arrow

जापान भयो नेपालमय, ६० हजार नेपालीले दिए जापानीलाई धन्यवाद

नेपाल जापान सम्वन्धको ६०औं बर्षगाठ पनि मनाइयो

logo
प्रकाशित २०७३ जेठ १६ आइतबार
japannepal.jpg.jpeg
जापान। नेपालमा २०७२ साल वैशाखमा आएको विनाशकारी भूकम्पपछि जापान र जापानी नागरिकले नेपाललाई गरेको सहयोग हामी भूल्ने छैनौं, सहयोगको लागि धन्यवाद, नेपालमा यहाँलाई स्वागत छ भन्ने सन्देश सहित मे २९ तारिखमा जापानभरका नेपालीहरुले जापानी नागरिकलाई धन्यवाद दिएका छन्। जापानमा रहेका नेपालीहरुले यो धन्यवाद दिएका हुन। नेपालका विभिन्न समुहायका पहिरन लगाएका नेपालीहरुले जापानमा आयोजित धन्यवाद कार्यक्रम गरिएका स्थानलाई नेपालमय बनाएका थिए। बालबालिकादेखि विभिन्न उमेर समुहका नेपालीहरु कार्यक्रममा सहभागि थिए। 
 
धन्यवाद दिने प्रयोजनका लागि नेपाली राजदूतावास जापानले ३० हजार प्रति धन्यवाद सहितको 'पोष्ट कार्ड' समेत छापेर वितरण गरेको छ। जापानका लागि कार्यवाहक राजदूत गहेन्द्रराज राजभण्डारीका अनुसार नेपाली राजदूतावास जापान, नेपाल पर्यटन बोर्ड र एनआरएन जापानको संयुक्त आयोजनामा कार्यक्रम भएको हो।
 
भुकम्पको देशको रुपमा चिनिएको जापान र जापानीहरुबाट नेपालीहरुले भुकम्पको बेलामा पाएको सहयोग र सद्भावप्रति कृतज्ञता ज्ञापन गर्न धन्यवाद कार्यक्रम आयोजना गर्न नेपाली दुतावासले यसको यसको नेतृत्व लिएको हो। 
 
नेपालमा भुकम्प आएको बर्ष दिनको अवसर पारेर अप्रिल २५ मा कार्यक्रम गर्न खोजिएपनि त्यस समयमा जापानमा आएको भुकम्पका कारण केहि समय पछि यसलाई सारिएको थियो। नेपाल जापान सम्वन्धको ६०औं बर्षगाठको अवसर पारेर अप्रिल २५मा रोकिएको कार्यक्रम मे २९ मा गरिएको कार्यवाहक राजदूत राजभण्डारीले बताए। 'एभरेष्ट डे' अर्थात सगरमाथा दिवस समेत यहि दिन परेकाले दुतावासको तर्फबाट नयाँ मिति प्रस्ताव गरिएको थियो।
 
नेपालको मनास्लु हिमालमा जापानीहरुले ६० बर्ष अघी आरोहण गरेको स्मरण तथा नेपाल जापान दौत्य सम्वन्ध स्थापनाको पनि ६०औं बर्षगाठ पनि पारेर नेपालीहरुका तर्फबाट जापानीहरुलाई धन्यवाद दिन राखिएको यस कार्यक्रमा जापानस्थीत नेपालीहरुले उल्लेख्य सहभागीता जनाएको राजभण्डारीले हाम्राकुरा डटकमलाई बताए।
 
धन्यवाद लेखिएको ३० हजार पोष्टकार्डमा जापानीहरुले ६० बर्ष अघी आरोहण गरेको मनास्लु हिमालको तस्विर पनि राखिएको छ। जापानी र अंग्रेजी भाषामा लेखिएको पोष्टकार्डमा जापानमा रहेका नेपालीहरुका तर्फबाट धन्यवाद दिदै नेपालमै पनि नेपालीहरुले प्रत्यक्ष धन्यवाद दिन चाहेको भन्दै नेपाल भ्रमण गर्न आग्रह पनि गरिएको छ। यो धन्यवाद दिने कार्यक्रमका साथ नेपालको पर्यटन प्रवर्द्धन गर्ने कार्यक्रमको रुपमा पनि लिएको राजभण्डारीले बताए। 
 
जापानीहरुको धेरै आवातजावत हुने जापानको विभिन्न ठाउँमा नेपालीहरुले नेपाली राष्ट्रिय तथा विभिन्न संस्कृति झल्कने पोशाक सहित जापानीहरुलाई सम्वोधन गरिएका व्यानर वोकेर धन्यवाद दिने कार्यक्रममा सहभागिता जनाएको एनआरएन जापानका अध्यक्ष सुदन थापाले जनाए।
 
दुतावासले व्यानरमा राख्नका लागि नेपालीहरुमाझ पठाएको सन्देश ' नेपालीहरुले तपाइहरुलाई नेपालमै धन्यवाद भन्न चाहेका छन्। नेपालमा तपाईहरुलाई धन्यवाद दिन चाहेका छन्।' लाई एनआरएनले नेपालीहरु माझ पुर्‌याएको थियो।  
 
जापानमा लगभग ६० हजार नेपालीहरु रहेका छन्। करिव ४ हजार नेपाली रेष्टुरेण्टहरु रहेका छन्। जापानमा रहेका नेपालीहरुको छवी अझ राम्रो हुने विश्वासका साथ  गरिएको कार्यक्रममा जापानमा रहेका करिव ६० हजार नेपालीहरुले पायकको ठाउँमा सहभागीता जनाएको थापाले जनाए । 
 
कार्यक्रम सुरु हुनुअघि गत बर्ष बैशाख १२ गते नेपालमा गएको विनाशकारी भूकम्पमा परि मृत्यु भएका प्रति श्रद्धाञ्जली सहित एक मिनेट मौन धारण गरेका थिए। आरिगात्तोउ जापान र लेट्स गो टु नेपाल लेखेर धन्यवाद र नेपाल भ्रमणको निम्तो सन्देश लेखिएको पोष्टकार्डमा अगष्ट ६ र ७ तारिखमा टोकियो योयोगि पार्कमा हुने नेपाल फेस्टिवलबारे समेत उल्लेख गरिएको छ। 
 
कहाँ कहाँ भयो कार्यक्रम
कान्तोको शिबुया, सिन्जुकु, इकेबुकुरो, योकोहामामा कार्यक्रम भयो। त्यसैगरि गुम्वा क्षेत्र, तोउचिगि, क्यूस्यु, ओकिनावा, हिरोसिमा, खान्साई, नागोया-होकुरिकु, नागानो, निगाता, सिजोओखा, होक्काइदोमा कार्यक्रम  भएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ