मनिला। अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरियाली राष्ट्रपित बसर अल असद सत्ताबाट नहटेसम्म सिरियाको गृहयुद्धको अन्त्य नहुने धारणा राख्नुभएको छ । उहाँले मनिलामा भन्नुभयो– सिरियाली राष्ट्रपतिले छोडेपछि मात्र त्यहाँको गृहयुद्धको अन्त्य सम्भव छ, अन्यथा यसको अन्त्य हुदैन ।
साथै राष्ट्रपति ओबामाले उहाँलाई भविश्यमा निर्वाचनमा भाग लिएर सत्तामा आउन सक्नेतर्फ सोच्न पनि सुझाव दिनुभएको छ । असद सत्तामा रहदासम्म हामीले जसरी सिरियाको गृहयुद्धको अन्त्यका योजनाहरु बनाएतापनि मैले सम्भव देखेको छैन– उहाँको भनाई थियो ।
सिरियाली राष्ट्रपतिको समर्थक एवम् सहयोगीका रुपमा चिनिएका भनिएका रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेको भोलिपल्टै उहाँले सो धारणा राख्नुभएको हो । उहाँहरुबीच बुधबार मात्र मनिलामा नै भेटवार्ता भएको थियो । पुटिनले विगतदेखि नै सिरियाको समर्थन गर्दै आउनुभएको छ ।
सिरियामा गएको साढे चार वर्षभन्दा लामो wasaसमयदेखि हिंसात्मक विद्रोह जारी रहेको छ । सुरुमा राष्ट्रपति बसर अल असदको राजिनामा मागगर्दै सुरु भएको आन्दोलन पछि हिंसात्मक बन्दै गएको हो ।
हाल त्यहाँ गृहयुद्ध जारी छ । अहिले सम्ममा सो युद्धमा परी कम्तीमा पनि साढे दुई लाख नागरिकको ज्यान गइसकेको छ । सो आन्दोलनका कारण लाखौँ लाख नागरिक विदेश र स्वदेशमा शरणार्थी बन्न बाध्य भएका छन् । त्यस्तै लाखौँ नागरिक घाइते समेत भएका छन् । एएफपी