arrow

चार सय भन्दा बढी अपराधी फरार, बाह्र सालका फैसलाका अपराधी पनि सूचीमा 

logo
प्रकाशित २०७७ असोज २६ सोमबार
arrest-final.jpeg

बागलुङ । प्रहरीले अदालतको फरार सूचीमा रहेका प्रतिवादीको खोजी तीव्र पारेको छ । पछिल्लो तीन सातामा ९८ फरार प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विभिन्न मुद्दामा दोषी ठहर भई अदालतबाट सजाय तोकिएका चार सयभन्दा बढी अझै फरारको सूचीमा छन् ।

 “विसं २०१२ सालमा फैसला भएका मुद्दा पनि छन्, कतिको त निधन पनि भइसकेको छ”, जिप्रकाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी राजेन्द्रप्रसाद रेग्मीले भने । उनले फरार प्रतिवादीको खोजीलाई निरन्तरता दिइने उल्लेख गरे । पहिले धरौटीमा छुटेपनि अदालतले अन्तिम फैसला गरेपछि प्रतिवादीहरु सम्पर्कमा नआइ लुकीछिपी बस्ने गरेको प्रहरीको भनाइ छ ।

“जतिसुकै सानो भएपनि तोकिएको सजाय भोग्नैपर्छ, फरार प्रतिवादी आफै अदालतमा हाजिर भए प्रहरीले पक्रनै पर्दैन”, प्रनाउ रेग्मीले भने । न्यूनतम जरिवानादेखि कैद सजायसम्म पाएकाहरु पक्राउ पर्ने गरेका छन् । गत साता सरकारी छाप र कागजात दुरुपयोगको मुद्दामा ८३ वर्षीय फक्राउ परेका थिए ।

पक्राउ पर्नेमा अधिकांश सार्वजनिक मुद्दाका दोषी छन् । बाँकी लागूऔषध, सवारी ज्यान मुद्दा, कुटपिट, चोरीलगायतका घटनामा संलग्न रहेकाहरु छन् । प्रहरीले पक्राउ परेका फरार प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि तत्कालै जिल्ला अदालतमा उपस्थित गराउने गरेको छ । 

कैद सजाय तोकिएकालाई अदालतको आदेशले कारागार पठाउने गरिएको प्रहरीले जनाएको छ । अन्य प्रतिवादी भने कानूनी प्रकृया अनुसार तोकिएको सजाय भुक्तान गरी अदालतबाट छुट्ने गरेको प्रनाउ रेग्मीले बताए ।

अदालतले कैद–जरिवाना तोकेपनि सजाय भुक्तान नगरी घरमै लुकीछिपी बसेका बेला प्रतिवादीलाई पक्राउ गर्ने गरिएको उनको भनाइ छ । प्रहरीले फरार प्रतिवादीको खोजीसँगै चाडबाडलक्षित सुरक्षा प्रबन्धका लागि सक्रियता बढाएको छ ।

चाडबाडका बेला हुने चोरीलगायत गैरकानूनी गतिविधि रोक्न र समाजमा शान्ति कायम राख्न प्रहरीले थप सुरक्षा सतर्कता अपनाएको प्रनाउ रेग्मीले बताए । 

प्रहरीले केही दिनअघि अवैध घरेलु मदिरा र गाँजासमेत नष्ट गरेको थियो । बजारमा चेकजाँच र गस्तीसमेत बढाइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ