जिल्ला सभापति भुवन श्रेष्ठ सहितका नेता कार्यकर्तामाथि भएको दुर्व्यवहारप्रति गम्भीर आपत्ति
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ५ सोमबार
617
Shares
काठमाडौं। गुल्मी जिल्लामा स्थानीय एक मुद्दामा केन्द्रीत रहेर नेपाली कांग्रेस जिल्ला कार्यसमितिले जिल्ला प्रशासन कार्यालय समक्ष ज्ञापनपत्र बुझाउने कार्यक्रममा भएको दुर्व्यवहार र ज्यादतीमाथि कांग्रेसले आपत्ती जनाएको छ ।
कोरोनाको प्रतिकूलता दृष्टिगत गरेर भौतिक दुरी कायम गर्दै निकालिएको र्याली पछि जिल्ला प्रशासन कार्यालय पुगेका पार्टीको जिल्ला नेतृत्व र कार्यकर्ताहरुलाई प्रशासन कार्यालयमा प्रवेश गर्न रोकिए पश्चात ज्ञापन पत्र बुझाउन जान दिन आग्रह गरिरहँदा प्रहरीद्वारा उल्टै बल प्रयोग गरिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वक्तव्य निकालेर जानकारी दिएका छन्।
पार्टीका जिल्ला सभापति भन्ने जान्दाजान्दै पनि सभापति भुवन श्रेष्ठ माथि पनि प्रहरीले धक्कामुक्का गर्दै दुर्व्यवहार गरि उनी सहित प्रदेश क्षेत्रीय सभापति पूर्ण के.सी लगायतका साथीहरु घाइते भएको कांग्रेसले जनाएको छ ।
शान्तिपूर्ण प्रदर्शन गर्न पाउने, आफ्नो विमती, विरोध र माग प्रस्तुत गर्न पाउने संविधानप्रदत अधिकार प्रयोग गर्दा भएको दुर्व्यवहारलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको शर्माले बताए ।
स्थानीय प्रशासनको दुर्व्यवहारको घटनाप्रति प्रधानमन्त्री समेतको ध्यानाकर्षण गराउँदै नेपाली कांग्रेसले तत्काल गृहमन्त्रीबाट सार्वजनिक स्पष्टीकरण माग गरेको छ ।
गुल्मी घटनाको यथार्थ छानविन गरेर घटनाका दोषीलाई कार्वाही गर्न नेपाली कांग्रेसको तर्फबाट प्रवक्ता शर्माले माग गरेका छन् । यस्ता प्रकारका घटना दोहोर्याएर प्रतिपक्षलाई जिस्काउने कार्य नगर्न गृह प्रशासनलाई नेपाली कांग्रेसका तर्फबाट शर्माले चेतावनी दिएका छन्।