arrow

मकैको मूल्य नपाउँदा किसान चिन्तित 

logo
प्रकाशित २०७७ असोज २० मंगलबार
makai1.jpg

सर्लाही । सर्लाहीका किसानले लगाएको मकैले राम्रो मूल्य नपाउँदा लगानी समेत नउठ्ने भएको छ । गतवर्ष लगाएको मकैले राम्रो मूल्य पाउने आशमा घरमै राखेको मकैमा घुन,पुतली लाग्न थालेपछि किसान झन् चिन्तित भएका हुन् । गतवर्ष तिन हजारदेखि ३२ सयमा प्रतिक्विन्टल बिक्री गरेका किसानले यसवर्ष भने दुई हजारसमेत पाउन सकेका छैनन् । यसरी मकैको उचित मूल्य नपाउँदा मकै रोप्नका लागि गरिएको लगानी समेत गाह्रो परिरहेको किसानहरुको गुनासो छ ।

 गतवर्ष मकैमा फौजी किराको प्रकोप देखापरेर प्रकोपबाट जोगाएर राखेको मकैले समेत राम्रो मूल्य नपाएकाले किसान मर्कामा परेका हुन् । सर्लाहीमा फौजी किराको प्रकोप देखापरेका स्थानहरुमा विगतको तुलनामा आधामात्र उत्पादन भएको कृषि ज्ञान केन्द्र,सर्लाहीका निमित्त प्रमुख देवानन्द यादवले जानकारी दिए । उत्पादनमा विभिन्न कारणले गर्दा ह्रास त छदैँछ फेरी अहिले लकडाउनको कारण देखाउँदै मकैको राम्रो भाउ नपाएपछि किसान मारमा परेका छन् । 

मकै खेतीका लागि आवश्यक पर्ने लगानीका विषयमा गरिएको एक अध्ययनमा उन्नत जातको मकै खेती गर्न प्रति हेक्टर जोताई ट्रयाक्टर भाडावापत ११२५०,उन्नत जातको मकैको बिऊ किन्न २२५००, त्यस्तै रासायनिक मल हाल्न ३५७००, किटनाषक औषधीका लागि १३२००, रोप्न ४८००, भाच्न तथा घरसम्म ढुवानी वापत ३६००० , मकै झार्न थ्रेसर भाडा ३७५० सिचाँई सुविधा भएको ठाँउमा कुलो मर्मत गर्न तिन हजार लाग्ने गरेको साना किसान कृषि सहकारी संस्था बाग्मती नगरपालिका १०, शंकरपुरले गरेको अध्ययनमा देखाएको छ । तर खोला तथा नहरको सिचाँई सुबिधा नभएको ठाउँमा सिचाँई खर्च यत्तिले नपुग्ने गरेको देखिन्छ ।

 यस अध्ययन अनुसार प्रति हेक्टर १,३०,२०० देखिएको भएपनी यसमा किसानले गरेको श्रम जस्तै मकै गोड्ने , दोहोराउने रासायनिक मल हाल्ने तथा किटनाषक औषधी छर्ने कामको मूल्य जोडेको छैन् भने जग्गा भाडा समेत उल्लेख गरिएको छैन् । किसानले खेतमा गएर छ महिना सम्म गर्ने श्रम जोड्दा यसको मूल्य झनै धेरै हुने जानकारहरु बताउँछन् । यसरी उत्पादीत मकैको भाउ नआउँदा किसान धेरै चिन्तित भएका छन् । घरमा धेरै दिन सम्म राखाँै त फेरि धान भित्राउने बेला भैसकेको र ठाउँको अभाबले राख्न नसकिने किसानको भनाई छ । बेचौँ त भाउ नभएको, नबेचौँ त ठाउँ नरहेको सर्लाही बागमतीकी किसान दिल कुमारि मगर बताउँछन् । आफूँले एक बिगाहमा मकै खेती गरेको भएपनी भाउ नआउँदा के गर्ने भन्नेमा रहेको उनको भनाई छ । कती किसानले जुन भाउ आयो त्यही भाउमा बेचिरहेको उनको भनाई छ । यसपाली २ हजार देखि २३ सय सम्ममा मकै बिक्री भईरहेको मगरको भनाई छ ।

 यसरी मकैको भाउ नआउँनुमा लकडाउन पछि धेरै किसानले कुखुरा पालन छाड्नु मुख्य कारण रहेको छ । उन्नत जातको मकैको धेरै हिस्सा कुखुराको दानाले लिने गरेको कृषी ज्ञान केन्द्र सर्लाहीका निमित्त प्रमुख देवानन्द यादवले जानकारी दिए । 

लकडाउको सुरुवाती समय चैत्र महीनादेखि जेठसम्म लकडाउनको कारणले गर्दा धेरै किसानले मकै नबेच्दा समेत कतिपय कुखुरा फार्मले दानाको अभावमा कुखुरा पालन गर्न धेरै गाह्रो परेको सर्लाही ईश्वरपुर नगरपालिका ७ मा ह्याचरी संञ्चालन गर्दै आएका ह्याचरी संञ्चालक तथा कुखुरा पालक किसान दिनेश उप्रेती बताउछन् । उप्रेतीका अनुसार बजारमा आउने सुरुवाती समयमै मकै बजारमा नआउँदा यस्तो समस्या आएको हो । आफूँले समेत कुखुराको जीवन बचाउने तरिकाले चैत्र २० देखी जेठको आधा सम्म अन्डा लिने भन्दा पनि बचाउने पाराले दाना दिएको उनको भनाई छ । 

यस बिचमा दाना दिन नसक्दा ५० हजार चल्ला नष्ट गर्नु परेको उप्रेतीको भनाई छ । त्यसपछि कुखुराको मासुको विषयमा चलेको विभिन्न हल्लाले समेत किसानले चल्ला नहाले पछि दाना बिक्री हुने कुरै भएन् । त्यसैले मकैको भाउ नआएको हुन सक्ने उनको भनाई छ । 

पछिल्लो समय भारतबाट समेत मकै आउने गरेकाले नेपालका किसानले उत्पादन गरेको मकैले भाउ पाउन नसकेको कृषी ज्ञान केन्द्र सर्लाहीका निमित्त प्रमुख देवानन्द यादवले बताउनुभएको छ । भारत बाट आएको मकै ग्रेडिङ गरेर आउने र नेपालमा किसानले उत्पादन गरेको मकै ग्रेडीङ नहुने भएकाले समेत नेपाली मकै व्यपारीको नजरमा नपर्ने गरेको प्रमुख यादवको भनाई छ । 

सर्लाहीका करिब १२ हजार हेक्टरमा मकै खेती हुने गरेको छ । वास्तवमा किसानको हित चाहने र कृषीबाटै समृद्धि चाहने हो भने किसानको लागतको आधारमा कृषी उपजको भाउ दिने तर्फ राज्यको ध्यान जान आवश्यक छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ