arrow

बोल्ने स्वतन्त्रता समेत नभएको भन्दै स्याङ्जाका २ सय ५० नेकपा कार्यकर्ताले त्यागे पार्टी, कांग्रेसमा प्रवेश

एक महिनाभित्र विभिन्न गाउँका नेकपा कार्यकर्ता कांग्रेसमा प्रवेश

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २० मंगलबार
nc-party-pravesh-shyangja.jpg

स्याङ्जा। संघीय सरकारदेखि प्रदेश सरकार हुँदै स्थानीय सरकारसम्मको नेतृत्व गरेको नेकपाले चरम भ्रष्टाचार गरेको भन्दै यतिबेला स्याङ्जामा नेकपा छाडेर नेपाली कांग्रेसमा प्रवेश गर्नेको लर्को लागेको छ। नेकपा सरकारको निरंकुश रबैया विरुद्ध एक महिनाको अन्तरालमामात्रै करिब दुई सय पचास नेकपा कार्यकर्ताले पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेकपा छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका नव प्रवेशीहरुले नेकपाले आफ्नो रबैया सुधार नगरे अझै साथीहरू नेपाली कांग्रेसमा प्रवेश गर्ने तयार रहेको बताए । नेताले गलत काम गरे भने त्यसलाई गलत समेत भन्न नपाइने पार्टीको आन्तरिक नीतिले लोकतन्त्रलाई समेत गिज्याइ रहेको बताए । उनीहरुले बोल्ने स्वतन्त्रता समेत नभएको पार्टीमा बसेर देशको कुनै परिवर्तन नहुने भन्दै नेपाली कांग्रेसमा प्रवेश गरेको बताए। भाषण राम्रै गरेअनुसार परिवर्तन पनि नेकपाले गर्ला भनेर नेकपाको समर्थन गरिए पनि बुझ्दै जाँदा बोल्ने अधिकार समेत नभएको पार्टीमा आएकोमा पछुतो लागेको उनीहरुले बताए। 

आधिखोला गाउँपालिका १ मा सोमबार ६१ जनाले नेकपा छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेसंगै यस महिना मात्रै स्याङ्जामा नेकपा छाड्नेको संख्या करिब दुई सय पचास पुगेको हो । नेपाल सरकारका पुर्व कर्मचारी संगठनमा कार्यरत विक्रम गुरुङ र शंकर बिकको नेतृत्वमा आँधिखोला गाउँपालिका १ पन्चमुलमा कांग्रेस प्रवेशको लर्को लागेको थियो ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका जिल्ला सभापति बुद्धि बहादुर राना "कुमार" ले नेकपा एमाले र माओवादीले नाम फेरेर नेकपाको नामबाट राज्यको ब्रह्मलुट गरेको आरोप लगाए। उनले नेकपाको ब्रम्हलुट बिरुद्ध सबै आ-आफ्नो स्थानबाट जागरुक हुनुपर्ने बेला आएको बताए । उक्त कार्यक्रममा नेपाल महिला संघ केन्द्रीय उपाध्यक्ष सरस्वती तिवारीले संविधानले ब्यबस्था गरेको महिला अधिकारको सदुपयोग गर्दै राज्यको निर्णयक तहमा महिलाहरुले नेतृत्व लिने समय आएको हुँदा यसको लागि प्रत्येक गाउँबाट महिला जागरुक हुनुपर्नेमा जोड दिइन ।

कार्यक्रममा शिक्षाप्रेमी तथा वरिष्ठ समाजसेवी लिल बहादुर गुरुङ, पर्यटन व्यावसायी उर्मिला गुरुङ, वालिङ् नगरपालिका वडा सदस्य सीता बिक, नेपाली कांग्रेस पन्चमुलका पूर्व सभापति जीवननाथ ढकाल, सोहि ठाउँकै तरुण दलका अध्यक्ष जितेन गुरुङ लगायतले आफ्नो धारणा व्यक्त गरेका थिए भने नव प्रवेशिहरुको तर्फबाट विक्रम गुरुङले आफ्नो धारणा राखेका थिए। 

यस अघि कालीगण्डकी गाउँपालिकामा ४३ जना, आँधिखोला गाउँपालिका ३ मा ३९ जना, पुतलीबजार नगरपालिका ९ मा २४ जना, पुतलीबजार नगरपालिका ४ मा १२ र वालिङ् नगरपालिका १० मा ४८ जनाले नेकपा छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । यी स्थानीय तहहरुमा वालिङ् नगरपालिका बाहेक अन्यत्र नेकपाको नेतृत्वको स्थानीय सरकार छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ