arrow

भारतबाट फर्किएकामा संक्रमण, दुई नगर क्षेत्र सिल

logo
प्रकाशित २०७७ असोज १५ बिहिबार
corona-test-kit.jpg

बैतडी । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको भन्दै बैतडीका दुई स्थानीय तहलाई सिल गरिएको छ । जिल्लाको मेलौली नगरपालिका र पुर्चौडी नगरपालिका क्षेत्रलाई सिल गरिएको हो ।  

मेलौली नगरपालिकामा गाडीचालक र भारतबाट फर्किएका एक स्थानीय बासिन्दालाई कोरोना पुष्टि भएसँगै असोज १३ देखि असोज १७ गते राति १२ बजेसम्मका लागि नगरक्षेत्र सिल गरिएको हो । मेलौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टका अनुसार संक्रमण पुष्टि भएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब सङ्कलन गर्ने कार्य हुने भएकाले नगरक्षेत्र सिल गरिएको हो । 

यस्तै जिल्लाको पुर्चौडी नगरपालिका क्षेत्रलाई पनि असोज ११ गतेदेखि अनिश्चितकालका लागि सिल गरिएको छ । भारतबाट फर्किएका एक जनाको कोरोनाका कारण मृत्यु भएको र आठ जना नयाँ संक्रमित थपिएपछि  नगरक्षेत्र सिल गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर चन्दले जानकारी दिए । 

सिल भएको अवधिमा स्वास्थ्य बाहेक र आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण सेवा बन्द रहेको दुवै स्थानीय तहले जनाएका छन् । नगर क्षेत्र सिल गरिएकाले सबै विद्यालय, वित्तीय संस्था, सरकारी कार्यालय बन्द रहेका छन् ।  यस्तै सबै प्रकारका व्यापार, व्यवसाय र यातायात सेवा पनि बन्द रहेको जनाइएको छ । यसका साथै आवतजावतमा पनि पूर्णरूपमा बन्द गरिएकाले एक वडाबाट अर्को वडामा पनि आउन जान पनि रोक लगाइएको छ । 

मेलौलीमा हालसम्म ३६ जनामा संक्रमण पुष्टि भएकोमा दुई जना मात्रै सक्रिय संक्रमित रहेका छन् ।  पुर्चौडीमा हालसम्म २० जनामा कोरोना पुष्टि हुँदा आठ जना सक्रिय संक्रमित रहेका छन् भने एक जनाको मृत्यु भइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ