीप्रत्येक्षीकरणको माग गर्दै रिट दर्ता गरेका छन् । प्रहरीले गैरकानुनी तवरले पक्राउ गरी थुनामा राखेको भन्दै रिट दिएका हुन् । यद्यपि, निषेधित क्षेत्रमा उश्रृंखल गर्न नपाइने प्रहरी प्रशासनको भनाई छ । पत्रकार शेषनारायणलाई प्रहरीले फोटो खिचेको आधारमा र मधेसी पत्रकार भएकै कारण रिस साँध्न पक्राउ नगरेको प्रष्ट्याँदै उनी समेत रंङ्ग छ्याप्ने कार्यमा संग्लग्न देखिएकाले पक्राउ गरेको जिकिर गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ