काठमाडौं । विभिन्न पार्टीका पदाधिकारीसहित एक हजार बढी नेता कार्यकर्ता नयाँ शक्तिमा आवद्ध भएका छन् । नयाँ शक्ति नेपालको केन्द्रीय कार्यालय बबरमहलमा आइतबार आयोजित एक कार्यक्रममा विभिन्न दलका नेता कार्यकर्ताहरु नयाँ शक्ति नेपालमा समाहित भएका हुन् । नयाँ अभियन्ताहरुलाई नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले पार्टीमा स्वागत गरे ।
विभिन्न पार्टीका प्रमुख नेतृत्वहरुलाई नयाँ शक्तिमा स्वागत गर्दै संसारमा हरेक चिज परिवर्तनशील हुने हुनाले राजनीतिक दलहरु पनि एउटा आवश्यकता पूरा गरेपछि पुरानो हुने बताए । संयोजक भट्टराईले पुरानो पार्टीहरुले राजनीतिको नाममा व्यापार गर्दै जनता लुटेको भन्दै राजनीतिलाई पेशा र व्यापार गर्ने माध्यम बनाउन नहुने बताए । उनले नयाँ शक्तिले टिके प्रणालीको अन्त्य गर्दै पार्टीमा निर्वाचन हुने प्रणाली स्थापित गरिने बताए ।
भट्टराईले नयाँ शक्तिमा सरकार र पार्टीको नेता फरक–फरक बनाउने पद्धति अपनाएर भ्रष्टाचार रोक्ने बताए । नयाँ शक्तिमा आवद्ध हुनेहरुमा नेपाल समावेशी पार्टीका केन्द्रीय उपाध्यक्ष भूमिप्रसाद आचार्य, महामन्त्री केन्द्र नन्दन ढकाल, संघीय सद्भावना बाँकेका जिल्ला अध्यक्ष तथा जिविसका पूर्वउपसभापति हरदेव बक्स चौधरी, संघीय समाजवादी पार्टी परित्याग गरी आउएकी महिला नेतृ रीता गुरुङलगायत ती पार्टीहरुसँग आवद्ध सयौं नेता कार्यकर्ताहरु छन् ।
यसैगरी शान्ति पार्टी नेपालका प्रचार विभाग प्रमुख तथा इञ्चार्ज रामेश्वर ढकाल, पार्टीका प्रदेश नं.१ का ईञ्चार्ज तथा केन्द्रीय प्याब्सनकाका सचिव टंकबहादुर भट्टराई, पार्टीका कोषाध्यक्ष लालबहादुर अर्याल, पार्टीको महिला भातृ संगठन शान्ति महिला समाजकी अध्यक्ष तथा महिला विभाग प्रमुख विष्णुमाया अधिकारी, केन्द्रीय सदस्यहरु शुष्मा घिमिरे, रमेश तामाङ, रादुराम ढकाल (आशिष), शशिकला खड्का, बासुदेव मगर, उमा अधिकारी, विभिन्न जिल्लाका अध्यक्षहरुलगायत सयौं नेता तथा कार्यकर्ता नयाँ शक्तिमा समाहित भएका छन् ।
यसैगरी महालेखा परिक्षण कार्यालयका पूर्व निर्देशक कृष्णप्रसाद न्यौपाने, विभिन्न जिल्लामा जिल्ला शिक्षा अधिकारीको भूमिका निर्वाह गरिसकेका योगराम भट्टराईलगायत पनि नयाँ शक्तिमा समाहित भएका छन् । आइतबार नै रित बहादुर श्रेष्ठ कृष्णको नेतृत्वमा नेपाल परिवार दललगायत विभिन्न संघसंस्था तथा स्वतन्त्र व्यक्तिहरु नयाँ शक्तिमा समाहित भएका छन् । पार्टीका नेतृ नसिमा खामलगायतको समूह पनि आइतबार नै नयाँ शक्तिमा समाहित भएको छ ।
यसैगरी राष्ट्रिय चुरेभावर पार्टीका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद डोटेल, उपाध्यक्ष रामगोविन्द महर्जन, सचिव शान्तुराम भट्टराई, संस्थापक उपाध्यक्ष रामेश्वर थापालगायत विभिन्न स्तरका नेता तथा कार्यकर्ताहरु नयाँ शक्ति नेपालमा समाहित भएका छन् ।
जुम्लाका चर्चित नेता तथा साम्यवादी दलका अध्यक्ष नयाँ शक्तिमा
जुम्लाका चर्चित कम्युनिष्ट नेता रामकृष्ण बुड्थापा नयाँ शक्तिमा समाहित भएका छन् । नयाँ साम्यवादी दल, नेपालका अध्यक्ष रहेका बुड्थापा नेपाल मजदूर किसान पार्टीका उपाध्यक्षसमेत रहिसकेका छन् ।
जुम्ला साविकका बुड्थापा २०३२ सालदेखि राजनीतिमा सक्रिया बुड्थापा २०३६ सालको जनमत संग्रहमा प्रधानपञ्चबाट राजिनामा दिएर बहुदलको पक्षमा वकालत गरेपछि जेल परेका थिए । २०३८ सालदेखि नै नेपाल सद्भावना पार्टीका केन्द्रीय उपाध्यक्ष बनेका उनी आफ्नो पार्टीमा माओवादी आन्दोलनबारे समीक्षाको बहसमा उक्त पार्टी छाडेका थिए ।
बुड्थापालाई नयाँ शक्तिमा स्वागत गर्दै नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले एकजना चर्चित नेता तथा आफ्नो पुरानो मित्रलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताए । उनले नयाँ शक्ति सशक्तरुपमा वैकल्पिक राजनीतिक धारको रुपमा विकास भइरहेको बताए ।
चौतारीका नेता नयाँ शक्तिमा
दैलेखका चौतारी नेता विष्णुकुमार शाही नयाँ शक्तिमा प्रवेश गरेका छन् । आइतबार नयाँ शक्तिको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबाट उहाँ नयाँ शक्तिमा प्रवेश गरेका छन् । नयाँ शक्तिका नेपालका केन्द्रीय संयोजक बाबुराम भट्टराईसँग नयाँ शक्तिमार्फत देशको समृद्धिको अभियानमा क्रियाशील हुने प्रतिवद्धतासहित शाही नयाँ शक्तिमा प्रवेश गरेको छ । डेढ दशकअघिदेखि नेकपा एमालेको संगठित सदस्य रहनुभएका शाही पत्रकार महासंघ दैलेख शाखाका पूर्वसचिव थिए ।