arrow

सुदूरपश्चिम सरकारले उदाहरणीय काम गर्न नसकेको प्रदेश सभाका सदस्य खड्काको आरोप

logo
प्रकाशित २०७७ असोज ६ मंगलबार
khadka-sahayog.jpg

डोटी । डोटी जिल्लामा क्रियाशील गैरसरकारी संस्थाहरूले ४१ औँ सामाजिक सेवा दिवसको अवसरमा बाल सुधार गृह सिलगढीमा रहेका बालकहरूलाई फलफूल वितरण गरेको छ ।

फलफूल वितरण कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सभाका सदस्य भरत बहादुर खड्काले सुदूरपश्चिम प्रदेशलाई समृद्ध प्रदेश बनाउन दक्ष युवा जमातको आवश्यकता रहेको बताए । उनले भने हाम्रो प्रदेश प्रचुर सम्भावना बोकेको क्षेत्र हो युवा वर्गले नवीनतम सोचका साथ अगाडी बढ्नुपर्छ सरकारले लगानी गर्नुपर्छ । सुदूरपश्चिम प्रदेश सरकारले सामाजिक सेवाको क्षेत्रमा उदाहरणीय काम गर्न नसकेको आरोप समेत लगाए ।

सामाजिक सेवालाई सुख समृद्धि र उद्यमशीलता सँग पनि जोड्न आवश्यक रहेको गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य लक्ष्मण बहादुर खड्काले बताए । उनले भने सेवा र रुपान्तरण सभ्यताको प्रतिक हो, हामी सबैजना समाजका एकाइ हौँ र समाज हाम्रो मूल्य र मान्यताको धरोहर हो । त्यसैले प्रत्येक युवामा सामाजिक सेवाको भाव हुनुपर्छ ।

कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासङ्घ डोटी शाखाका अध्यक्ष रघु बहादुर कठायतले समाज सेवामा नागरिकहरूको आकर्षण अनि नयाँ पुस्तालाई समाज सेवाप्रति अभिप्रेरित गर्नका लागि दिवसको महत्त्व रहेको बताए । बालसुधार गृहमा रहेका ३८ जना बालकहरूलाई र जिल्ला अस्पतालमा रहेका १० जना बिरामीहरूलाई फलफूल वितरण गरिएको समेत अध्यक्ष कठायतले बताए ।

फलफूल वितरण कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी भीम प्रसाद भटराई, सुदूरपश्चिम प्रदेश सभा सदस्य भरत बहादुर खड्का, जिल्ला समन्वय समिति डोटीका संयोजक राम बहादुर ऐर जिल्लामा क्रियाशील सङ्घ संस्थाका प्रमुख प्रतिनिधि, नागरिक समाज, पत्रकार लगाएको सहभागिता रहेको थियो ।

गैरसरकारी संस्था महासङ्घ डोटी शाखाले आयोजना गरेको फलफूल वितरण कार्यक्रमलाई सामुदायिक विकास केन्द्र, सम विकास केन्द्र, सोर्स नेपाल र गुड नेर्भसले आर्थिक सहयोग गरेका थियो ।

२०३४ सालमा समाज कल्याण परिषद् स्थापना भएको अवसरमा प्रत्येक वर्ष यस दिवसलाई मनाउन थालिएको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ