त्रिपुरासुन्दरीको बेथितिविरुद्ध कांग्रेस आन्दोलित, चार दिनदेखि धर्ना
प्रकाशित २०७७ असोज ७ बुधबार
355
Shares
धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा भएको बेथिति अन्त्यका लागि नेपाली कांग्रेसले चार दिनदेखि थालेको शान्तिपूर्ण आन्दोलन र धर्नामा धादिङ जिल्ला पार्टीले ऐक्यवद्धता जनाएको छ ।
कार्यालयमा भएका बेथिति, भ्रष्टाचार तथा अनियमितता र प्रत्यक्ष जनसरोकारका विषयलाई लिएर चार दिनदेखि नेपाली कांग्रेस, त्रिपुरासुन्दरी गाउँपालिका कार्यसमितिले गाउँपालिका कार्यालयमा शान्तिपूर्ण आन्दोलन र गाउँपालिकाका उपाध्यक्षको नेतृत्वमा धर्ना कार्यक्रम सञ्चालन गरेको हो ।
नेपाली कांग्रेस धादिङका जिल्ला सभापति रमेश धमलाले प्रेस विज्ञप्ति जारी गर्दै उक्त कार्यक्रमप्रति ऐक्यबद्धता जनाएको उल्लेख गरेका छन् । विज्ञप्तिमा लेखिएको छ, ‘गाउँपालिकाका नेपाली कांग्रेस र भ्रातृ तथा शुभेच्छुक संस्थाका नेता कार्यकर्ता, जनसमुदाय, बुद्धिजीवी, पेशा व्यवसायी, किसान, श्रमिक, युवा, विद्यार्थीहरुलाई आन्दोलनका कार्यक्रममा सहभागिता जनाउन अपिल गर्दछ ।’
लेखिएको छ, ‘जनताको लामो संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानसभाबाट निर्मित संविधानको भावना र मर्मबमोजिम स्थानीय तहबाट जनताले सुशासनको प्रत्याभूति हुने गरी गाउँ कार्यपालिकाबाट विधिसम्मत कार्यसम्पादन हुनुपर्दछ भन्नेमा नेपाली कांग्रेस धादिङ दृढ मान्यता राख्दछ । तर आर्थिक वर्ष २०७७–०७८ को गाउँसभा असार १० गते नै सम्पन्न गरी नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिसक्नुपर्नेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट निर्वाचित अध्यक्षले पहिलो चौमासिकको आधा समय गुज्रिँदासमेत त्यसको कुनै तयारी नगरी अवैध, अनियमित र अपारदर्शी ढंगबाट बजेट खर्च गरिराख्नु जनमतको अवहेलना हो ।’
विज्ञप्तिमा थप लेखिएको छ, ‘संघीय सरकारले नियमित प्रक्रियाबाट जिम्मेवारी दिएर पठाएको प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा हाजिर हुन नदिई अपमानजनक रूपमा अवरोध सिर्जना गरी सत्ताको दुरुपयोग गरी फिर्ता पठाउने र निमित्तको भरमा विगत छ महिनादेखि चलाइराखेको कुशासन, भ्रष्टाचार, अनियमितता, अपारदर्शी र मनोमानी गतिविधिलाई ढाकछोप गर्ने र निरन्तरता दिने योजनाबद्ध दुराशयलाई मूर्त रूप दिन सम्पूर्ण शक्ति लगाइएको छ ।’
धमलाले विज्ञप्तिमा भनेका छन्, ‘समस्याको समाधान मुद्दाकेन्द्रित अर्थपूर्ण वार्ताबाट गरिनुपर्छ भन्ने नेपाली कांग्रेस धादिङको स्पष्ट मत छ । यसतर्फ गाउँपालिका नेतृत्व गम्भीर हुनुपर्नेमा आन्दोलनलाई नजरअन्दाज गरी आन्दोलनविरुद्ध गतिविधि गरिनु खेदजनक छ । नेपाली कांग्रेस धादिङ विधिपद्धति, सुशासन र पारदर्शिताको पक्षमा जारी आन्दोलनको सम्मान गरी मागहरू पूरा गर्न वा नेपाली कांग्रेस र उपाध्यक्ष नेतृत्वको टोलीसँग छुट्टाछुट्टै सार्थक वार्ता गरी लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउन सम्बन्धित पक्षसँग अपिल गर्दछ ।’