arrow

बजेटपछि मेरो नेतृत्वमा सरकार बन्छ : दाहाल

logo
प्रकाशित २०७३ जेठ १३ बिहिबार
dahal-new-jel.jpg.jpeg
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बजेटपछि आफ्नो नेतृत्वमा सरकार बन्ने सहमति एमालेसँग भएको बताएका छन् । क्रान्तिकारी पत्रकार सङ्घ चितवनले गरेको पत्रकार सम्मेलनमा दाहालले लिखित रुपमा नभई दुई पार्टीका बीचमा नौ बुँदे सहमति हुँदा समझदारी भएको स्पष्ट पारे । 
 
यसअघि नै आफूले राष्ट्रिय सहमतिको सरकारमा जोड दिँदै आएको भन्दै दाहालले अब बन्ने सरकार राष्ट्रिय सहमतिको सरकार हुनेमा आफू विश्वस्त रहेको बताए । संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण, मधेस समस्या समाधान र विकास निर्माणका लागि राष्ट्रिय सहमति जरुरी रहेको धारणा राखे ।  
अध्यक्ष दाहालले भूकम्प गए लगत्तै राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेकाले दह्रोसँग उभिन तत्कालिन प्रधानमन्त्री सुशील कोइरालालाई आफूले आग्रह गरेको भन्दै उनले संविधान जारी हुँदासमेत आफूले राष्ट्रिय सहमतिमै जोड दिएको चर्चा गरे । 
 
अहिले राष्ट्रिय सहमति आफ्नो पक्षमा जुट्न सहज भएको समेत दाहालले बताएका छन् । माफी मिनाहासम्बन्धी ऐन अन्तिम चरणमा पुगेको बताउँदै उहाँले द्वन्द्वकालीन मुद्दाहरु शान्ति प्रक्रियाअनुरुप टुङ्ग्याउनुपर्ने बताए । सहमतिमै बजेट आउने बताउँदै दाहालले कार्यान्वयन पक्ष जटिल हुने गरी बजेट नआउने उल्लेख गरे । 
 
अदालतमा लिखित जवाफ पठाउने 
माओवादी अध्यक्ष दाहालले सर्वोच्च अदालतमा शुक्रबार लिखित जवाफ पठाइने बताएका छन् । अदालतको मानहानीसम्बन्धी मुद्दामा दाहाललाई सर्वोच्चले शुक्रबारसम्म जवाफ दिन आदेश गरेको विषयमा कुरा गर्दै अध्यक्ष दाहालले अदालतको आफूले सम्मान गर्ने बताउँदै आफैँ जानुपर्ने नदेखिएकाले लिखित जवाफ लिएर वारेस पठाउने बताए । 
 
स्थानीय निर्वाचन सहमतिमा 
दाहालले स्थानीय निकायको निर्वाचन दलहरुको बीचमा सहमति गरेर समयको टुङ्गो लगाइने बताए । उनले फागुनको अन्त्यसम्ममा स्थानीय पुनःसंरचना आयोगको प्रतिवेदन आउने हुँदा त्यसअघि निर्वाचन नगर्न कांग्रेसले सुझाएको भन्दै सबैको सहमतिमा मिति तय हुने बताए ।  
 
आयोगको प्रतिवेदनपछि गाउँपालिका, नगरपालिकालगायतका स्थानीय निकायहरुको निर्वाचन हुने हुँदा संविधान कार्यान्वयनमा सहज हुने दाहाललको भनाई छ । सबै दलको सहमतिमा चैत वैशाखमा निर्वाचन हुँदा राम्रो हुने बताउँदै दाहालले मङ्सिरमा निर्वाचन गरेर फेरि छिट्टै निर्वाचन हुने हुँदा काँग्रेसले उठाएको विषयलाई पनि दलहरुले गम्भीर रुपमा लिएको उल्लेख गरे । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ