arrow

वडा कार्यालयमा गरिएको तालाबन्दी अझै खुलेन

logo
राम धामी,
प्रकाशित २०७७ असोज २० मंगलबार
dalit.PNG

डडेल्धुरा । लक्षित वर्गका लागि बिनियोजित बजेट पहुँचवालाको हातमा गएको भन्दै अमरगढी नगरपालिका वडा नम्बर १ को कार्यालयमा गरिएको तालाबन्दी दोस्रो दिन पनि कायमै रहेको छ । वडा कार्यालयसँग सहमति बन्न नसकेपछि तालाबन्दी कायमै रहेको आन्दोलनरत पक्षले जनाएको छ । 

सोमबार स्थानीय दलित समुदाय ब्यक्तिहरुले एक विज्ञप्ति जारीगर्दै लक्षित समुदायका लागि बिनियोजित बजेट पहुँचवालाले मात्रै पाएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका हुन ।  अमरगढी नगरपालिका–१ मालमस्थित समैजी शार्की टोलका सबै घरधुरीलाई बाख्रापालनका लागि बजेट बिनियोजन गरिने सहमति भए पनि दोस्रो दिन पनि तालाबन्दी यथावत रहेको वडाध्यक्ष लोकबहादुर ऐरले जानकारी दिए । 

बुधबार सो टोलका सबैलाई बोलाएर तालाबन्दी खोलिने वडा नम्बर १ को वडा कार्यालयले जनाएको छ । लक्षित बर्गका लागि बिनियोजित बजेटबाट वडा कार्यालयले बाख्रापालनका लागि समैजी शार्की टोलमा एक लाख रकम विनियोजन गरेको थियो । लक्षित वर्गको रकम पहुँचवालाको हातमा गएको भन्दै लक्षित दलित समुदायका स्थानीय आक्रोशित भएर वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

वडा कार्यालयले विनियोजन गरेको एक लाख रकम गाउँका टाठाबाठाहरुले किर्ते हस्ताक्षरगर्दै ३० हजार रुपैयाँ पेश्की बुझेको आरोप स्थानीय दलित समुदायका सर्वसधारणहरुको छ । बाँकी ७० हजार भुक्तानीका लागि अमरगढी नगरपालिकामा सिफारिस गरिएको र सो रकम समेत भुक्तानी भईसकेको अमरगढी नगरपालिकाले जनाएको छ । सो टोलका ३० घरधुरी दलित परिवारलाई लक्षित गरेर विनियोजित रकममा १२ परिवारले मात्रै अनुदानमा बाख्रा पाएका छन् । 

तालाबन्दीपछि दलित समुदायको वाहुल्यता रहेको सो टोलका लागि दुई लाख ५० हजार रकम विनियोजन गरिएको र सो टोलमा बसोबास गर्ने सबै दलित परिवारलाई बाख्रापालनका लागि बाख्रा उपलब्ध गराउने सहमति भएको वडाध्यक्ष ऐरले बताए । पहुँचविहीन विपन्न १८ परिवारलाई थाहै नदिएर पहुँचवाला १२ परिवारका दलित अगुवाहरुलाई मात्रै बाख्रा वितरण गरिएपछि वडास्तरमा विरोध भएको हो ।

डेढ लाख रकम थपगर्दै अढाई लाख बजेटमा सबै दलित परिवारलाई बाख्रपालन अनुदान दिने सहमति भएको वडा कार्यालयले जनाएको छ । सो कार्यका लागि बुधबार बिहान दुवै पक्षलाई बोलाइएको र वडा कार्यालयमा सहमतिपछि तालाबन्दी खोलिने आन्दोलनरत दलित समुदायका युवाहरु बताउछन । बजेट बढाएर सबै दलित परिवारलाई बाख्रा दिने सहमति भईसकेकाले वडा कार्यालयमा लगाईएको ताला बुधबार बिहान खुलाइने वडा अध्यक्ष ऐरले बताए । सो टोलका थप १८ दलित परिवारहरु पनि बाख्रा पालन गर्न ईच्छुक भएपछि बजेट थप्ने सहमती भएको थियो । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएकाले बजेट आउनमा ढिलाई भएपछि आक्रोशित स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेको वडा कार्यालयले जनाएको छ । अब थप १८ दलित परिवारलाई पनि प्रति घरधुरी एक बाख्रा वितरण गरिने छ । यसअघि एक लाख बजेटमा १२ घरधुरी दलित समुदायका ब्यक्तिहरुलाई प्रति घरधुरी एकका दरले बाख्रा वितरण गरिएको हो । बाख्रापालन अनुदान पाउन दलित समुदायका युवाहरुले झण्ढै एक महिना लामो समयदेखि संघर्ष गर्दै आए पनि केहि सिप नलागेपछि तालाबन्दी गर्नुपरेको आन्दोलनमा सहभागी दलित अगुवा डम्बर शार्कीले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ