डा. गाेबिन्द केसीकाे सत्याग्रहमा स्रष्टाहरुकाे ऐक्यबद्वता
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १९ सोमबार
791
Shares
काठमाडौं। प्रा.डा. गोविन्द केसी अहिले १९औं चरणको सत्याग्रहको २२ औं दिन केहि स्रष्टाहरुले उनको मागप्रति ऐक्यबद्धता जनाउँदै जीवनरक्षाको माग गरेका छन् । डा केसीले राखेका मागका सम्बन्धमा सरकारले न कुनै औपचारिक छलफल नगरेकाे तथा कुनै वार्ता नगरेकाेमा स्रष्टाहरुले आपत्ती जनाएका छन्।
संविधानले निर्दिष्ट गरेकाे नागरिककाे स्वास्थ्य, कर्णाली लगायतका दुरदराजमा अस्पताल खाेल्ने, स्वास्थ क्षेत्रलाई माफियाकाे चंगुलबाट मुक्त गर्न र सुशासन कायम गराउने बिषयमा एकजना प्रतिष्ठित डाक्टरले लगातार सत्याग्रह गर्न बाध्य हुनुपर्ने अबस्था सृजना हुनु सरकारमा बस्नेहरुका लागि लज्जास्पद बिषय स्रष्टाहरुले बताएका छन् ।
नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिव तथा कवि तीर्थ श्रेष्ठ, कवि तथा पत्रकार भाेजराज न्याैपाने, कवि श्रीबाबु कार्की उदास, कवि तथा पत्रकार ठाकुर बेल्वासे, कवि तथा पत्रकार मणि लाेहनी र कवि हेमन्त विवशले एक विज्ञप्ती निकाली एक सत्याग्रहीको मागलाई नजरअन्दाज गर्दा हामी कस्ताे लाेकतन्त्रकाे अभ्यास गरिरहेका छाैं भन्ने गम्भीर प्रश्न उब्जिएको बताएका छन् ।
डा. केसीको निष्ठाको यो लडाइँमा लामो मौनता देखाउँदा सरकारको चरित्र उदाङ्गाे मात्रै भएको छैन सरकार उत्रनै नसक्ने गरि माफियाको चंगुलमा छ भन्ने देखाएको उनीहरुले बताएका छन्।
हरेक सरकार केसीका मुद्दामा लाचार देखिएको उल्लेख गर्दै स्रष्टाहरुले नागरिककाप्रति सरकारी दृष्टिकोण यसैबाट प्रष्ट भएकाे बताएका छन् । स्रष्टाहरुले भनेका छन् ,'स्वास्थ्य शिक्षा र सुशासनमा केन्द्रित भएर सुरु भएको डा. केसीको सत्याग्रह अब देशको सुशासन र समग्र बेथितिको अन्त्यको लागि समेत समर्पित छ । सबै अनियमितता र अन्योलको मुल चुरो भ्रष्टाचार र शासकको बेइमानी नै हो । जसका कारण डाक्टर केसी बारम्बार आफ्नो जीवन दाउमा राखेर निस्वार्थ अहिंसात्मक सत्याग्रहको हतियार उठाउन बाध्य भएका छन् ।'
'डा. गोविन्द केसीले नेपालीको स्वास्थ , शिक्षा र सुशासनका लागि पटक पटक सत्याग्रह जस्तो जीवन-मरणको अन्तिम अस्त्र प्रयोग गर्नुपर्ने विडम्बना कहिलेसम्म हो ? स्वार्थै-स्वार्थले आक्रान्त समयमा निस्वार्थ रुपमा एकजना नायक अहिंसात्मक आन्दाेलनमा जुटिरहेका छन् ।' स्रष्टाहरुले भनेका छन्, 'उनकाे यो एकल निष्ठा र इमानको दियोले असल मान्छे र परोपकारी भावना अझै जिवित छ भन्ने आशा जगाउँछ ।'
स्रष्टाहरुले अहिंसा र शान्तिको मार्गबाट आफूलाई कष्ट दिएर भोक प्यास खपेर जनताको माग सम्बोधन गर्न लगाउने डाक्टर केसीको अभियान स्तुत्य र बन्दनीय रहेको जनाउँदै स्रष्टाहरुले डाक्टर केसीका मागहरु पूरा गर्न र उहाँकाे जीवन रक्षा गर्न हामी स्रष्टाहरु सरकारसंग जाेडदार माग गरेका छन्।