arrow

थोरै लगानीमा गाडी गुड्ने पक्की पुल बनाएपछि स्थानीयलाई राहत  

logo
भेषराज बिष्ट,  
प्रकाशित २०७७ असोज ७ बुधबार
pakki-pul-surma.jpg

बझाङ  । गाडी गुड्ने पक्की पुलका लागी सरकारी कार्यालयहरुले करोडौको बजेट खर्च गरी निर्माण गर्ने भए पनि यहाँको एक गाउँपालिकाले भने थोरै लगानीमा पुल निर्माण गरे पछि स्थानीयलाई भने निकै राहत मिलेको छ । 

जिल्लाको उत्तरी भेगमा पर्ने सुर्मा गाउँपालिकाले भने १७ लाख रुपयाँको लागतमा गाडी गुड्ने पक्की पुल निर्माण गरे पछि गाउँपालिकामा बर्ष भरि गाडी चल्ने भएका छन् । 

बाहुली गाड लगाएका गाउँपालिका भित्रका चार वटा खोलामा बर्षायाममा हो वा भारी बर्षा भएका बेला बाढी आउने रखोलाहरुमा पानीको मात्रा बढेपछि यातायातका साधनहरु ओहोरदोहोर गर्न निकै समस्या हुने गर्दथ्यो ।  

गाउँपालिकाका सबै वडाहरुमा सडक सञ्जाल जोडिएको भए पनि यहाँका स्थानीय खोलाहरुमा यातायातका साधनहरु बर्षेनी अबरुद्ध हुदै आएपछि दैनिक उपभोग्य बस्तुहरु समेत ढुवानी गर्न निकै समस्या हुँदै आएको थियो ।

 सुर्मा १ का दिनेश बोहोराले भने पक्की पुल बनेपछि भने यो समस्या हटेको छ  ।  आर्थिक वर्ष ०७४–७५ बाट गाउँपालिकाले गाउँपालिका भित्रका चार वटा खोलाहरुमा पक्की पुल निर्माणका लागी लागत स्टिमेट सहित थोरै लगानीमा पक्की पुल निर्माण गरेपछि  यहाँका स्थानीयलाई सहज भएको हो ।   
सुर्मा गाउँपालिकाले यसै आर्थिक बर्षमा गाउँपालिकाको पर्यटकिय क्षेत्र सुर्मा मन्दिर जोड्ने मैत्रिगाडमा १७ लाख रुपयाँको लगानी र स्थानीयको जानश्रमदानबाट ९ मिटर लम्बाई साडे चार मिटर चौडाई भएको आरसिसि ढलाल सहितको पक्की पुल निर्माण गरेको छ ।  

स्थानीयबासीहरुले यहाँका बिभिन्न खोलाहरुमा पक्की पुलका लागी बारम्बार प्रदेश तथा संघीय सरकारलाई माग गरे पनि माग पुरा नभएपछि गाउँपालिकाको लगानीमा आरसिसि ढलान सहितको पक्की पुल निर्माण गरेको हो । 

सुर्मा गाउँपालिकाका अध्यक्ष नरबहादुर बोहराले भने, ‘पहिलो चरणमा हामीले गाउँपालिका भित्रका सबै वडा भित्र सडक निर्माणलाई प्राथमिकतामा राखि निर्माण कार्य गरेका थियौं र त्यसैसंग पक्की पुलका लागी बिभिन्न निकायमा पनि पहल गरेका थियौ । तर कतैबाट पनि सहयोग नपाएपछि विकल्पका रुपमा गाउँपालिका भित्रका ईन्जिनियरहरुलाई थोरै लगानीमा लागत स्टिमेट तयार गरि पक्की पुल बनाउने योजना अनुसार हाल चार बटा पक्की पुल निर्माण गरेका हौँ ।’

उनले यी पुलहरुको दिगोपनाका बारेमा समेत ब्यापक छलफल गरि कम्तीमा पनि एक सय बर्ष आयु भएका पुलहरुको निर्माण गरेको बताए । 

गाउँपालिकाले तीन बर्ष अगाडिसमेत गाउँपालिकाको मुख्य सडक डोगडी पावर हाउस नजिकै  समेत १८ लाखको लागतमा स्थानीयको जनश्रमदानमा गाडी गुड्ने बेलिब्रिज समेत निर्माण गरेको थियो । 

यसका साथै सुर्मा गाउँपालिकाबाट छबिसपाथीभेरा गाउँपालिका जोड्ने मयागाडमा समेत १८ लाखको लागतमा पक्की पुल निर्माण गरेको थियो ।

त्यस्तै सुर्मा सरोवर ताल जाने रैथलीगाडमा समेत ३५ लाख रुपयाँको लगानीमा गाडी गुड्ने बेलिब्रिज निर्माण गरेको थियो । यी सबै पुलहरुमा अहिले यातायातका साधनहरु चलिरहेका छन् । यसरी थोरै लगानीमा गाडी गुड्ने पक्की पुल निर्माण गरेको जिल्लामा यो नौलो हो । 

गाउँपालिकाले यसरी स्थानीय स्तरबाट यसरी पक्की पुल धमाधम निर्माण गर्न थालेपछि यसका बारेमा अन्य गाउँपालिकाले समेत यसको अनुभवका लागी गाउँपालिकाका प्राबिधिकहरुसंग यसको दिगोपना, भार क्षमता र अन्य निर्माण उपायका बारेमा समेत सोध्ने गरेको गाउँपालिकाका प्रबिधिक उमेश बोहराले जानकारी दिए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ